Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढ्यो, ३ बर्षमा ४८ अर्ब घाटा

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढ्यो, ३ बर्षमा ४८ अर्ब घाटा



काठमाडौं । सरकारले पर्यटन उद्योगलाई प्रोत्साहन गर्दै आएपनि विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीहरुले विदेश घुम्न गएर गर्ने खर्च बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्चभन्दा नेपालीले विदेश भ्रमणमा जाँदा गर्ने खर्चको अनुपात बढी देखिएको हो ।

पछिल्लो ३ बर्षको तथ्याङ्क अनुसार पर्यटक आम्दानीमार्फत नेपालले गर्ने आम्दानीभन्दा नेपालीले विदेशमा गएर गर्ने खर्च ४८ अर्ब ५५ करोड रुपैयाँले बढी रहेको छ ।

नेपालमा आउने पर्यटकले गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्चको अनुपात उच्च रुपमा बढ्दै गएको छ । सरकारले विदेशी पर्यटक भित्र्याउन पहल गरेपनि आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न नसक्दा त्यसबाट घाटा व्यहोर्नु परेको हो ।

राष्ट्र बैंकको तथ्याङअनुसार २०१७–१८ मा बिदेशी पर्यटकले नेपालमा करिब ६७ अर्ब ९ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन । तर, नेपाली पर्यटकले विदेशमा गएर गरेको खर्च भने ७९ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

बिदेशी पर्यटकले नेपालमा गरिने खर्च भन्दा नेपालीले विदेशमा गरिने खर्च २०१७–१८ मा १२ अर्ब ५० करोड १९ लाख रुपैयाँले बढी रहेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी २०१६–१७ मा बिदेशी पर्यटकले नेपालमा ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खर्च गर्दा सोही अवधिमा नेपालीले विदेशमा गएर ७९ अर्ब ९२ करोड ६९ लाख रुपैयाँ खर्च गरेका छन् । सो बर्ष विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गएर गरेको खर्च २१ अर्ब ४० लाख रुपैयाँले बढी रहेको छ ।

त्यस्तै २०१५–१६ मा पनि विदेशी पर्यटकले नेपालमा गरिने खर्च भन्दा नेपाली पर्यटकले विदेशमा गरिने खर्च १४ अर्ब ६५ करोड ३१ लाख रुपैयाँले बढी रहेको तथ्याङकमा उल्लेख छ ।

तथ्याङक अनुसार २०१६÷१७ मा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च अघिल्लो आबको तुलनामा ४० प्रतिशतले बढेकोमा गत आबमा आईपुग्दा १४ दशमलब ६ प्रतिशतमा सिमिति हुन पुगेको छ । विदेशी पर्यटकको बसाई लमब्याउन नसक्नु र पर्यटन पूर्वधारमा विकास नहुँदा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च घट्दै गएको सम्वद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिब बिनायक शाह पनि विदेशी पर्यटकले नेपालमा बिहान बेलुका खानाखाने अनि दिनभरी घुम्ने गरेकाले उनीहरुले गर्ने खर्च एकदमै कम भएको बताउँछन् ।

तर नेपालीहरु विदेश घुम्नजाँदा बढी सपिङ गर्ने, औषधोपचार तथा छोराछोरी पढाउन जाने भएकाले नेपालीको खर्च विदेशी पर्यटकको तुलनामा बढी भएको शाहको भनाई छ ।

एक विदेशीले १० डलरमा दिनभर ठमेल घुम्नलाई पुग्छ तर हामी नेपालीले युरोप, अमेरिका, जापान लगायतका देशमा जाँदा गर्ने खर्च ५ सय डलरभन्दा माथी हुन आउँछ । जसले गर्दा पनि विदेशीले नेपालमा आएर गर्ने खर्चभन्दा नेपालीले विदेशमा गएर गर्ने बढी भएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL