Logo

तामझामका साथ नेपाल भ्रमण बर्ष २०२० सुरु, न्यूनतम पूर्वाधारको कमी,व्यवसायीमा देखिएन उत्साह

तामझामका साथ नेपाल भ्रमण बर्ष २०२० सुरु, न्यूनतम पूर्वाधारको कमी,व्यवसायीमा देखिएन उत्साह



काठमाडौं । अंग्रेजी नयाँ बर्षसँगै बुधबार देखि नेपाल भ्रमण बर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले बुधबार दशरथ रंगशालामा भब्य कार्यक्रमकाबीच भ्रमण बर्ष २०२० को शुभारम्भ गरिन ।

laxmi

सरकारले तामझामका साथ भ्रमण बर्ष सुरु गरेपनि व्पर्यटन व्यवसायीहरुमा भने उत्साह देखिएको छैन । भ्रमण वर्ष शुरु भएपनि नेपाल आउने पर्यटकको संख्या भने न्यून रहेको होटल ब्यवसायीहरु बताउँछन ।

‘सरकारले तामझामका साथ भ्रमण बर्षको सुरुवात त गरेको छ, तर अहिले होटलको अकुपेन्सी भने ५० प्रतिशत भन्दा कम रहेको छ’, होटल एशोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष बिनायक शाहले भने–‘अहिले विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकको लहर चलेको छ । क्रिसमस तथा नयाँ बर्ष आफ्नै परिवारसँग मनाउने भएकाले पनि यो बेला विदेशी पर्यटकको चहलपहल कम हुने गरेको शाहको भनाई रहेको छ ।’

पोखरा तथा चितवनका होटलहरुमा अधिकांश नेपाली पर्यटकले नै भरिभराउ भए पनि विदेशी पर्यटकको संख्या भने न्यून रहेको उनले बताए । शाहले भने, ‘क्रिसमस र नयाँ वर्षका कारण डिसेम्बर २० देखि जनवरी मध्येसम्म प्रायः विदेशीहरु घुम्न नजाने भएकाले पनि नेपालमा थोरै विदेशी पर्यटक भित्रिएका हुन् ।’ अहिले भईरहेको पर्यटक पनि भारत र चीनको मात्रै छन् । जसले खर्चनै गर्दैनन् त्यस्ता पर्यटक आएर काम छैन’, उनले भने ।

व्यवसायीहरु पूर्वाधारको नाममा सरकारले गौतमबुद्ध, पोखरा निजगढ विमानस्थलको कुरा मात्र गरिरहेको तर, अन्य पर्यटकीय पूर्वधार केही पनि नभएको, सडकको अवस्था नाजुक रहेको बताउँछन् । सरकारले विमानस्थल निर्माणलाई जोड दिनुपर्ने भएपनि पर्यटकका लागि न्यूनतम पूर्वाधारमा जोड नदिदा भ्रमण वर्ष भनेपनि पर्यटक आकर्षणमा समस्या रहेको बताउँछन् ।

नेपालमा पर्यटक ल्याउनु मुख्य चुनौती भएपनि आएका पर्यटकलाई सन्तुष्ट पानुपर्ने विषयमा सम्बन्धित निकायको धयान पुग्न नसकेको व्यवसायीहरु बताउँछन् । ‘भ्रमण वर्ष भनेपनि नेपालका मुख्य पर्यटकीय गन्तब्यमा शौचालय, पर्यटकीय सूचना केन्द्रजस्ता न्यूनतम सुविधाको समेत व्यवस्था गर्नुपर्छ भन्नेमा कसैको ध्यान गएन’, एक व्यवसायीले भने । गफ भने अर्बौंका गर्ने तर, सानो काम पनि नगर्ने प्रवृत्तिले नेपाल कहिल्यै पनि सम्बृद्ध हुन नसक्ने व्यवसायी बताउँछन् ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले भ्रमण बर्ष २०२० को शुभारम्भ गरेको हो । सन् २०१९ मा भने ११ लाख ९४ हजार २ सय ८२ जना मात्रै पर्यटक भित्रिएको अध्यागमन विभागको तथ्याङ्कमा रहेको विभागका निर्देशक तथ सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन ।

सरकारले विगतमा दुई पटक भ्रमण बर्ष मनाईसकेको । अघिल्लो पटक सन १९९८ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य लिँदा ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटक नेपाल भित्रिएको थियो भने सन २०११ मा १० लाख पुर्याउने लक्ष्य राखेकामा ७ लाख ३६ हजार २ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखे पनि नेपालमा पूर्वधारकै कारण २०२० मा २० लाख पर्यटक नआउने पर्यटन व्यवसायीहरुले बताउँदैं आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL