Logo

मुस्ताङको विकट स्थानमा टेलिकमको मोबाईल सेवा, १ सय ५० घरधुरी लाभान्वित

मुस्ताङको विकट स्थानमा टेलिकमको मोबाईल सेवा, १ सय ५० घरधुरी लाभान्वित



काठमाडौं । नेपाल टेलिकमले मुस्ताङको अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा आफ्नो जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।
टेलिकमले सोमबार एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा उक्त साइट सञ्चालनमा ल्याएको हो ।

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पु¥याइएको टेलिकमले जानकारी दिएको छ । । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् ।

उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको टेलिकमले जनाएको छ । अब सो क्षेत्रका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याईएको टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL