४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु, सेना र आयोजनाबीच सहमति

जाजरकोट । नलगाड जलविद्युत् आयोजनाको काम सुरु भएको छ । विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाबीच सहमति (एमओयु) भएपछि तीन महीनादेखि रोकिएको ४१० मेगावाट जलविद्युत आयोजनाको काम सुरु भएको हो ।

सहमति भएसँगै आयोजनाको बाधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनका काम सुरु भएको छ । तर, विज्ञका अनुसार आयोजनाबाट ६०० मेघावाट विद्युत् उत्पादन गर्न सकिने दाबी छ ।
सेनाले सहमति बिना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग गरेको थिएन । सेनाको अडानपछि करीब तीन महीना आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो । आयोजना र सेनाबीच सहमतिपछि नलगाड नगरपालिका–७ स्थित दल्ली र चिमिरे ओडार नजिक सडकका काम सुरु भएको छ । त्यस्तै विद्युत् उत्पादन गृहको भूमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट)मा विस्फोट गराउने काम पनि सुरु भएको छ ।

United Cement

सम्झौतामा विस्फोटनमा खटिएका सेनाको बीमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवा सुविधा आयोजनाले उपलब्ध गराउने सहमति भएको छ । सेनासँग सम्झौता नहुँदा सडक निर्माणका लागि चट्टानमा खोपिएका दुई हजार ७०० ‘होल’ विस्फोट हुन नसकेर काम रोकिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए  ।

सम्झौतापछि अहिले तीव्ररुपमा काम अगाडि बढेको छ । ड्रिफ्ट टनेल टेस्ट कार्यमा विस्फोटन नहुँदा डिपिआर अलपत्र परेको आयोजनाका इञ्जिनीयर थापाले बताए । नलगाड जलविद्युत् आयोजनाको डिपिआर, पहुँचमार्ग, मुआब्जा वितरण, कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्यमा ढिलाइ भएको थापाले जानकारी दिए । कम्पनीको डिपिआरमा ढिलाइ हुँदा आयोजना नै अलपत्र पर्ने हो कि भन्ने शङ्का बढेको थियो ।

३० महीनामा सम्पन्न गर्ने सर्तसहित अष्ट्रेलियाका स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए । कम्पनीले ड्रिलिङ कार्य ८० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको उनले जानकारी दिए ।

परामर्शदाता कम्पनीले विद्युत् उत्पादन गृहमा ३४५ मिटर भूमिगत सुरुङ नमूना परीक्षणको काम गर्नुपर्नेमा अहिलेसम्म १५५ मिटर मात्र सुरुङ निर्माण भएको छ । बारेकोट गाउँपालिकाको अधेरीखोलामा रहेको बाँधस्थलमा २४० मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा उक्त कार्य पनि सुरु हुन सकेको छैन ।

जाजरकोट, रुकुम र डोल्पामा निर्माण हुन लागेका विद्युत् आयोजनाको विद्युत् सव स्टेशनका लागि सरोकारवाला निकायले नलगाड नगरपालिका–७ दानीपिपलमा जग्गा अधिकरणको काम सुरु गर्ने बताएको छ । रासस


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status