Logo

लुम्बिनीको माटोबाट बुद्धको मुर्ती निर्यात गरेर पर्यटन प्रवद्र्धन, कृषिको आधुनिकीकरण विना आर्थिक विकास असम्भव

लुम्बिनीको माटोबाट बुद्धको मुर्ती निर्यात गरेर पर्यटन प्रवद्र्धन, कृषिको आधुनिकीकरण विना आर्थिक विकास असम्भव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनीको माटोलाई प्रचार गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक ब्यापारिक महोत्सबलाई विशिष्ट अथितिको रुपमा सम्बोधन गर्दै उनले लुम्बिनीको माटोबाट बुद्धको मुर्ती र बौद्ध धर्म सम्बन्धी सामग्री उत्पादन तथा निर्यात गरेर पनि पर्यटन र ब्यापारलाई प्रबद्र्धन गर्न सकिने बताएका हुन्

हाल देशको ६६ प्रतिशत राजस्व कृषि क्षेत्रले ओगटेको जानकारी दिँदै कृषिलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्नुपर्ने उनको भनाई थियो । ‘पौराणिक तवरको कृषिलाई आधुनिक बैज्ञानिक कृषि प्रणालीले प्रतिस्थापन गर्न सक्दा मात्र देशले कृषि क्षेत्रमा फड्को मार्नेछ,’ उनले भने, ‘त्यसको लागि यस क्षेत्रमा कृषि क्याम्पस खोल्नुका साथै त्यसबाट सैद्दान्तिक र व्यवहारिक ज्ञानलाई बढी प्राथमिकता दिनुपर्छ ।’

लुम्बिनीको पर्यटन बिकासको लागि बुद्धिष्ट सर्किटले योगदान गर्ने र त्यसको लागि यसलाई सकेसम्म छिटो कार्यान्वयन गर्न सरकारले तीब्र रुपमा पहल गर्नुपर्ने उनको भनाई थियो ।

अबका दिनमा सरकार तथा उद्योगी व्यवसायीले स्थानीय उद्योगमा कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै औद्योगिक क्षेत्रमा उठाइने स्थानीय करलाई व्यवसायी मैत्री बनाउनुपर्ने बताए । उत्पादन भएका कृषिजन्य बस्तुहरुको उद्योग स्थापना गर्ने र रोजगारीको सिर्जना गर्ने बाटोमा अघि बढ्न सके देशमा कृषि क्रान्ति हुने उनको भनाई थियो ।

साथै नेपाल आउने पर्यटकले नेपालमा खरिद गरिएका पर्यटकीय सामग्रीहरु विदेश लैजाने भएको हुनाले निकासी सरह मानेर बिमानस्थलमा सोमा लागेको कर महसुल निकासी सरह फिर्ता गर्नु पर्ने समेत उनले बताए ।

यसैगरी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाले आधुनिक कृषि प्रणाली सरकारको प्राथमिकतामा रहेको बताउँदै सोही अनुरुप युवाहरुलाई कृषि क्षेत्रमा लाग्न आग्रह गरेका थिए । साथै सरकारले कृषि क्षेत्रमा सरकारले सोही अनुरुपको सहुलियत समेत दिँदै आएको उनले जानकारी दिए ।

कपिलबस्तु चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा १० हजार बढी आगन्तुकको सहभागिता रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL