Logo

राजमार्गको अतिक्रमण हटाउन पत्रचार, नमाने प्रशासन लगाएर हटाउने

राजमार्गको अतिक्रमण हटाउन पत्रचार, नमाने प्रशासन लगाएर हटाउने



काठमाडौं । झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ ।

laxmi

पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा ६ वटा नगरपालिका क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ । सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै नगरपालिका तथा गाउँपालिकालाई समेत पत्राचार गरिएको कार्यालयले जानकारी दिउको छ ।

एशियाली राजमार्गसमेत निकट भविष्यमा निर्माण हुने र अहिले अतिक्रमणका कारण सवारी दुर्घटनामा वृद्धि भएका कारण अतिक्रमण हटाउन निर्णायक पहल गरिएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले बताए । सार्वजनिक सडक ऐन २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा पनि हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने प्रमुख यादवले बताए ।

सबै सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भए पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको सडक कार्यालयका प्रमुख यादवको आरोप छ । उनले राजमार्ग ५० मिटरको हुने र छेउका नम्बरी जग्गाधनीले समेत क्रङ्क्रिटको संरचना बनाउँदा सडकको सीमाबाट ६ मिटर टाढा मात्र बनाउनुपर्ने नियम रहेको बताएका छन ।

झापामा दमक नगरपालिकामा सबैभन्दा बढी सडक अतिक्रमण गरेर बनाइएका टहरा तथा खुद्रे पसल रहेका छन् । कनकाईको सुरुङ्गा बजार, विर्तामोडको बजार क्षेत्र र मेचीनगरको चारआली क्षेत्रमा अतिक्रमित संरचना छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सडक कार्यालयबाट अनुरोध आएमा सुरक्षाकर्मी लगाएर अतिक्रमण हटाउन प्रशासन तयार रहेको बताएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL