Logo

खर्च घटाउदा पनि बढेन टेलिकमको नाफा, आम्दानी ७२ करोड घट्यो

खर्च घटाउदा पनि बढेन टेलिकमको नाफा, आम्दानी ७२ करोड घट्यो



काठमाडौ । सरकारी लगानीको नेपाल टेलिकमले चालू आर्थिक बर्सको तेस्रो त्रैमासिकसम्ममा १० अर्ब ७६ करोड ३३ लाख रुपैया आम्दानी गरेको छ । कम्पनीले मङलबार प्रकाशित गरेको चालू आर्थिक बर्षको अपरिस्कृत आर्थिक विवरण अनुसार आम्दानीको आकार भने घटेको देखिएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी करिब ७२ करोड रुपैयाले घटेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानी ११ अर्ब ४८ करोड रुपैया थियो ।

कम्पनीले खर्च प्रवृत्तिमा सुधार गरेपनि त्यसको प्रतिफल भने खास देखिएको छैन । कम्पनीले तेस्रो त्रैमासिकमा अघिल्लो बर्षको तुलनामा १ अर्ब ४१ करोड रुपैया खर्च घटाएको छ । चालू आबको चैतसम्म कम्पनीको खर्च ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो पटक ५ अर्ब ६९ करोड रहेको विवरणमा उल्लेख छ ।

कम्पनीको खर्च घट्दा पनि खासगरी नाफा आर्जनमा त्यसको प्रभाव देखिएको छैन । तेस्रो त्रैमासिकमा कम्पनीले ३ अर्ब ६४ करोड रुपैया खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो समीक्षा अवधिमा ४ अर्ब ३७ करोड रुपैया थियो । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामै १७ प्रतिशतले गिरावट आएको छ ।

पछिल्लो समय कम्पनीको अन्तरराष्ट्रिय कलमा आएको गिरावट र सरकारले कर्पोरेट ट्याक्समा वृद्धि गरेसँगै समग्र नाफामा गिरावट आएको कम्पनीका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । ‘हाल सरकारले टेलिकम क्षेत्रको कर्पोरेट ट्याक्स २५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याएको छ जसवापत कम्पनीले थप ८० करोड रुपैयाँ कर बुझाएको छ,’ उनले भने, ‘कम्पनीको राम्रो आन्दानीको स्रोत इन्टरनेशनल कलमा आएको गिरावट र एडिएसएलको शुल्क घटाएका कारणले गर्दा पनि आम्दानीमा गिरावट आएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL