Logo

एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ नियुक्त, सम्हाले कार्यभार

एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा जाब्बोर कायुमोभ नियुक्त, सम्हाले कार्यभार



काठमाडौं । एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् ।

एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन् । यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्नेछन् ।

जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ ।

एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए ।

‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु, उनले एनसेलमा कार्यभार सम्हाल्दै भने, ‘टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछु ।’ उनले १ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित भएको बताए । उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL