Logo

दक्षिण एशियाकै पहिलो ‘स्काई वाक भ्यू टावर’ : जेठदेखि संचालनमा आउँदै, ‘आकाशमा हिडेको’ आनन्द लिन सकिने

दक्षिण एशियाकै पहिलो ‘स्काई वाक भ्यू टावर’ : जेठदेखि संचालनमा आउँदै, ‘आकाशमा हिडेको’ आनन्द लिन सकिने



काठमाडौं । नेपालकै पहिलो ‘स्काई वाक भ्यू टावर’ निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौको कमलादीमा वन्डर्स नेपाल प्रालिले निर्माण गरिरहेको सो टावरको निर्माण अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । केही समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण निर्माण कार्र्र्य प्रभावित भएको भएपनि अहिले निर्माणकार्य तीब्र भएको र केही समयमै सम्पन्न गर्नेगरि काम भइरहेको कम्पनीका प्रोजेक्ट म्यानेजमेन्ट डाइरेक्टर सन्जीव रोकाले जानकारी दिए । यही गतिमा काम भइरहे जेठको अन्तसम्म टावर सञ्चालनमा ल्याउन सकिने बताए । कम्पनीका अनुसार टावर सञ्चालनका लागि कम्पनीले २८ वर्षको लागि जग्गा भाडामा लिएकोे छ । जहाँ १३ दशमलव २ रोपनी जग्गामा १ अर्ब १३ करोड रुपैयाँ लागतमा टावर निर्माण भइरहेको छ ।

टावर निर्माणका लागि मुख्यरुपमा स्टिलको प्रयोग गरिदैछ । स्टिलको काम अधिकांस सकिएको र अब निर्माण कार्य छिटै सकिन कम्पनीको बिश्वास रहेको छ । निर्माणाधिन उक्त टावर निर्माणमा स्टिल स्ट्रक्चरको जिम्मा पाएको सेफ स्टिलले मेन कन्सट्रक्सनको ९५ प्रतिशत कार्य सम्पन्न गरिसकेको सेफ स्टिलका अध्यक्ष अर्नराज सिलवालले बताए ।

‘स्काई वाक भ्यू टावर’ नेपालमा बिलकुलै नयाँ अवधारणा हो । वन्डर्स नेपालका अनुसार यस्तो संरचना दक्षिण एशियामै पहिलोपटक निर्माण भएको हो । विश्वका धेरै देशमा पर्यटक तथा मनोरञ्जनका लागि यस प्रकारका संरचना सञ्चालनमा रहेको भएपनि नेपालमा भने अहिलेसम्म सञ्चालनमा आएको छैन् । ७८ मिटर उचाई रहने ‘स्काई वाक भ्यू टावर’ मा अवलोकनकर्ताले ग्राउन्ड फ्लोरबाट लिफ्ट चढेपछि उक्त लिफ्टले ६८ मिटरमाथि पुर्याउनेछ । जहाँ ८ देखि १० ओटा कोठाका साथै मिटिङ हल हुनेछ भने त्यसभन्दा माथि रेष्टुरेन्ट रहनेछ र सबैभन्दा माथि ‘स्काई वाक’ गर्न सकिनेछ ।

‘स्काई वाक’मा ग्लासमा हिंडदै काठमाडौं उपत्यकाको अवलोकन गर्न सकिनेछ । जुन अहिलेसम्म नेपालकालागि नौलो अनुभव रहने छ । निर्माणधीन उक्त टावर सञ्चालनमा आएसँगै एक दिनमा ४ हजार ४ सय जनाले यसबाट काठमाडौं उपत्यका अवलोकन गर्नुका साथै आकाशमा हिडेको आनन्द लिन सक्नेछन् । ‘स्काई वाक टावर’मा योगाकक्षदेखि रेष्टुरेन्टसम्म सञ्चालनमा आउने छन् । ‘यस टावरको मुख्य आकर्षक भनेको ग्लासमा हिडदै गरिने काठमाडौं उपत्यकाको अवलोकन हो । यसरी हिंडदा पाइने रोमाञ्चक आनन्द हाम्रालागि नयाँ भएकाले निर्माण छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन आतुर छौं,’ रोकाले बताए ।

कम्पनीका अनुसार आगन्तुकका लागि टावरको अण्डरग्राउन्डमा कार तथा मोटरसाइकलका लागि प्रशस्त पार्किङ सुविधा उपलब्ध हुने छ । देशको पर्यटन बिकासमा योगदान पुर्याउनका साथै फरक ढंगले व्यवसाय सञ्चालन गर्ने उद्देश्यका साथ स्काई भ्यू टावर निर्माण गरेको रोकाले बताए । यस्तै देशका अन्य ठाउँमा पनि यस्ता टावर निर्माण गर्दै पर्यटनमा योगदान पुर्याउने लक्ष्य उक्त कम्पनीले लिएको छ । नेपालमा मनोरञ्जनका लागि प्रायः अहिलेसम्म उस्तै खालका संरचना रहँदै आएकोले आगामी दिनमा नयाँ–नयाँ अवधारणाअनुरुपका र ग्राहकको चाहना अध्ययन गरेर थप यस्ता संरचना बनाउने रोकाले बताए । अहिले निर्माणको कार्य भईरहेको निर्माणधिन स्काई वाक टावर दक्षिण एसियामै पहिलोपल्ट नेपालमा निर्माण भैरहेको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL