Logo

१० प्रतिशत भाडा वृद्धिसँगै दशैंको लागि अग्रीम टिकट बुकिङ खुला, मंगलबारदेखि बिक्री

१० प्रतिशत भाडा वृद्धिसँगै दशैंको लागि अग्रीम टिकट बुकिङ खुला, मंगलबारदेखि बिक्री



काठमाडौं । यात्रुबाहक सार्वजनिक यातायातको भाडा वृद्धि भएसँगै दशैका लागि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकारले १० प्रतिशत भाडादर बढाउन सहमत भएसँगै दशैको लागि अग्रीम टिकट बुकिङ खुला भएको हो ।

इन्धनको मूल्यमा भएको लगातार बृद्धि तथा सवारीसाधन र त्यसको पार्टपूर्जामा भएको मूल्य बृद्धिका कारण व्यवसायीले भाडादर वृद्धि नगरे अग्रीम टिकट बुकिङ नै खुला नगर्ने अडान लिएका थिए । तर, सरकार र व्यवसायीबीच शनिवार भएको सहमतिसँगै दशैको लागि अग्रीम टिकट बुकिङ खुला भएको हो ।

सहमति अनुसार मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा दर समायोजन गर्न निर्देशन दिएको बढेको भाडा आजै देखि लागू हुनेछ । यसैगरी सरकारले रोक्का राखेको तत्कालिन यातायात व्यवसायीको खाता फुकुवा गर्न पनि गृहमन्त्रालयलाई पत्राचार गर्ने भएको छ । समितिहरुको रोक्का राखेको बैँक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुको भुक्तानी छिटोछरितोसँग गर्ने व्यवस्था मिलाइदिन पनि मन्त्रालयले गृह मन्त्रालयसित अनुरोध गर्ने सहमति भएको हो ।

भाडावृद्धिसँगै सोमबार बेलुका केन्द्रिय समितिको बैंठक बसेर दशैंका लागि अग्रीम टिकट बुकिङ खुला गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘शनिवारको सहमतिसँगै अब दशैंका लागि अग्रीम टिकट बुकिङ खुला गर्नेछौं,’ उनले भने, ‘सम्भवत मंगलबारदेखि अग्रीम टिकट बुकिङ खुला हुनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL