Logo

एक महिनामा १ सय १६ उद्योग दर्ता, ५५ अर्बको लगानी स्वीकृत

एक महिनामा १ सय १६ उद्योग दर्ता, ५५ अर्बको लगानी स्वीकृत



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालमा १ सय १६ ओटा नयाँ उद्योगहरु दर्ता भएका छन । गत साउन १ गतेदेखि साउन ३१ गतेसम्म स्वदेशी तथा विदेशी लगानीका उक्त संख्याका उद्योग दर्ता भएका हुन् । उद्योग विभागका अनुसार यसरी दर्ता भएका उद्योगले प्रस्ताव गरेको ५५ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ ।

विभागको तथ्यांक अनुसार साउनमा ५५ ओटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका छन् । त्यसमध्य नौ ओटा ठूला उद्योगहरु दर्ता छन् । ठूला उद्योगबाट मात्रै ५० अर्ब बराबरको लगानी प्रस्ताव छ । सात ओटा मझौला उद्योगले एक अर्ब ४९ करोड रुपैयाँको लगानी प्रस्ताव गरेका छन् । त्यस्तै ३९ ओटा साना उद्योगले प्रस्ताव गरेको ९२ करोड रुपैयाँको प्रस्ताव पनि विभागले स्वीकृत गरेको छ ।

पहिलो महिनामा ६१ ओटा विदेशी लगानी सहितका उद्योग दर्ता भएका छन् । त्यसमध्ये ६ ओटा मझौला उद्योगले एक अर्ब २९ करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै ५५ ओटा विदेशी लगानीका साना उद्योग दर्ता भएका छन् । यी सबै उद्योगबाट एक अर्ब १३ करोड रुपैयाँको लगानी प्रस्ताव नेपालले प्राप्त गरेको छ ।

वैदेशिक लगानीका उद्योगमा भारतीय लगानीको संख्या धेरै छ । यसबीचमा १७ ओटा देशहरुबाट नेपाललाई लगानी प्रस्ताव आएको छ । विदेशी लगानीका उद्योगमध्ये सेवा क्षेत्रमा सबैभन्दा धेरै ७९ करोड रुपैयाँको लगानी प्रतिबद्धता व्यक्त भएको छ ।

विभागको तथ्यांक अनुसार यस अवधिमा सवैभन्दा धेरै लगानी प्रतिबद्धता प्राप्त भएको आयोजनाका रुपमा सिचुवान वाङपिङ ईनर्जी साइन्स एन्ड टेक्नोलोजी रहेको छ । यो जलविद्युत आयोजनाको क्षमता २ सय ३५ मेगावट रहेको छ । यसको लागत मात्रै ४५ अर्ब रहने प्रस्ताव छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL