Logo

सहजकर्ता बन्नुपर्ने बीमा अभिकर्ता बिचौलिया बन्दै, समग्र अभिकर्तामाथि नै अविश्वासको वातावरण

सहजकर्ता बन्नुपर्ने बीमा अभिकर्ता बिचौलिया बन्दै, समग्र अभिकर्तामाथि नै अविश्वासको वातावरण



काठमाडौं । बीमा अभिकर्ता बीमित र बीमकका बीचमा मध्यस्तकर्ताका रुपमा रही काम गर्ने व्यक्ति हो । अर्थात बीमा अभिकर्ता बीमक र बिमितबीचको पुलको काम गर्ने सहजकर्ता हो । अभिकर्ताले बीमा कम्पनीबाट तलव नलिई बीमितको बीमा गरेवापत निश्चित कमिशनका आधारमा बीमकको तर्फबाट बीमितसमक्ष गई बीमा प्रर्वद्र्धन कार्य गर्ने गर्दछ ।

तर, पछिल्लो समय केही बीमा अभिकर्ताहरुले बिचौलियाको भूमिका निर्वाह गर्दा समग्र बीमा अभिकर्ताहरुमाथि अविश्वासको वातावरण बन्दै गएको छ । बीमा अभिकर्ता विचौलियाको जस्तो व्यवहार गरेर व्यक्तिको घरसम्मै धाउने गरेका छन् । बीमा ऐनविपरित पछिल्लो समय अभिकर्ताहरु घरघरमै गएर जवर्जस्ती बीमा गराउन लागिपरेका छन् ।


बीमा ऐन २०४९ मा अभिकर्ताले बीमा गर्न इच्छुक जनतालाईमात्रै बीमा गराउने उल्लेख छ । तर बीमा अभिकर्ताहरु जनताको घरैमा गई बीमा गर्न बाध्य तुल्याउनाले बीमीत मर्कामा पर्ने गरेका छन् ।

जसको उदाहरण हुन काठमाडौंको टोखा निवासी लक्ष्मीनारायण शाक्य । उनलाई केहीदिन अघि एक अभिकर्ताले घरमै आएर बीमा गर्न विभिन्न प्रलोभन देखाए । उनले ५ लाख रुपैयाँको बीमाको सबै हिसाव गर्दा बार्षिक ४४ हजार रुपैयाँ तिर्नुपर्ने देखियो । तर, कम आम्दानी भएका उनलाई बीमा गर्न धेरै प्रलोभन देखाईयो । त्यतिमात्रै नभएर उनलाई धेरैचोटी फोनमार्फत पनि बीमा गर्ने वा नगर्ने भनेर सोधियो पनि । ‘मलाई बीमा गराउन हदैसम्मको तनाव दिईयो,’ उनले भने, ‘तर मैले गरिन ।’ धेरैले आफन्त, साथीभाई जस्ता नजिकका व्यक्ति अभिकर्ता बनेर आफुहरुलाई बीमा गर्न बाध्य बनाउने गरेको गुनासो सुनिन्छ ।

बीमा अभिकर्ता बन्नका लागि यो पढेको वा यति नै शैक्षिक उपाधि हासिल गरेको हुनु पर्छ भन्ने छैन् । तरपनि बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्ने बीमा ऐन २०४९ मा व्यवस्था गरिएको छ ।

तर, यसरी सानै पढाईको तहका मान्छेलाई अभिकर्ताको अनुमति दिँदा पैसाकै लागि मात्रै बीमा गराउन बाध्य तुल्याउने प्रचलन बढेको छ । बीमा ऐनअनुसार बीमा समितिबाट अनुमति लिएर अभिकर्ता बन्न पाईने व्यवस्था छ । तर। एउटा अभिकर्ताले नै अर्को मान्छेलाई अभिकर्ताको अनुमति दिने प्रचलनसमेत रहेका एक अभिकर्ताले बिजखबरलाई जानकारी दिए । बीमा अभिकर्ता बन्नका लागि बीमा सम्बन्धि आवश्यक तालिम प्राप्त व्यक्तिको आवश्यक पर्दछ ।

यस्तो तालिम बीमा समिति वा सम्बन्धित बिमकले सञ्चालन गर्दछन् । तर हाल विभिन्न स्थानमा परिचालित बीमा अभिकर्ताले तालिमसमेत नलिएको उनले बताए ।

धेरैले पार्टटाईमका रुपमा अभिकर्ताको काम गरेर आफ्ना आफन्त तथा छिमेकीलाई फोनमार्फत नै बीमा गर्न अनुरोध गर्ने गरेका छन् । अझ कतिपयले न कुनै तालिम लिएका छन् न बीमा समितिबाट अनुमति ।

बीमा कम्पनिको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दाबी भुक्तानिको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नुपर्ने हुन्छ ।

नेपालमा हाल १९ ओटा जीबन बीमा, २० ओटा निर्जीबन बीमा र एउटा पुनर्बीमा कम्पनी रहेका छन् । गत बर्ष दोस्रो त्रैमाससम्ममा जिबन र निर्जीबन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन अन्तर्गत मात्रै साढे ५ अर्ब बढी खर्च गरेका थिए । हाल देशभर सबै बीमा कम्पनीका २ हजार ७ सय बढी शाखा कार्यालयहरु संचालित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL