Logo

टेलिकमलाई नियामकको प्रश्न–प्रतिस्पर्धीभन्दा धेरै फ्रिक्वेन्सी छ तर रेभिन्यु किन कम ?

टेलिकमलाई नियामकको प्रश्न–प्रतिस्पर्धीभन्दा धेरै फ्रिक्वेन्सी छ तर रेभिन्यु किन कम ?



काठमाडौं । नेपाल टेलिकमको १९ औं बार्षिकोत्सवमा नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले धेरै प्रश्नहरु उठाएको छ । आईतबार टेलिकमको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रश्नहरु तेस्र्याएका हुन् ।

कार्यक्रममा बोल्दै उनले सबैभन्दा पहिले त टेलिकमको राजस्व उठौतिमा प्रश्न उठाए । दूरसंचार क्षेत्रका अन्य प्रतिश्पर्धिको तुलनामा धेरै फ्रिक्वेन्सी, ग्राहकलगायत भएपनि राजस्व कम उठ्नु पछाडीको कारण उनले मागेका थिए । उनका अनुसार पछिल्लो समय नेपाल टेलिकमको आम्दानीमा लगातार गिरावट आउनुमा गुणस्तरिय सेवाको कमी प्रमुख कारण थियो ।

उनले सोही कार्यक्रममा पछिल्लो समय उपभोक्ताहरुबाट भनेबमोजिम गुणस्तर नपाएको, सेवाहरु अवरुद्ध भएकोलगायतका गुनासाहरु आईरहेको उल्लेख गरेका छन् । यी सबै कमजोरीको कारण पनि उनले कार्यक्रममा मागेका थिए । केहिदिन अघि मात्रै नेपाल टेलिकमको सेवा केहि घण्टा अवरुद्ध भएको कुरालाई जोड्दै उनले, सेवा अवरुद्ध भएको समयको जरिवाना दिनुपर्ने संकेत गरेका छन् ।

प्राधिकरणका अध्यक्ष खनालले टेलिकमले आन्तरिक रुपमा मात्रै कर्मचारीहरुबीच परिक्षण गर्न लागेको फाईभजीमा पनि प्रश्न उठाएका थिए । ‘हामीले नेपालभरका ४ सहरमा र कम्तिमा काठमाडौं रिङरोडभित्र फाइभजी परिक्षण गर्नेगरी फ्रिक्वेन्सी दिएका थियौं,’ कार्यक्रममा उनले भने,‘तर यहाँ त कर्मचारीका लागि मात्रै प्राविधिक परिक्षण गर्ने भनिएको छ किन यस्तो भयो ?’
उनले फोरजीका बिषयमा पनि कुरा उठाउँदै, नेपालभर फोरजी विस्तार भएको भनिएपनि काठमाडौंको रिङरोडभित्रै राम्रोसँग फोरजी नचल्ने भएपछि टेलिकमकै सेवा लिईराख्नुको तुक नभएको बताएका छन् ।

उनले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तार सुस्त भएको, ठेकेदारलाई काम लगाउन नसकेको, धेरै प्रश्नको जवाफ नदिएको, आम्दानीको स्रोतअनुसार सिफ्ट हुन नसकेकोलगायतका गुनासा पनि बार्षिकोत्सवकै अवसरमा पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL