Logo

खोप कार्ड भएकाले मात्रै प्लेन चढ्न पाउने व्यवस्था, आन्तरिक वायुसेवा कम्पनी धराशायी हुने चिन्ता

खोप कार्ड भएकाले मात्रै प्लेन चढ्न पाउने व्यवस्था, आन्तरिक वायुसेवा कम्पनी धराशायी हुने चिन्ता



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले दिएको नयाँ सुझावले आन्तरिक उडान कम्पनीहरु चिन्तित बनेका छन् । आइतबार बसेको सीसीएमसीको बैठकले आगामी माघ ७ गतेदेखि आन्तरिक हवाईयात्रामा खोप कार्ड अनिवार्यको निर्णय गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको छ । जसका कारण एयरलाइन्सको व्यवसाय नै धराशायी हुने एयरलाइन्स कम्पनीहरु बताउँछन् ।

laxmi

यस्तो अव्यवहारिक सुझावले एकातिर हवाईयात्रुहरु प्रभावित हुनेछन् भने अर्काेतिर एयरलाईन्स कम्पनीहरुको व्यवसाय नै धरापमा पर्ने अवस्था आएको यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले बताए । उनका अनुसार निर्णय हुन नसक्ने र नसुहाउने यस्ता सुझावका कारण आईपर्ने असरबारे सरकारले ध्यान दिएर निर्णय गर्नुपर्छ । ‘हचुवाका भरमा दिईएको सुझावले एयरलाइन्सका ग्राहक घट्ने र सार्वजनिक सवारीसाधनका यात्रुहरु बढ्ने देखिन्छ,’ उनले भने, ‘त्यस्तो हुँदा गाडीमा भने कोरोना नै सर्दैन भनेजस्तो भयो नि ?’ अघिल्ला २ बन्दाबन्दीमा व्यापारमा ठुलो नोक्सान व्यहोरिसकेका एयरलाईन्स कम्पनीमाथि पुनः अर्काे बज्रपात पर्न लागेको उनले बताए । यस्तो बेलामा सरकारले सक्दो सहजीकरण गर्नुपर्नेमा उनको जोड छ । ‘हवाई यात्राहरु त प्राय सजगतासँगै गरिन्छन्, तर, सडक यात्रा ?’, उनले प्रश्न गरे, ‘हवाईयात्रामा कोरोना सर्ने र सडक यात्रामा नसर्ने भन्ने हुँदैन ।’

सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा नराखी अन्य क्षेत्रलाई धराशायी बनाउने गरि निर्णय गर्दा अप्ठ्यारो अवस्था सिर्जना हुने श्री एयरलाईन्सका प्रवक्ता अनिल मानन्धर बताउँछन् । यसले आन्तरिक पर्यटनसँगै एयरलाईन्सको आम्दानीमा ठुलो असर पार्ने हुनाले सरकारले सोही अनुसार कोरोना खोप केन्द्रहरु विस्तार गरी अभियान चलाउनुपर्ने उनको भनाई छ ।

हाल नेपालभर ३६ प्रतिशतले पुर्ण मात्रामा र ३९ प्रतिशतले कम्तिमा एक डोज खोप लगाईसकेको अवस्थामा सुझावअनुसार निर्णय भए यात्रुहरुको संख्यामा ठूलो गिरावट आउने उनले बताए । ‘त्यसको न्यूनीकरणका लागि सरकारले एयरपोर्टहरुमै खोप केन्द्र स्थापना गर्ने र यात्रुहरुलाई खोप लगाएर कार्ड प्रदान गर्दै दिँदा ठिक होला,’ उनले भने, ‘यस्तो भयो भने सरकारको निर्णय पनि जोगिने र हवाई यात्रुको संख्यामा पनि गिरावट आउँदैन ।’ उनका अनुसार यो सुझावका बिषयमा हालै धेरै कुरा भन्न नसकिएपनि वायु सेवा संचालकहरुबीच बैठक बसेर छलफल गरेर यसको बारेमा निर्णय गरिने छ ।

यस्तो सुझावमा पर्यटन मन्त्रालयले उड्डयन व्यवसायलाई पनि ध्यानमा राख्दै निर्णय गर्नसक्ने बुद्ध एयरका प्रवक्ता रुपेश जोशीको अनुमान छ । उनले पनि यो सुझावअनुसार निर्णय भए हवाई यात्रुको संख्यामा ठूलो गिरावट आउने बताए । ‘तर, पर्यटक मन्त्रालयलाई यसका लागि सोचेर निर्णय गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ करोड ३ लाख ७८ हजार ५५ जना नागरिकमध्ये ४९ दशमलव ६ प्रतिशतले कम्तिमा एक मात्रै भएपनि खोप लगाएको र ३६ दशमलव ७ प्रतिशत पुर्ण मात्रामा खोप लगाएका छन् । यस्तै हालसम्म २ करोड ६१ लाख ९४ हजार डोज खोप लगाईसकिएको छ भने पुर्ण खोप लगाउनेको संख्या १ करोड ११ लाख बढी छ । पछिल्लो समय बढ्दै गएको कोरोना महामारीको संक्रमणका कारण सीसीएमसीले आईतबार मात्रै सुझावहरु सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL