Logo

नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति

नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति



काठमाडौं । भियतनाम सरकार नेपालको कृषि र पर्यटनमा लगानी गर्न इच्छुक देखिएको छ । भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले आफ्नो ४ बर्षे कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा नेपाल चेम्बर अफ कमर्शसँगको छलफलमा सो कुरा बताएका हुन् ।

‘भियतनाम सरकारले पछिल्लो समय उच्च रुपमा आर्थिक बृद्धि हासिल गरेको छ जुन मोडल नेपालमा पनि लागू हुन सक्छ,’ उनले भने, ‘नेपालमा लगानीको लागि अथाहा अबसर रहेको र ती क्षेत्रमा लगानी गर्न भियतनामी सरकार तथा त्यहाँका लगानीकर्तालाई प्रेरित गर्नेछु ।’

पछिल्लो समय भियतनामा पर्यटन र व्यापारबाट आर्थिक क्रान्ति गरेको भन्दै सोही अनुरुप नेपालाई पनि पर्यटन क्षेत्रमा केन्द्रित हुन आग्रह गरे । विशेषगरी कृषि, पर्यटन तथा बैंकिङ क्षेत्रमा लगानी गर्न भियतनाम सरकार तयार रहेको समेत उनले जानकारी दिए ।

‘अहिले भियतनामले निर्यातबाट ठूलो रुपमा विदेशी मुद्रा आर्जन गर्दै आएको छ,’ उनले भने, ‘भियतनामबाट निर्यात हुनेमध्ये ७० प्रतिशत हिस्सा प्रत्यक्ष वैदेशिक लगानीबाट खुलेका उद्योगहरुको रहेको छ ।’

कार्यक्रममा थान्हले भियतनाम सरकारले नेपाललाई बार्षिक ५ वटा छात्रबृत्ति समेत उपलब्ध गराउने बताए । ‘अहिले भियतनाममा विभिन्न देशबाट छात्रबृत्तिमा पढ्न जाने क्रम बढेको छ,’ उनले भने, ‘हामी नेपाली विद्यार्थीलाई पनि उच्च शिक्षा अध्ययनका लागि ५ वटा कोटा पूर्ण छात्रबृत्तिमा उपलब्ध गराउने छौं नेपाल सरकारसँग छलफल गरेर आउनुहोस ।’

नेपालसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि भियतनाम तयार रहेको बताउँदै दुई देशबीच लगानी तथा पर्यटन प्रवद्र्धनका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन आफ्नो देशमा गएर प्रस्ताव राख्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेकाले नेपालमा लगानी गर्न आग्रह गरे । ‘स्थिर सरकारसँगै नेपालमा लगानीको वातावरण बनेको छ,’ उनले भने, ‘फष्टाउँदो अर्थतन्त्रका रुपमा भियतनामले आर्थिक विकास तीव्ररूपले गरिरहेकाले नेपालको कृषि आधुनिकीकरणमा सहयोग आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL