Logo

घामको भरमा मोबाईल नेटवर्क : फोरजी पुगेको स्थानमा टुजी पनि चल्दैन, सरकारको लगानी बालुवामा पानी बन्दै

घामको भरमा मोबाईल नेटवर्क : फोरजी पुगेको स्थानमा टुजी पनि चल्दैन, सरकारको लगानी बालुवामा पानी बन्दै



काठमाडौं । सरकारले बर्षेनी अर्बौ रुपैयाँ खर्चेर ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको सहज पहुँच पुर्याउन कोशिस गरिरहेको छ । ग्रामीण क्षेत्रमा दूरसंचार सेवा बिस्तारले धेरै क्षेत्रमा स्थानीयहरुमा खुसी ल्याएपनि कतिपय स्थानमा भने उपलब्ध सेवा उपभोग नै नहुने अवस्था छ । देशका दुर्गम र ग्रामीण क्षेत्रसम्म दूरसंचार सेवाको पहुँचले टाढा टाढाका आफन्तहरुसँग घरमै बसेर कुरा गर्न पाउँदा र विश्वभरीका नयाँ सूचनाहरु हातमै हेर्न, पढ्न र सुन्न पाउँदा स्थानीयहरुमा खुशीको संचार पनि भएको छ । तर, सेवाको गुणस्तर र कमजोर संरचनाका कारण सेवा बिस्तार भएको केहि दिनमै ग्रामीण क्षेत्र मा सेवामा अवारेध आउँदा सेवाग्रहीहरु निराश हुनुपरेको छ ।

हाल यस्तै अवस्था छ कालिकोट जिल्लाका केही स्थानीय तहहरुको । पछिल्लो ५÷६ बर्षदेखि सेवाप्रदायकहरुले नेपालका दुर्गम क्षेत्रहरुमा टावर निर्माण गर्दै त्यहाँका स्थानीयलाई दूरसंचार सेवा उपलब्ध गराईरहेका छन् । तर बेलाबेलामा प्राविधिक समस्याका कारण भनेको जस्तो सेवा नपाईने समस्या विदितै रहेको स्थानीयहरु बताउँछन् ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिकामा हाल यस्तै समस्या जटिल बन्दै गएको छ । केही बर्षअघि सौर्य उर्जाको भरमा ठड्याईएका टावरहरुमा बेलाबेलामा समस्या आउँदा स्थानीयवासीले मोबाईलको घण्टी बज्न घाम लाग्ने समयसम्म कुर्नुपर्ने बाध्यता छ । टावरमा जडित सौर्य उर्जाका ब्याकअप ब्याट्रीहरुले चार्ज संचित गर्न नसक्दा घाम नलागेको बेलामा टावर संचालन हुँदैनन र स्थानीयको मोबाईल बज्न पाउँदैन ।

तर, घाम लागेको बेला भने टावर संचालन भएपनि घाम डुबेपछि देखि भोली बिहान घाम नलागुन्जेलसम्म टावर संचालन नहुने स्थानीयहरु बताउँछन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा अवस्थित पोदमारा जलविद्युत आयोजनामा निम्तिएको समस्याका कारण भने सान्नी त्रिवेणी क्षेत्रमा टावर संचालन हुन सकेको छैन ।

यसरी पछिल्लो ६ महिनादेखि कालिकोटका प्राय स्थानीय तहहरु मोबाईल नेटवर्कका कारण प्रभावित बनेका छन् जसको एकमात्रै कारण हो उचित व्यवस्थापनको कमी भएको स्थानीय बताउँछन् । सौर्य उर्जाबाट संचालित टावरहरुमा समयमै नयाँ ब्याकअप ब्याट्री परिवर्तन गर्न नसक्नु नै कमजोरी भएको स्थानीय बताउँछन् ।

नेपाल टेलिकमले देसभर चौथो पुस्ताको फोरजी सेवा पुर्याइसकेको घोषणा गरेपनि विभिन्न स्थानीय तहरुहरुमा भने टुजी सेवा पनि चल्न मुश्किल पर्ने गरेको छ । फोरजी जडित टावरमा समेत उर्जाको अभावका कारण स्थानीयले न भनेको बेलामा ईन्टरनेट चलाउन पाउँछन् न त भ्वाईस कल नै ।

प्रतिक्रिया दिनुहोस्
MBL