Logo

यस कारण घट्यो टेलिकमको आम्दानी र नाफा, चालु आवमा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण

यस कारण घट्यो टेलिकमको आम्दानी र नाफा, चालु आवमा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण



काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा नेपाल टेलिकमको आम्दानी तथा मुनाफा अघिल्लो बर्षको तुलनामा घटेको छ । टेलिकमले भने ग्राहकहरुको रुपान्तरण, ओटीटी सेवामा वृद्धि लगायतका कारणले आम्दानी तथा मुनाफा घटेको जानकारी दिएको छ ।

कम्पनीले १ महिना अघि मात्रै प्रकाशित गरेको वित्तीय विवरणको स्पष्टिकरणसहित विभिन्न कारणले आम्दानी तथा मुनाफा घटेको जानकारी दिएको हो । तारसहितको टेलिफोन सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आएको टेलिकमले जानकारी दिएको छ ।

तारसहितको ब्रोडव्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएको छ । आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको टेलिकमले जानकारी दिएको छ ।

साथै नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने टेलिकमले जानकारी दिएको छ । उक्त प्रविधिको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको टेलिकमको भनाई छ ।

उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरण बापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम २० अर्ब रुपैयाँ मध्ये पहिलो किस्ताको ४ अर्ब रुपैयाँको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको टेलिकमको स्पष्टिकरण छ ।

त्यसैगरि इन्टरनेट प्रविधिमा आधारित ओटीटी जस्तै भाईबर, ह्वाट्सएप, मेसेन्जर लगायतका सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दुरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइस तर्फको आम्दानीमा नकारात्मक असर परेको छ ।

संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वभाविक हो । यस परिप्रेक्ष्यमा संसारका अन्य सेवा प्रदायकहरुले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरुको विकास र विस्तार मार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्ने तर्फ कम्पनी निरन्तर प्रयासरत रहेको टेलिकमको बुझाई छ ।

आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाइने टेलिकमले जानकारी दिएको छ । उक्त प्रयासहरूको फलस्वरूप भविष्यमा सो कमीलाई पूर्ति गर्दै परम्परागत अन्तर्राष्ट्रिय कलको भ्वाइस तर्फको राजस्वमा निर्भरता कम गर्दै लगिने समेत टेलिकमले बताएको छ ।

अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीव ४ अर्बले रुपैयाँले बढेको छ । यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटिटिएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्नेछ ।

फोरजी सेवाको देशैभर विस्तार गर्ने कार्यक्रम अनुसार सञ्चालित परियोजनामध्ये हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भैसकेको छ । यस्तै रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको छ टेलिकमले चाँडै देशभर फोरजी सेवाको व्यावसायिक सञ्चालन गर्ने योजना अनुरुप कार्यहरू अगाडि बढाईरहेको छ ।

कम्पनीले आफ्नो मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम रहेको जानकारी दिएको छ । कम्पनीले गत आर्थिक वर्षको शुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्धति अनुसार स्वभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए तापनि सेवाको विक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको छ । सोबाट पनि समग्र राजस्वमा केही असर परेको छ । कर बढ्दा पनि विक्री मूल्य नबढाई कम्पनीले सुपथ मूल्यमा सेवा दिने आफ्नो प्रतिवद्धता पुनः प्रष्ट्याएको छ ।

कम्पनीले वित्तीय स्वास्थ्यलाई थप सुधार गर्न ताररहित तथा तारसहित सेवाहरुको आमूल रूपान्तरण सहितको विस्तार लगायतका कार्यक्रमहरू मार्फत प्रति ग्राहक राजस्व वृद्धि समेतका प्रयासहरू शुरू भैसकेको जानकारी दिएको छ ।

सोही प्रयास स्वरूप गत आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १ सय २१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले तथा सक्रिय प्रयोगकर्ता संख्या १० प्रतिशतले वृद्धि भएको छ । यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरू मार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको छ । सो अनुरुप कम्पनीले चालू आर्थिक वर्षभित्र करीब १० प्रतिशतको आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको छ । आम्दानी वृद्धिका अतिरिक्त कम्पनीले हरेक वर्ष आफ्नो गैरसञ्चालन खर्च कटौति गर्दै लैजानको लागि पनि विभिन्न उपायहरू अवलम्बन गरेको छ ।

राजस्व वृद्धि तथा खर्च नियन्त्रणका उक्त प्रयासहरू मार्फत कम्पनीको समग्र आम्दानी वृद्धि गरी समग्र वित्तीय अवस्थालाई अझ उकास्न तथा लगानीकर्ताहरूको लगानीको प्रतिफल सुनिश्चित गर्न लागिपरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL