Logo

११ जनाले पाए बन्दीपुर केवलकारको सेयर, १३ करोड सेयर स्थानीयलाई

११ जनाले पाए बन्दीपुर केवलकारको सेयर, १३ करोड सेयर स्थानीयलाई



काठमाडौं । बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई सेयर प्रदान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गादेखि वनको फेदीसम्मको जग्गा प्रयोग गरेबापत कम्पनीले स्थानीयवासीलाई सेयर प्रदान गरेको हो ।

केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने ५ रोपनी जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख रुपैयाँ बराबरको सेयर प्रदान गरिएको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन । शर्माका अनुसार ११ जना स्थानीयवासीलाई सेयरबापतको प्रवद्र्धक सेयर लगानी प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

उनका अनुसार बढी सेयर पाउनेले २ लाख ५६ हजार रुपैयाँसम्म पाएका छन । पोल परेको जग्गालाई प्रतिआना १ लाख र तारमात्रै परेको जग्गालाई प्रतिआना ५० हजारका दरले मूल्याङ्कन गरी सेयरमा रुपान्तरण गरिएको शर्माले बताए । शर्माका अनुसार एक जनालाई भने १ लाख ४५ हजार रुपैयाँ नगद नै हस्तान्तरण गरिएको छ ।

केबलकार कम्पनीमा २२५ जना स्थानीयवासीले सेयर हालिसकेका छन । स्थानीयवासीबाट केबलकार निर्माणका लागि करीब ३ करोड सेयर संकलन भएको छ । केबलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले ५० लाख सेयर हालेको छ । ‘स्थानीयवासीका लागि १३ करोड रुपैयाँका सेयर छुट्याएका थियौँ, अहिलेसम्म ३ करोड रुपैयाँ बराबरको सेयर संकलन भएको छ’ उनले भने, ‘स्थानीयवासीमा सेयरको आकर्षण बढिरहेको छ । अहिले पनि धेरैले चासो देखाइरहनुभएको छ ।’

हाल केबलकारको पूर्वाधार निर्माणका कामलाई तीव्र पारिएको छ । केही दिनअघि मात्रै निर्माण सुरु भएको केबलकारको बटम स्टेशन भवनको काम पनि अगाडि बढेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, बेनक्युट हल र ८० कोठासहित स्तरीय होटल निर्माण गरिने छ । शर्माका अनुसार रेष्ट्रो जोन, सपिङ मल र केबलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहल उक्त भवनमा निर्माण गरिनेछ ।

प्रारम्भमा ५६ करोड रुपैयाँको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेपछि केबलकारको लागत वृद्धि भएको छ । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने भएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL