Logo

जलविद्युत कम्पनीमार्फत निर्माण गरिँदै तामाकोसी–३, लगानी जुटाउन छलफल शुरु

जलविद्युत कम्पनीमार्फत निर्माण गरिँदै तामाकोसी–३, लगानी जुटाउन छलफल शुरु


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारले तामाकोसी ३ जलविद्युत आयोजना निर्माणका लागि तयारी थालेको छ । ६ सय ५० मेगावाटको सो आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया अघि बढाइएको उर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए । ‘आयोजना निर्माणको सम्बन्धमा ३ चरणको छलफल सकियो,’ उनले भने, ‘अव छिटै नै अन्य प्रक्रिया अघि बढाउने छौं ।’

उनका अनुसार सो आयोजना जनताको समेत सहभागितामा निर्माण गर्न लागिएको हो । आयोजना जलविद्युत लगानी तथा विकास कम्पनीमार्फत निर्माण गरिने विषयमा छलफल भइरहेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

सो आयोजनामा चीन सरकारको स्वामित्वमा रहेको चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीएमईसी)ले पनि लगानी गर्न चासो देखाएको छ । केही समय अघि सो कम्पनीले तामाकोसी–३ आयोजनामा लगानी गर्ने भन्दै नेपाल सरकार समक्ष प्रस्ताव गरेको थियो । तर, सरकारले नेपालको पानी जनताको लगानी अवधारणा अनुरुप अघि बढाउने तयारी गरेको छ ।

जलविद्युत विकास कम्पनीले भने सरकारी, निजी, नेपाल विद्युत प्राधिकरण र सहायक कम्पनीमार्फत २ बर्ष ८ सय ५० मेवा विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम अघि बढाएको छ । सोही अनुरुप तामाकोशी–३ मा लगानी गर्न लागेको जानकारी दिएको छ । कम्पनीले बनाउने परियोजनामा सर्वसाधारणले ३० प्रतिशतसम्म लगानी गर्न पाउने छ ।

यसअघि नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै तामाकोसी–३ जलविद्युत् आयोजना छाडेको थियो । त्यसपछि तामाकोसी तेस्रो अलपत्र परेको भन्दै स्थनीयले गुनासो गर्दै आएका छन् । बजार नभएको भन्दै नर्वेजिएन कम्पनीले बिचैमा आयोजना छाडेपछि सरकारले सो आयोजना कसलाई र कुन ढाँचामा अगाडि बढाउने बारे छलफल गरिरहेको छ ।

नियम अनुसार कुल ५ सय मेगावाट क्षमताका आयोजना लगानी बोर्डमार्फत जानुपर्ने प्रावधान रहेका कारण कम्पनीले बोर्डमा प्रस्ताव गरेको थियो । लगानी बोर्डले चिनियाँ कम्पनीले सामान्य प्रस्ताव मात्रै राखेको र अन्य थप विषयमा कुनै प्रक्रिया अघि नबढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । ‘तामाकोसी–३ आयोजनाको ढाँचाबारे छलफल हुँदैछ,’ ’उनले भने, ‘कुन ढाँचामा कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।’

त्यसैगरी सरकारले तामाकोसीसँगै सुनकोसी–३ जलविद्युत आयोजनाको निर्माण पनि अघि बढाउने तयारी थालेको छ । सुनकोसी–३ आयोजना निर्माणका लागि विभिन्न चरणको छलफल सकिएको मन्त्री शर्माले जानकारी दिए । उनका अनुसार सुनकोसी–३ पनि जनताको लगानीमा निर्माण गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL