Logo

नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेट डेक्सको निर्माता भक्सक्रोको ५ वर्ष पूरा

नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेट डेक्सको निर्माता भक्सक्रोको ५ वर्ष पूरा



काठमाडौँ । नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी ‘भक्सक्रो’ ले स्थापनाको ५ वर्ष पूरा गरेको छ । ५ वर्षको अवधिमा ८५ भन्दा बढी कम्पनी एवम् संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत सेवा लिँदै आएका छन् । सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ । कुनै कम्पनीमा दैनिक सयौं फोनकल आइरहेको हुन्छ । सेवाग्राहीसँग प्रत्यक्ष जोडिने त्यस्ता कम्पनीहरूमा एकैपटक धेरै फोनकल आउँदा कहिलेकाहीँ त त्यसको व्यवस्थापन गर्न कम्पनीलाई हम्मेहम्मे पर्छ ।

यसको व्यवस्थापनका लागि कम्पनीहरूले सयौं जनशक्ति राख्ने गरेका छन् । तर फोन नउठेर वा समयमै सम्बोधन नभएको भन्ने गुनासो पनि कम्पनीहरूले उत्तिकै सुन्दै आउनुपरेको हुन्छ । तर पछिल्लो समय भक्सक्रोले नयाँ प्रणाली सञ्चालनमा ल्याएसँगै कम्पनीहरूको फोन–कल व्यवस्थापनको झण्झट समाधान हुन थालेको कम्पनीको भनाइ छ ।
भोक्सक्रो ५ वर्षअघि सन् २०१८ मा सुरु भएको आवाजमा आधारित सेवा प्रदायक कम्पनी हो । यसले गेटडेस्क नामक कल सेन्टर सफ्टवेयर सञ्चालनमा ल्याएसँगै धेरै फोनकल आउने यस्ता कम्पनीहरूको झण्झट समाधान भएको कम्पनीको दाबी छ ।

अझै गेटडेक्स कल सेन्टरको प्रयायवाची जस्तै बनेको भक्सक्रोले जनाएको छ । कल सेन्टर व्यवस्थापनका लागि ‘गेटडेस्क’ प्रविधि अपनाउने कम्पनी तथा कर्पोरेट हाउसहरूको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । धेरै फोन कल व्यवस्थापनको झन्झटलाई यसको प्रयोगमार्फत विभिन्न कम्पनी तथा संस्थाहरूले सरलीकृत गर्दै गइरहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशान्त राईका अनुसार पछिल्लो समय फोनपे, बुद्ध एयर, नर्भिक अस्पताल, तिलगंगा आँखा केन्द्र, केयर नेपाल, फूडमान्डु, भोज, एरामेक्स, गरिमा विकास बैङ्क, शाङ्ग्रिला विकास बैङ्क, मोको वालेट, सिटी एक्सप्रेस, सिप्रदी, सिजी होल्डिङ, बिज बजार, पठाओ नेपालका साथै गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग लगायत ८५ भन्दा बढी कम्पनी एवम् संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत ग्राहक सेवा केन्द्र व्यवस्थापनको सेवा लिँदै आएका छन् ।

गेट डेस्कको प्रयोगले व्यक्तिगत गोपनीयताको संरक्षण गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ । कम्पनीले त्यस्ता कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ४० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । हाल गेटडेस्कलाई आधारभूत र व्यवसायिक संस्करण मा वर्गीकृत गरि उपलब्ध गराइएको छ । कम्पनीका अनुसार, सेट अपपछि प्रति प्रयोगकर्ता मासिक ४ हजार वा ५ हजारमै गेट डेस्कको सेवा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL