Logo

चिनी उद्योगबाट विद्युत निकाल्न व्यवसायी अनिच्छुक, १५ दिन म्याद थपिँदै

चिनी उद्योगबाट विद्युत निकाल्न व्यवसायी अनिच्छुक, १५ दिन म्याद थपिँदै


रक्षा रेग्मी
27
Shares

काठमाडौं । ऊखुको खोस्टाबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सरकारले माग गरेको आशय पत्रमा व्यवसायीहरुले चासो नदेखाएको पाइएको छ । सरकारले चिनी उद्योगबाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारणमा जोड्न चाहने कम्पनीसँग आशयपत्र माग गरेको थियो । तर, हालसम्म ३ वटा कम्पनीले मात्र आशयपत्र पेश गरेको विद्युत विभागले जानकारी दिएको छ ।

विभागका अनुसार एभरेष्ट सुगर केमिकल मिल, अन्नपुर्ण मिल र बासुलिंगा सुगर मिलले आशयपत्र पेस गरेका हुन् । आशयपत्र बुझाउने म्याद सकिन लाग्दा पनि अन्य उद्योगले निवेदन पेस नगरेको म्याद थप गर्न लागिएको विद्युत विकास विभागका उपमहानिर्देक नविनराज सिंहले जानकारी दिए । ‘बैशाखको अन्तिमसम्मको म्याद दिएर आशय पत्र माग गरेका थियौं,’ उनले भने, ‘अन्य उद्योगले आशय पत्र पेस नगरेकोले समय थप गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार कम्तीमा पनि १५ दिनको म्याद थप्नेबारे छलफल भइरहेको छ ।

म्याद थप पश्चात आवेदन दिएका उद्योगीहरुले पठाएको आशयपत्रको मूल्यांकन गरिने छ । त्यस लगत्तै स्थलगत अध्ययन गरी सम्वन्धित चिनी उद्योगसँग विद्युत खरिद गरिने छ ।

यता व्यवसायी भने आफै प्रसारण लाइन तथा राष्ट्रिय ग्रिडमा जोड्न नसक्ने भएकोले इच्छा नदेखाएको  बताउँछन् ।
सरकारले चिनी उद्योगबाट उत्पादिन विजुली खेर गएको भन्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रक्रिया शुरु गरेको हो । चिनी उद्योगबाट बार्षिक १३ मेगावाट विद्युत खेर जाने गरेको छ । उखु क्रसिङका क्रममा सहउत्पादनका रूपमा विभिन्न चिनी मिलले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदा खेर गएको हो ।
उर्जा मन्त्रालयको चिनी उद्योगबाट ६० मेगावाट विजुली निकाल्ने लक्ष्य लिएको मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले बताए ।

मन्त्रिपरिषदले गत बर्षको जेठमा चिनी उद्योगबाट उत्पादन हुने विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने प्रस्तावलाई स्वीकृति दिएको थियो । तर, प्रसारण लाइन, सबस्टेसनलगायत आवश्यक पूर्वाधार तथा प्रणालीको विकास नहुँदा हालसम्म चिनी मिलबाट उत्पादिते विजुली खेर गइरहेको छ ।

चिनी उद्योगले उखु पेलिसकेपछि निस्किने खोस्टाबाट विद्युत् उत्पादन गर्दै आएका छन् । अघिल्लो सरकारले उखु पेल्ने सिजन (गत मंसिर)बाटै चिनी उद्योगबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्ययोजना बनाएको थियो । चिनी मिलको उखु पेल्ने सिजन मंसिरदेखि चैत अन्त्यसम्म हो ।

विद्युत् प्राधिकरणरको अध्ययन अनुसार हालको अवस्थामा चिनी उद्योगले १० देखि १३ मेगावाट विद्युत् उत्पादन गर्न सक्छन् । उद्योगले थप लगानी र मेसिन, उपकरणमा सामान्य संरचनागत सुधार गरेको अवस्थामा २ बर्षभित्र ३० देखि ४० मेगावाट विद्युत् (वार्षिक झन्डै १२ करोड युनिट) उत्पादन गर्न सक्ने बताइएको छ ।

त्यस्तै थप पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने २ देखि ४ बर्षभित्र करिव ८५ मेगावाट (वार्षिक २६ करोड युनिट) विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्ने अध्ययनले देखाएको थियो ।

हाल सञ्चालनमा रहेका १० भन्दा बढी चिनी उद्योगले वार्षिक झन्डै ३० लाख टन उखु पेल्ने गरेका छन् । उखु पेल्ने सिजनमा बढी लोडसेडिङ हुने हुँदा विद्युत उत्पादन गर्न सके राहत मिल्ने बताइएको छ । त्यस्तै अधिकांश उद्योग विद्युत तथा सडक पहँुच भएको ठाउँमा रहेकाले उनीहरूले उत्पादन गरेको विद्युत् प्रसारण लाइनमा सहजै जोड्न सकिने छ ।

विद्युतको मूल्य भने हाल विद्युत् आयोजनालाई दिँदै आएको सूचीकृत दर (पोस्टेड रेट)अनुसार तोकिने बताइएको छ । हाल प्राधिकरणले हिउँद याममा जलविद्युत् आयोजनाबाट प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL