Logo

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि उच्चस्तरीय समिति गठन गरिँदै, बेलायतसँग सिधा हवाई उडानको तयारी

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि उच्चस्तरीय समिति गठन गरिँदै, बेलायतसँग सिधा हवाई उडानको तयारी



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको जानकारी दिँदै उत्तः विधेयक छिट्टै पारित गराउने बताए ।

‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौँ,’ उनले भने, ‘यी विषयमा सरकार संवेदनशील छ ।’ साथै मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी दिए ।

मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याइएको समेत जानकारी दिए । ‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौँ,’ मन्त्री आलेले भने ।

उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको बताए । यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनको भनाई थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए । उहाँले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL