Logo

पर्यटकविहिन विश्व पर्यटन दिवश, आन्तरिक पर्यटनमा जोड दिँदै पर्यटन व्यवसायी

पर्यटकविहिन विश्व पर्यटन दिवश, आन्तरिक पर्यटनमा जोड दिँदै पर्यटन व्यवसायी



काठमाडौं । आज सेप्टेम्बर २७ तारिख अर्थात विश्व पर्यटन दिवश । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसको प्रभाव नियन्त्रणका लागि विभिन्न देशहरुले लागु गरेको लकडाउन, निशेधाज्ञाका कारण जनजीवन अझै पनि सामान्य बनिसकेको छैन् ।

विश्वभर फैलिएको महामारीले अर्थतन्त्रको कुनै निश्चित क्षेत्रलाई मात्रै नभई हरेक क्षेत्रलाई ठूलो असर पारेको छ । जसमध्ये पर्यटन पनि एक हो । अघिल्लो बर्षहरुमा पर्यटकहरुको भीडसँगै मनाईने पर्यटन दिवश यसपटक भने शुन्य रह्यो ।

महामारीका कारण विश्वभर आवतजावत, हिँडडुल, भ्रमणलगायतमा लगाईएको बन्देजका कारण भ्रमणमा निस्किने पर्यटकहरुको संख्या लगभग शुन्यको स्थितिमा रहेको छ । अहिले यूरोप, अमेरिका तथा केही देशमा पर्यटकीय गतिविधी शुरु भएका छन् भने नेपालमा पनि ६ महिनापछि पर्यटन क्षेत्र खुला भएको छ ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउने प्रचलन छ । यसपपटक ४१ औं पर्यटन दिवश मनाइरहँदा नेपाली पर्यटन क्षेत्र निकै नाजुक अवस्थाबाट ग्रुजिरहेको छ ।

पर्यटकविहिन भएको पर्यटन व्यवसायमा आबद्ध व्यवसायीहरु कसरी पर्यटन क्षेत्रलाई ‘रिभाइभ’ गर्न सकिन्छ भनेर लागिरहेका छन् । अहिलेको अवस्थाबाट बाहिर निस्कन विस्तारै लयमा फर्किनेगरी पर्यटन क्षेत्रले तयारी गर्नुपर्ने होटल एशोसियसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार अब कोरोना भाईरससँगै अर्थतन्त्रलाई र व्यवसायलाई पनि अगाडी बढाउनुपर्छ भन्ने उद्देश्यले आजैदेखि पर्यटन क्षेत्रलाई सहजीकरण गरेर अघि बढ्नुपर्छ ।

‘अब विस्तारै कोरोना भाईरसको प्रभाव बढेपनि जनजीवन भने सामान्य भइसकेकाले व्यवसायहरु विस्तारै खुल्दैछन्,’ उनले भने, ‘अब हामीले बाह्य पर्यटक तत्काल भित्र्याउन नसकिएपनि आन्तरिक पर्यटकलाई आकर्षित गर्नलाई विभिन्न प्याकेजहरु ल्याउन जरुरी छ ।’ हाल विदेशी पर्यटक नेपाल आइहाल्ने सम्भावना नभएकाले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमै भएपनि ध्यान दिनुपर्ने उनको भनाई छ । होटल व्यवसायीहरुले बाह्य पर्यटकलाई मात्रै नभएर आन्तरिक पर्यटकहरुका लागि भन्दै सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी न्युनतम मापदण्डको पालना गर्दै होटलहरु विस्तारै खोल्नुपर्नेमा उनले जोड दिए ।

साथै यसपटकको पर्यटन दिवशमा कुनै रौनक नभएको एमएस ग्रुप तथा होटल मेरियट काठमाडौंका उपाध्यक्ष सुमित कुमार अग्रवाल बताउँछन् । उनका अनुसार पोहोर, परारको जस्तो पर्यटन क्षेत्रमा रौनक यसपाली छैन ।

विश्व नै कोरोना महामारीबाट प्रभावित बनेपछि सोहीअनुसार नेपालको पर्यटन क्षेत्रमा पनि असर परेको छ । ‘अघिल्ला बर्षहरुमा पर्यटन दिवशको दिन सबै पर्यटन क्षेत्रका सरोकारवालाहरुलाई बोलाएर उत्सवजस्तै मनाईन्थ्यो,’ उनले भने, ‘यसपाली न कुनै उत्सव छ न कोही पर्यटक नै छन्, पुरै खल्लो छ ।’ तर, पुरै संकटग्रस्त भएको होटल क्षेत्रलाई सरकारले साथ नदिए पनि आफैले गर्नसकिने कार्य गरेर पुनः संचालनमा ल्याउने तयारी भईरहेको अग्रवाल बताउँछन् ।

होटल क्षेत्रहरु विस्तारै खुलाउने, आन्तरिक पर्यटकलाई जोड दिनेलगायतका क्रियाकलापमा जोड दिई पर्यटनलाई माथि उकास्न सकिने उनको भनाई छ ।

यता ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)ले भने पर्यटन दिवशकै अवसरमा हेलम्बु सर्किट ट्रेलमा सेफ्टी प्रोटोकलको सर्भे गरेको छ । तत्कालका लागि आन्तरिक पर्यटकलाई घुमफिरमा सहजीकरण गर्न उक्त सेफ्टी प्रोटोकलको सर्भेक्षण गरिएको टानका अध्यक्ष खुम सुवेदीले बताए ।

उनका अनुसार कोरोना भाईरसको प्रभाव पूर्णरुपमा नियन्त्रण नभएसम्म पर्यटन क्षेत्र बन्द भएपछी आन्तरिक पर्यटकलाई भएपनि आकर्षित गर्न उक्त सर्भेक्षण गरिएको हो । कोरोना महामारीको अन्त्य नहुँदासम्म आन्तरिक पर्यटकलाई जोड दिने र त्यसपश्चात जनजीवन सहजीकरण भएसँगै विस्तारै बाह्य पर्यटकका लागि समेत वातावण निर्माण गर्ने टानको योजना छ । यस्तै टानले पोखराका ताल वरिपरी फुट ट्रेलका लागि सर्भेसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL