Logo

१ बर्षमा ४९ लाख ६८ हजारले बढे ब्रोडब्याण्ड इन्टरनेट चलाउने, फोरजीका प्रयोगकर्ता कति ?

१ बर्षमा ४९ लाख ६८ हजारले बढे ब्रोडब्याण्ड इन्टरनेट चलाउने, फोरजीका प्रयोगकर्ता कति ?



काठमाडौं । पछिल्लो १ बर्षमा नेपालमा ब्रोडब्याण्ड सेवाका प्रयोगकर्ता साढे ४९ लाख बढिले बढेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांक अनुसार गत बर्षको २०७६ सालको चैत देखि २०७७ को चैतसम्ममा ब्रोडब्याण्ड इन्टरनेट सेवाका प्रयोगकर्ता ४९ लाख ६८ हजार ६ सय ५३ जनाले बढेको पाईएको हो । प्राधिकरणको एमआईएस रिपोर्टअनुसार गत बर्षको चैतमा २ करोड १९ लाख १४ हजार ६८ जना रहेका यसका प्रयोगकर्ता गत चैतसम्म बढेर २ करोड ६८ लाख ८२ हजार जना पुगेका हुन् ।

यस अवधिमा नेपाल टेलिकमले मात्रै आफ्नो सेवाका प्रयोगकर्ता २८ लाख ४५ हजारले बढाएको छ । गत अघिल्लो बर्षको चैतमा १ करोड ६ लाख ७७ हजार जना पुगेका टेलिकमको ब्रोडब्याण्ड सेवाका प्रयोगकर्ता गत चैतमा बढेर १ करोड ३५ लाख २३ हजार जना पुगेका हुन । यस अवधिमा टेलिकमले सबैभन्दा बढि फोरजीका प्रयोगकर्ता बढाएको छ । प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो बर्षको चैतमा ८ लाख ४३ हजार जना रहेका फोरजीका प्रयोगकर्ता गत चैतसम्म पुग्दा २६ लाख ३६ हजार जना पुगेका हुन् । यस्तै यस अवधिमा थ्रिजी सेवाका प्रयोगकर्ता पनि ७ लाख ८५ हजारले बढेका छन् । नेपाल टेलिकमको थ्रिजी सेवाका प्रयोगकर्ता गत चैतसम्म ९३ लाख ३५ हजार पुगेका छन् ।

यता अर्काे दूरसंचार सेवाप्रदायक एनसेलले भने आफ्नो ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ७४ लाख ४२ हजार २४० पुगेका छन् । एनसेलले मोबाईल ब्रोडब्याण्डमार्फत मात्रै सेवा दिने हुनाले यसका प्रयोगकर्ता पनि कमै छन् । तर कम्पनीले पछिल्लो १ बर्षमा आफ्नो ब्रोडब्याण्ड सेवाका प्रयोगकर्ता भने ७ लाख १ हजार ९० जना बढाएको छ ।

यस अवधिमा कम्पनीले पुरानो प्रविधि थ्रिजीमा आधारित ग्राहकहरुलाई फोरजीमा रुपान्तरण गर्ने कार्य भने तिब्र रुपमा गरेको छ । जसका कारण एक बर्षमा कम्पनीको फोरजी प्रयोगकर्ताको संख्या मात्रै १२ लाख बढिले बढेर ५० लाख १७ हजार पुगेको छ । यस्तै इन्टरनेट सेवाप्रदायकहरुले उपलब्ध गराउने ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताका संख्या पछिल्लो १ बर्षमा १४ लाख ५३ हजारले बढेर ५६ लाख ९९ हजार जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL