Logo

टेलिकमका ग्राहकले २ महिना भित्र फोरजी चलाउन पाउनेछन्

टेलिकमका ग्राहकले २ महिना भित्र फोरजी चलाउन पाउनेछन्


रामराजा श्रेष्ठ
0
Shares

यदि नियामकले हाम्रो व्यवसायीक योजना स्वीकृत गर्यो भने त्यसको २ महिनाभित्र सेवा संचालनमा ल्याउने छौं ।

ग्राहकको सन्तुष्टीलाई केन्द्रमा राखेर अघि बढेको नेपाल टेलिकमले आगामी दिनमा अझ नयाँ प्रविधि भित्र्याउनका लागि अध्ययन शुरु गरेको छ । आफ्ना ग्राहकले आगामी दिनमा समस्या भोग्न नपरोस भनेर टेलिकमले मेन्टिनेन्सको लागि २४ सै घण्टा कर्मचारी खटाएको छ । डाटा सेवामा केन्द्रित रहेको नेपाल टेलिकम यो वर्षभित्र देशका सवै स्थानमा थ्रीजी सेवा पुर्याउनले लक्ष्य सहित काम शुरु गरेको छ भने रणनीतिक साझेदार भित्र्याउने विषयलाई पनि सोही अनुरुप अघि बढाएको छ । टेलिकम भित्रको समस्या तथा आगामी रणनीतिक योजनामा विषयमा केन्द्रित रहेर नेपाल टेलिकमका प्रवन्ध दिर्नेशक कामिनी राजभण्डारीसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार:

टेलिकममा प्रवन्ध निर्देशक भएर आएसँगै यसलाई द्रुत गतिमा अघि बढाउन के–कस्ता रणनीतिक योजना बनाउनु भएको छ ?

नेपाल टेलिकम यो क्षेत्रको अग्रणी स्थानमा छ । अहिले पनि कुल सेवाको ५३ प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल छ । तसर्थ हाम्रो मुख्य उद्देश्य ग्राहकलाई सन्तुष्टि दिनु हो । जसको लागि नेटवर्कको गुणस्तर विस्तारका साथै ग्राहकलाई ‘सिङ्गल विण्डो’ प्रणालीबाट सेवा प्रदानका लागि कार्यरत छौं । अहिले वाइम्याक्स र सीडीएमएको वान विण्डो सिस्टम लागू भइसहेको छ भने केही समयभित्रै जिएसएम सेवालाई पनि ल्याउने छौं । गुणस्तरलाई चुस्त दुरुस्त बनाउन बजार अध्ययन गर्ने क्रममा छौं । ग्राहकबाट आएको पृष्ठपोषणका आधारमा समस्याका पहिचान गरी समाधान गरिनेछ । जसले गर्दा दिर्घकालमा ग्राहकले त्यस्ता समस्याहरु भोग्न नपरोस । टेलिकम फोरजीमा गएपछि यसको मुख्य क्षेत्र भनेको डाटा सेवा नै हुनेछ । त्यसका लागि ट्रान्समिसन नेटवर्क बनाउन लागिपरेका छौं । अहिले टेलिकमले कपर नेटवर्कबाट एडीएसएल सेवा दिँदै आएकोमा आगामी दिनमा परिवर्तन गरी नयाँ प्रविधि राखिने छ । आगामी ३ वर्षभित्रमा पुराना प्रविधिमा परिवर्तन गरी पूर्णरुपमा नयाँमा प्रवेश गर्नेछौं ।

संघीय समितिदेखि मन्त्रीसम्मले टेलिकमको गुणस्तर सुधारका लागि पटक–पटक निर्देशन दिँदै आएका छन् । तर गुणस्तर सुध्रिदैन किन ?

जसको लागि काम अघि बढिसकेको छ । विलिङ सिस्टममा देखिएको समस्या, तथा समय सयममा नेटवर्कमा देखिने समस्या समाधानका लागि फुलटाइम कर्मचारी खटाएका छौं । अवमा दिनमा कुनै पनि सिस्टम डाउन हुँदैन । हाल पुराना प्रविधिका कारणले गर्दा समस्या उत्पन्न भएको हो । अव समस्या भएमा तत्काल पुराना सामाग्री हटाएर नयाँ प्रविधिको राखिने छ । जुन समस्या आगामी दिनमा दोहोरिने छैन ।

यसैगरी ग्राहकका कारणले गर्दा पनि केही समस्या आएको छ । एडीएसएल सेवालाई सही रुपमा संचालन गर्न नजान्दा समस्या उत्पन्न भएको देखिन्छ । राउटरको गुणस्तर र त्यसलाई जडान गर्न नजान्दा पनि समस्या उत्पन्न भएको हो । जसको लागि ग्राहक अभिमुखीकरण कार्यक्रम समेत संचालन गरिएको छ ।

अहिले पनि टेलिकम डाटा र भ्याइस दुवैमा अगाडी छ । अवको लक्ष्य के हो । कहाँ पुर्याउने सोच छ ?

टेलिकमले डाटा सर्भिसलाई लक्षित गर्ने छ । आगामी दिनमा देशका सम्पूर्ण क्षेत्रमा थ्रीजी सेवा पुर्याइने छ भने मुख्य–मुख्य स्थानमा फोरजी सेवा शुरु गरिने छ । यसैगरी अहिले पनि २५ प्रतिसतभन्दा बढी पुराना प्रविधिका लेगेसी स्वीच छन् । त्यसबाट डाटा सेवा दिँदा समस्या आएको छ । यसलाई क्रमश परिवर्तन गर्दै नयाँ प्रविधि भित्र्याउने छौं । जसले गर्दा ग्राहकलाई सन्तुष्टि दिनुका साथै कम्पनीेको विकासका लागि पनि ठूलो सहयोग पुग्ने छ ।

नियामकले फोरजी संचालको लागि स्वीकृति प्रदान गरिसकेको छ । कहिले सम्ममा कार्यान्वयनम आउने छ ?

भर्खरै मात्र संचालनका लागि लाइसेन्स पाएका छौं । टेलिकमले फोरजी कार्यान्वयनम ल्याउने भन्ने विषयमा पूर्व तयारी गरिसकेको छ भने केही समयभित्रै व्यवसायीक योजना पेश गर्नेछौं । अवको हाम्रो काम भनेको मेशिनरी खरिद हो । नियमकले व्यवसायीक योजना स्वीकृति गरेको २ महिना भित्रमा मेशिनरी उपकरण खरिद गरेर फोरजी कार्यान्वयनमा ल्याउने छौं । तर, टेलिकमको सार्वजनिक खरिद ऐनले गर्दा मेशिन खरिदमा केही समय लाग्न सक्छ ।

हामी एकदमै उत्साहका साथ फोरजीका कुरा गरिरहेका छौं । तर, थ्रीजी नै राम्रोसँग संचालन गर्न नसकेको अवस्थामा फोरजीमा जाँदा ग्राहकलाई सन्तुष्टी दिन सकिन्छ ?

हामी थ्रीजीमा पनि सक्षम छौं । गाउँगाउँमा समेत आफ्नो सेवा विस्तार गरिरहेका छौं । यो आर्थिक वर्षमा देशभरी नै थ्रीजीको नेटवर्क विस्तार गर्ने योजना बनाएका छौं । हाल थ्रीजी कार्यान्वयमा ल्याएको स्थानमा पनि के कारणले समस्या भएको हो त्यसको विस्तृत अध्ययन शुरु भइसकेको छ । यसको प्रतिवेदन आउने वित्तिकै सुधारका काम थालिनेछ भने आगामी दिनमा ग्राहकले त्यस्तो समस्या भोग्नु पर्दैन । अवमा दिनमा ग्राहकले थाहापाउनुभन्दा पहिला टेलिकमले त्यसको समाधान गर्नेछ ।

चाडपर्वलाई लक्षित गरी विभिन्न किसिमका छुट योजना ल्याउदा कम्पनीको सेवा विस्तारमा कस्तो सहयोग पुर्याएको छ । यस्ता योजनाले आर्थिक रुपमा कम्पनीलाई नाफा वा घाटा के हुन्छ ?

यो सरकारी स्तरबाट जनतालाई सेवा दिन स्थापित कम्पनी हो । यसको मुख्य उद्देश्य नाफा भन्दा पनि ग्राहकलाई अधिकतम सन्तुष्टी दिनु हो । जनताको सेवाको लागि फाइदा नहुने स्थानमा पनि टेलिकमले सेवा दिइरहेको छ । विशेष खालका छुट योजन ल्याउँदा तत्कालका लागि फाइदा नभएपनि दिर्घकालिन रुपमा सेवा विस्तारमा यसले ठूलो सहयोग पुर्याउने छ । साथै, चाडपर्वको समयमा छुट योजना ल्याउदा ठूलो परिमाणमा प्रयोग हुने भएकाले फाइदा पुग्नेछ भने बजारिकरणमा पनि सहयोग पुग्ने छ ।

लामो समयदेखि टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा वहश हुँदै आएको छ तर हुन सकेको छैन । तपाइ यसको प्रमुख भएर आइरहदा कसरी अघि बढाउने योजनामा बनाउनु भएको छ ?

यो हाम्रो कार्यक्रम भित्र छ । जसको लागि मैले अध्ययन शुरु गरिसकेको छ । यो पहिलो देखि नै निकै चर्चामा छ । सो विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले केही समय लाग्ने छ ।

टेलिकमको डाटा सेन्टर संचालनको तयारी के हुँदैछ ?

यो वर्षको मुख्य योजनामा डाटा सेन्टर पनि रहेको छ । यसको डकुमेन्ट तयार भैरहेको छ । आगामी एक हप्ता भित्रमा आन्तरिक रुपमा छलफल गरी कार्यान्वयनको चरणमा जानेछौं ।

kamini-rajbhandari-ntc

टेलिकमका कर्मचारीले प्रतिस्पर्धी कम्पनीसँग मिलेर आफ्नो संस्था डुवाउने खेलामा लागेका छन् भन्ने आरोप पनि छ नि ?

यसमा कुनै सत्यता छैन । यदि कर्मचारी डेडिकेटेड भएर नलागेको नभएको भए कम्पनी यो अवस्थामा आईपुग्ने थिएन । सवै कर्मचारीको लगन र मिहेनेतकै कारण कारण कम्पनीले राम्रो प्रतिफल हात पारिरहेको छ । कर्मचारी भित्र केही समस्या छन् भने पनि त्यसलाई सुधार थालिसकेको छु ।

म प्रमुख भएर आएपछि कर्मचारीको मनोवल बढाउन ‘राइट पर्सन राइट प्लेस’को अवधारणालाई अघि बढाएको छु । यदि कुनै संस्थामा कर्मचारी खुशी छ भने त्यसले आफ्नो संस्थाको हित विपरित कुनै काम गर्न सक्दैन । अहिले टेलिकममा ४३ सयभन्दा बढी कर्मचारी रहेका छन् । उनीहरुको आवश्यकता अनुसार तालिम संचालनको तयारी गरिएको छ । कर्मचारी भित्र देखिएको समस्या समाधानको लागि अध्ययन समेत भइरहेको छ । जसले गर्दा कर्मचारीलाई एकिकृत गराएर कम्पनीको गुणस्तर सुधारमा लगाउन सकिनेछ ।

टेलिकमकै दाजोमा प्रतिस्पर्धी कम्पनीहरु आईरहेका छन् । आगामी दिनमा टेलिकमलाई पहिलो स्थानमै राख्नका लागि के–कस्ता चुनौती देख्नुभएको छ ?

यो सरकारी स्तरबाट संचालित भएपनि व्यवसायीक कम्पनी हो । जसको लागि सोही अनुरुपमा नीति नियम हुनु जरुरत छ । सेवा अवरुद्ध भएको अवस्थामा सार्वजनिक खरिद ऐनका कारण संस्थाले कुनै पनि मेशिन औजार तत्काल खरिद गरेर परिवर्तन गर्न सक्दैन । नियम संगत जादा लामो समय लाग्छ । तसर्थ संस्थाको सेवालाई चुस्तदुरुस्त राख्न सोही अनुरुपको खरिद ऐन लागू हुनुपर्छ ।

यसैगरी कर्मचारीहरु यसको मुख्य अंग हुन । कर्मचारीलाई अझ दक्ष र खुशी बनाउनका लागि कार्यायोजना ल्याउन लागेका छौं । जसले गर्दा कम्पनीको पर्फमेन्स बढ्नुका साथै नयाँ नयाँ योजना कार्यान्वयनमा ल्याउन सहयोग पुग्ने छ ।

टेलिकममा पहिलो महिला प्रमुख भएर आउनु भएको छ । आगामी दिनमा महिलाहरु पनि दक्ष छन् भनेर देखाउनका लागि कत्तिको चुनौती देख्नुभएको छ ?

वास्तविकतामा म महिला भएको कारण यो पदमा आइपुगेको होइन । १२ जना प्रतिस्पर्धीलाई उछिन्दै यो पद सम्हाल्न आईपुगेको छु । मेरो अनुभव, दक्षता र क्षमताले गर्दा यहासम्म आईपुग्न सफल भएको छु । यतिवेला संस्थालाई उच्च स्थानमा पुर्याउन दक्ष नेतृत्वको खाचो थियो । सक्षम नेतृत्व छनौन गर्ने क्रममा यो पद सम्हाल्न सफल भए ।

अर्को कुरा कुनै पनि संस्था महिलाले सम्हाल्दा त्यसको व्यवस्थापन चुस्त दुरुस्त हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने घर व्यवस्थापनि देखि अन्य सवै क्षेत्रमा महिलाको ठूलो भूमिका रहन्छ । आफ्नो घरको सुन्दर व्यवस्थापन गर्नसक्ने महिलाले संस्थालाई अझ त्यो भन्दा बढी व्यवस्थित रुपले संचालन गर्ने छ म त्यो प्रमाणित गरेर देखाउने छु ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL