Logo

३० प्रतिशतले घट्दै चिनी उत्पादन, प्रतिकेजी मूल्य ५ रुपैयाँसम्म बढ्ने

३० प्रतिशतले घट्दै चिनी उत्पादन, प्रतिकेजी मूल्य ५ रुपैयाँसम्म बढ्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यो वर्ष चिनी उत्पादन ३० प्रतिशतले घट्ने भएको छ । गत वर्षको तुलनामा ऊखु उत्पादनमै कमि आएपछि चिनी उत्पादन घट्ने निश्चित भएको चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए । ‘यो बर्ष ऊखु उत्पादनमा धेरै कमि आएको छ,’ उनले भने, ‘जसका कारण चिनी उत्पादन घट्ने भएको हो ।

नेपालमा गत वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो वर्ष सोको तुलनामा ३० प्रतिशतभन्दा बढीले कमि आउने उद्योगीहरुको भनाइ छ । उद्योगीहरुले भर्खरै मात्र ऊखु क्रसिङ शुरु गरेका छन् । ऊखु क्रसिङको तीन सजिन हुने र यो अन्तिम सिजन भएकाले पनि चिनी उत्पादनमा उच्च गिरावट आउने अग्रवाल बताउँछन् । गत वर्षको तुलनामा चिनी उत्पादन ३० प्रतिशते घटेमा यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी उत्पादन हुने छ ।

शुरुको सिजन अर्थात २०७० सालमा २ लाख मेट्रिक टन चिनी उत्पादन भएको थियो भने २०७१ मा आइपुग्दा घटेर १ लाख ७० हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो । तर, गत वर्ष १७ प्रतिशतभन्दा बढीले गिरावट आई १ लाख ४० हजार मेट्रिक टनमात्र उत्पादन भएको थियो ।

किसानसँग महङ्गोमा ऊखु खरिद गर्नुपरेकाले यो वर्ष उद्योगीहरुले चिनीको मूल्य समेत बढाउने भएका छन् । भर्खर चिनी उत्पादन शुरु भएको र बजारमा चिनी पठाउँदासम्म प्रति किलोग्राम मूल्य ५ रुपैयाँसम्म बढ्ने अग्रवालले जानकारी दिए ।

सरकारले यो वर्ष ऊखुको मूल्य प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ मूल्य निर्धारण गरेको छ । यो मूल्य गत वर्षको तुलनामा प्रति क्वीण्टल ७९ रुपैयाँले बढी हो । गत वर्ष ऊखुको मूल्य प्रति क्वीण्टल ४ सय ५२ रुपैयाँ मात्र थियो । तर, यस वर्ष सरकारले एकतर्फी रुपमा ऊखुको मूल्य निर्धारण गरेको भन्दै चिनी उद्योगीहरुले विरोध गर्दै आएका छन् । हाल उद्योगीहरुले ऊखुको मूल्य प्रति क्वीण्टल ५ सय १३ रुपैयाँ मात्र हुनुपर्ने माग राख्दै आएका छन् ।

उत्पादनमा कमि आएसँगै यो वर्ष नेपाली बजारलाई चाहिने चिनीमध्ये ५० प्रतिशत आयात गर्नुपर्ने देखिन्छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा वार्षिक २ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ । तर, नेपालमा उत्पादन घटेर १ लाख मेट्रिक टनमात्र उत्पादन हुने भएपछि थप १ लाख मेट्रिक टन आयात गर्नुपर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL