Logo

होटललाई निश्चित मापदण्डमा क्वारेन्टाईन बनाउन दिन हान सहमत, यस्ता छन् सरकारले पूरा गर्नुपर्ने शर्त

होटललाई निश्चित मापदण्डमा क्वारेन्टाईन बनाउन दिन हान सहमत, यस्ता छन् सरकारले पूरा गर्नुपर्ने शर्त



काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान) आवश्यक परे होटललाई क्वारेन्टाईन बनाउन दिन सहमत भएको छ । हान र पर्यटन विभागबीच होटलहरुलाई क्वारेन्टाईन बनाउनेबारे भएको छलफलमा हानले सो जानकारी दिएको हो ।

laxmi

हान र विभागका महानिर्देशक डण्डुराज घिमिरेबीच भएको छलफलमा होटललाई कसरी सुरक्षित राख्दै क्वारेन्टाईन बनाउन सकिन्छ भनेर छलफल भएको हानले जानकारी दिएको छ । हानले भने बाहिरी हल्ला मात्रै आएको र सरकारको तर्फबाट कुनै आधिकारिक कुरा नआएकाले होटलहरुलाई क्वारेन्टाईन बनाउन दिने या नदिने भन्ने विषयमा छलफल गरेको जानकारी दिएको छ ।

हानका अनुसार त्यसरी होटलहरुलाई क्वारेन्टाईन बनाउँन दिँदा स्थानीयबाट हुने अवरोध कम गर्न, कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी तथा सो क्षेत्रका स्थानीयबासीको सुरक्षा सरकारले लिनुपर्ने छ । साथै होटलहरुलाई क्वारेन्टाईन बनाउन दिने हो भने सरकारले केही मापदण्ड पुरा गर्नुपर्ने हानले उल्लेख गरेको छ । होटल निर्माण गर्दा बनेको मापदण्डले क्वारेन्टाईनलाई नहुने र आमजनताको जीउधनको सुरक्षाका लागि सरकारले क्वारेन्टाईनको आवश्यक मापदण्ड तयार गरे होटललाई क्वारेन्टाईन बनाउन दिने हानले जानकारी दिएको छ ।

हानका अध्यक्ष सृजना राणा नेतृत्वको प्रतिनिधिले कोभिड–१९ बाट सृजित राष्ट्रिय संकटलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यले विदेशबाट नेपाली ल्याउँदा होटललाई क्वारेन्टाइनका रुपमा उपयोग गर्ने निर्णय गरे संघमा आबद्ध सदस्य होटलबाट सरकारसँग समन्वय गर्ने बताएको छ । त्यस्तै हानले स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिने व्यक्तिलाई आवश्यकताअनुसार होटलमा क्वारेन्टाइनको व्यवस्था गर्न सकिनेसमेत जानकारी दिएका छ ।

तर होटललाई क्वारेन्टाईन बनाए पछि सो समयअवधिभर उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवद्र्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु सरकारको वर्गिकरण अनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यून्तम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको पनि विवरणपत्रमा उल्लेख गरिएको छ ।

पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरुमा कर्मचारीको उपलब्धता र भौतिक संरचनारउपकरणहरुको संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनको रुपमा होटल संचालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिन सक्ने छ । साथै क्वारेन्टाइनको रुपमा संचालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालको विवरणपत्रमा उल्लेख छ ।

होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरु अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL