Logo

वास्तविकतामा किन मिल्दैन नेपाल टेलिकमको फोरजी ग्राहकको संख्या प्राधिकरणको प्रतिबेदनमा ?, यस्तो छ कारण

वास्तविकतामा किन मिल्दैन नेपाल टेलिकमको फोरजी ग्राहकको संख्या प्राधिकरणको प्रतिबेदनमा ?, यस्तो छ कारण



काठमाडौं । नेपाल टेलिकमले पछिल्लो ८ महिनादेखि आफ्ना फोरजी ग्राहकको संख्या लुकाउँदै आएको छ । गत चैतमा आफ्नो १६ औं बार्षिकोत्सवमा टेलिकमले ७७ ओटै जिल्लामा आफ्नो फोरजी सेवा पुर्याएको घोषणा गरेको थियो । तर, त्यसबेला टेलिकम स्रोतले फोरजी ग्राहको संख्या ३० लाख पुगिसकेको बताएपनि नेपाल दूरसंचार प्राधिकरणले जारी गर्ने एमआईएस रिपोर्टमा भने फोरजी ग्राहकको संख्या ७ लाख मात्रै देखाईएको थियो ।

यसरी पछिल्लो ८ महिनादेखि विभिन्न ३ पटक बिजखबरले फोरजीकै बारेमा समाचार लेख्दा नेपाल टेलिकमले बताएको र प्राधिकरणको एमआईएस रिपोर्टमा देखिने ग्राहकको संख्यामा फरक परेको देखिएको छ । यसको बारेमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी टेलिकमका कर्मचारीले प्राधिकरणमा डाटा दिँदा फरक परेको हुनसक्ने बताउँछन् ।

गत महिनामात्रै प्रवन्ध निर्देशक अधिकारीले आफ्नो फोरजीको ग्राहकसंख्या ५८ लाख पुगेको दाबी गरेका थिए । उनले सो दाबी गरिरहँदा प्राधिकरणबाट प्रकाशित हुने एमआईएस रिपोर्टमा साउन महिनाको फोरजीको ग्राहक सँख्या वास्तविकता आउने बताएका थिए । तर प्राधिकरणले केही दिनअघि सार्वजनिक गरेको साउन महिनाको एमआईएस रिपोर्टमा पनि नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या जम्मा १५ लाख ५१ हजार मात्रै उल्लेख छ ।

तर नेपाल टेलिकमको आफ्नै एमआईएस रिपोर्टमा भने साउन महिनाको अन्तिममसम्म टेलिकमका फोरजी ग्राहकको संख्या करिव ६८ लाख जना पुगिसकेको प्रवक्ता राजेश जोसी बताउँछन् ।
यसरी गत बर्षको माघ महिनादेखि हालसम्म नेपाल टेलिकमले आफ्ना फोरजी ग्राहकको संख्या ६८ लाख पुर्याउँदा नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकमा भने १५ लाख मात्रै हुनु टेलिकमका कर्मचारीकै गल्ती भएको प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

‘हाम्रा कर्मचारी साथीहरुले अघिल्ला महिनाहरुमा फोरजी ग्राहकको संख्या कम्पाइल नगरी प्राधिकरणमा बुझाउँदा वास्तविक ग्राहकको संख्या प्राधिकरणको तथ्यांकमा नदेखिएको हो’, उनले भने, ‘तर अबका दिनमा वास्तविक तथ्यांक नै प्राधिकरणका एमआईएस रिपोर्टमा हेर्न पाईनेछ ।’

टेलिकमले सबैभन्दा पहिले नै नेपालमा फोरजी सेवाको सुरुवात गरेको भएपनि हालसम्म पनि नेपालभर फोरजी सेवा पुर्याउन नसकेको आरोप लाग्दै आएको थियो । तर, विभिन्न सरकारी अड्चन, अख्तियारलगायतका कारणले फोरजी सेवाको विस्तारमा समस्या भईरहेको थियो । विस २०७५ साल माघमा टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्नका लागि विभिन्न ३ ओटा सम्झौता गरेको थियो ।

यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए । कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको थियो । तर भनेबमोजिम काम हुन नसक्दा हाल अझै फोरजी विस्तारको ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL