Logo

एउटै व्यक्तिले १ दर्जन सिम चलाउँदा तथ्याङ्कमा जनताभन्दा बढीमा पुग्यो टेलिफोन सेवा, दुर्गमका जनता अझै पहुँच बाहिर

एउटै व्यक्तिले १ दर्जन सिम चलाउँदा तथ्याङ्कमा जनताभन्दा बढीमा पुग्यो टेलिफोन सेवा, दुर्गमका जनता अझै पहुँच बाहिर



काठमाडौं । ५ देखि ६ बर्ष अघि मात्रै नेपालका ठुला शहरबाहेकका स्थानमा टेलिफोन सेवाका बारेमा राम्रो जानकारीसम्म थिएन । अझै पनि कतिपय स्थानमा टेलिफोन गर्न रुखमा, अग्लो स्थानमा चढ्नुपर्ने समस्याहरु यथावतै छन् । तर दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण भने टेलिफोन सेवा १ सय ३१ प्रतिशत जनताको पहुँचमा पुगिसकेको बताउँछ ।

laxmi

प्राधिकरणका अनुसार गत बैशाख मसान्तसम्म ३ करोड ९६ लाख १२ हजार २ सय ६७ जनासम्म टेलिफोन सेवाको पहुँच पुगिसकेको छ । जसमा सबैभन्दा बढि हिस्सा नेपाल टेलिकमको छ । जबकि नेपालको जनसंख्या ३ करोड मात्रै रहेको छ । यहि तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालको जनसंख्याभन्दा १३१ प्रतिशत बढिले टेलिफोन सेवा उपयोग गर्दै आएका छन् । तर वास्तविकतामा हेर्दा दुर्गमका कतिपय स्थानमा टेलिफोन सेवाको पहुँच नै पुगेको छैन ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमले मात्रै हालसम्म २ करोड ७ लाख ८१ हजार जनासम्म आफ्नो टेलिफोन सेवा पुर्याइसकेको छ । यस्तै निजी कम्पनी एनसेलले पनि हालसम्म १ करोड ६४ लाख ९६ हजार जनासम्म आफ्नो टेलिफोन सेवा पुर्याईसकेको छ ।

टेलिफोन सेवा प्रदायकले बढि भन्दा बढि जनतामा मोवाईल सेवा पुर्याएको देखाएपनि वास्तविकतामा एउटै व्यक्तिले एक दर्जनभन्दा बढि सिमकार्ड प्रयोग गरेका कारण उक्त तथ्याङ्क देखिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले एउटै व्यक्तिले एनसेलको १ दर्जनभन्दा बढि सिमकार्ड लिएर प्रयोग विहिन बनाएर फालेका छन् भने एनटीसीको पनि एउटै व्यक्तिले २।४ ओटा सिम होल्ड गरेर बसेका छन्,’ सम्बद्ध सरोकारवालाहरु बताउँछन्, ‘तर सेवा प्रदायकले प्रयोगको आधारमा भन्दा पनि सिमकार्ड वितरण गरेको आधारमा सेवा विस्तारको तथ्याङ्क देखाउँदै आएका छन्, जुन गलत हो ।’

प्राधिकरण भने भने लगातार बढिरहेको डिजिटलाइजेसन र यसले निम्त्याएको प्रविधिको उच्चतम प्रयोगले हरेक नेपालीको हातमा टेलिफोन सेवा पुग्नु स्वभाविकै पनि रहेको बताउँदै आएको छ। तर प्राधिकरणको तथ्यांकमा जनसंख्याभन्दा बढिमा टेलिफोनको पहुँच पुग्नु भनेको सिम वितरणको संख्या मात्रै भएको समेत रहेको प्राधिकरणका एक अधिकारीले बताए। उनका अनुसार कतिपय सिमकार्डहरु एकै जनाले धेरै लिएका र त्यस्तो तथ्याङक समेत प्राधिकरणमा आउने गरेकाले जनसंख्या भन्दा बढिमा मोवाईल सेवा पुगेको देखिएको हो ।

प्राधिकरणले हाल सेवाको पहुँचमा रहेका जनसंख्यालाई सन २०११ देखि २०३१ सम्मको प्रोजेक्सनका आधारमा तुलना गर्ने गर्दछ । उक्त प्रोजेक्शन अनुसार हाल नेपालको जनसंख्या ३ करोड २ लाख २९ हजार ९ सय ६६ अनुमान गरिएको छ । सोही जनसंख्याका आधारमा जनसंख्याभन्दा बढि सिमकार्ड वितरण भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमलगायतका दूरसंचार सेवाप्रदायकहरुले आफ्नो सेवा विस्तार गर्नका लागि सिमकार्ड वितरणलाई तिव्रता दिँदै आएका छन् । सोही अनुसार कतिपय सेवाग्राहीले ४ ओटासम्म पनि सिम लिने गरेका कारण जनसंख्याभन्दा बढिको पहुँचमा टेलिफोन सेवा पुगेको बताईन्छ ।

तर यसको सही तथ्यांकमात्रै उपलब्ध गराउने भन्दै एक्टिभ सब्स्क्राईबको तथ्यांक पठाउन सेवाप्रदायकलाई भनेको छ । सोही अनुसार सेवाप्रदायकले आफ्ना एक्टिभ सब्सक्राईबरको तथ्यांक मात्रै राखेर निष्क्रिय भएका सिमकार्डको तथ्याँक समेत हटाएका थिए । त्यसपछि पनि जनसंख्याभन्दा बढि नै सिम वितरण भएको देखिन्छ । यसको प्रमुख कारण नै एक व्यक्तिले २ वा २ भन्दा बढि सिमकार्डको प्रयोग गर्नु रहेको प्राधिकरणको ठहर छ ।

यस्तै बैशाख मसान्तसम्म नेपालमा ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच भने ९० दशमलव ५६ प्रतिशत जनतासम्म पुगिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार २ करोड ७३ लाख ७५ हजार २ सय ९२ जना जनताको पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा ठुलो हिस्सा मोबाइल ब्रोडब्याण्डको रहेको छ । नेपालभरी मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या मात्रै करिव २ करोड छ । यस्तै यसमा अन्य इन्टरनेट सेवाप्रदायकहरुले पनि उत्तिकै भुमिका खेलेको देखिन्छ । सरकारले नेपाललाई डिजिटल नेपालमा रुपमान्तरण गर्ने अभियान चलाएपनि पछिल्लो समय इन्टरेटको पहुँचमा पनि विस्तारै विस्तार हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL