Logo

१२ महिनामा ६ लाख पर्यटकले नेपाल घुमे, भारतबाट मात्रै आए २ लाख बढी

१२ महिनामा ६ लाख पर्यटकले नेपाल घुमे, भारतबाट मात्रै आए २ लाख बढी



काठमाडौं । गएको अंग्रेजी बर्ष सन २०२२ को १२ महिनामा विश्वभरीबाट ६ लाख बढी पर्यटकले नेपाल घुमेका छन् । पर्यटन बोर्ड नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२२ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म नेपालमा ६ लाख १४ हजार १ सय ४८ जना पर्यटक आएका हुन् ।

यस अवधिमा नेपालमा सबैभन्दा बढी पर्यटक भने भारतबाट आएको छ । पर्यटन बोर्डका अनुसार सन यस अवधिमा भारतबाट आउने पर्यटकहरुको संख्या २ लाख ९ हजार १ सय ५ रहेको छ । जुन कुल पर्यटक संख्याको ३४.०५ प्रतिशत हो ।
यस्तै यसै अवधिमा नेपालमा आउने अमेरिकी नागरिकहरुको संख्या भने ७७ हजार ९ जना रहेको छ, जुन कुल नेपाल आउने बिदेशीहरुको संख्याको १२.५४ प्रतिशत हो । पर्यटन बोर्डका अनुसार २०२२ मा नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशमध्ये अमेरिका दोस्रो हो ।

त्यस्तै अमेरिका पछि बेलायतबाट धेरैजना पर्यटक नेपाल आएका छन् । २०२२ मा मात्र बेलायतबाट नेपाल आउनेहरुको कुल संख्या ४४ हजार ७ सय ८१ रहेको छ ।

२०२२ मा भारत सहित सार्क राष्ट्रका बंगलादेशबाट २५ हजार ३ सय ८४ जनाले नेपाल घुम्दा श्रीलंकाबाट ४ हजार ५ सय ९८ जना, पाकिस्तानबाट ३ हजार ९ सय २८ जना र भुटानबाट ३ हजार २२ जना नेपाल आएका छन् । यसरी नेपाल आउनेहरुमा सार्क राष्ट्रबाट कुल २ लाख ४६ हजार ३७ जना कुल विदेशी पर्यटकको ४०.०६ प्रतिशत पर्यटक यी राष्ट्रबाट आएका हुन् ।

यस्तै यस अवधिमा नेपालमा युरोपका बिभिन्न देशबाट आउने पर्यटकहरुको संख्या १ लाख ३३ हजार ४ सय २ जना पुगेको छ । यता अष्ट्रेलिया र न्युजिल्याण्डबाट यस अवधिमा नेपालमा २८ हजार ६ सय ३ जना पर्यटक आउँदा क्यानडाबाट भने ९ हजार ७ सय ४४ जना भित्रिएका छन् ।

कोरोना महामारीले थिलथिलो पारेको पर्यटन क्षेत्र यसको त्रास केहि कम भएसँगै जुर्मुराउने तरखर गर्दैछ । पर्यटकहरु त्रासबाट बाहिर निस्केर घुम्ने निश्किने छाँटकाँट गर्दैछन् । जसको प्रभावका कारण नेपालमा १२ महिनामा ६ लाख अर्थात प्रत्येक महिना औसतमा ५० हजार पर्यटक नेपाल भित्रिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL