Logo

२६४ अष्ट्रेलियाली नागरिक लिएर अष्ट्रेलिया उड्दै निगमको जहाज, चीनको बेइजिङमा पहिलो ऐतिहासिक उडानको तयारी

२६४ अष्ट्रेलियाली नागरिक लिएर अष्ट्रेलिया उड्दै निगमको जहाज, चीनको बेइजिङमा पहिलो ऐतिहासिक उडानको तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाज आज (बुधबार) चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान हुने भएको छ ।

laxmi

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् । उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज काठमाडौंबाट दिउँसो १ः३० बजे अष्ट्रेलियाको लागि उडान गर्ने छ भने दोस्रो जहाजले साँझ ५ बजे बेइजिङमा कार्गो उडान गर्नेछ । उक्त जहाजहरु बिहीबार काठमाडौं आईपुग्ने निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको हो । निगमको जहाज अष्ट्रेलिया जाँदा मलेशिया ट्रान्जिट हुँदै अष्ट्रेलिया उडान गर्नेछ भने सिड्नीबाट फर्कँदा सिधैँ काठमाडौं अवतरण हुनेछ । त्यस्तै निगमको बेइजिङ उडान भने पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको खडकाले बताईन । काठमाडौं–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।

निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्ने भएको छ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिएकी छिन । वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिल्ट ८ः४५ बजे काठमाडौं अवतरण हुनेछ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली संघ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको हो । काठमाडौं विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तरराष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार इपिएस प्रणालीअन्तरगत कोरिया काम गर्ने अनुमतिप्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो । मुलुकमा जारी लकडाउन तथा अन्तरराष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एयरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ ।

लकडाउन अवधिमा ८ अन्तरराष्ट्रिय उडान गरेको निगमको वाइडबडी जहाजले पहिलोपटक चैत १६, २० र २४ गते चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL