Logo

आइतबारै गएको थियो मन्त्रिपरिषदमा कुलमानलाई पुनर्नियुक्ति गर्ने एकल प्रस्ताव, तर यसकारण भएन अन्तिममा निर्णय ?

आइतबारै गएको थियो मन्त्रिपरिषदमा कुलमानलाई पुनर्नियुक्ति गर्ने एकल प्रस्ताव, तर यसकारण भएन अन्तिममा निर्णय ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल भदौं २८ (आइतबार) मा सकिदैं थियो । आफ्नो नियुक्ति पछि घिसिङले प्राधिकरणमा गरेको व्यवस्थापकीय सुधार तथा बिजुली व्यवस्थापनमा गरेको मिहिनेतले उनको कार्यकालको २ वर्षमै लोडसेडिङ पूर्णरुपमा अन्त्य भयो । त्यसअघि जनता दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोगिरहेका थिए । प्राधिकरणप्रति आम जनता निकै आक्रोशित थिए । तर, घिसिङको नेतृत्वमा प्राधिकरणले केही वर्षमै अभूतपूर्व सफलता हासिल गरेको थियो ।

laxmi

केही वर्षअघिसम्म घाटाका कारण खारेज गर्नुपर्छ भन्ने माग उठिरहेको प्राधिकरण कुलमानको नेतृत्वमा चार वर्षमै सरकारी संस्थाहरुमा सबैभन्दा बढी नाफा कमाउने संस्थाका रुपमा खडा भएको थियो । जनता पनि २४ सै घण्टा बिजुली बाल्न पाएर कुलमानको जयजकार गरिरहेका थिए । प्राधिकरणले वाहवाही कमाएको थियो । यी कारणहरुले प्राधिकरणमा कुलमानको कार्यकाल थप हुनुपर्छ भन्ने आम आवाज उनको कार्यकाल सकिदैछ भन्ने समाचारहरु बजारमा आएसँगै उठन थालेको थियो ।

देशभर जनतासँगै कलाकार, उद्योगी, व्यवसायी तथा राजनीतिक वृत्तले समेत कुलमान निर्विकल्प भएको भन्दै प्राधिकरणलाई थप बलियो र सफल बनाउन कुलमानलाई अर्को कार्यकाल पुनर्नियुक्ति दिनुपर्छ भनेर दबाब सृजना गरेको थियो । कुलमानको लोकप्रियता उनको पक्षमा सामाजिक सञ्जालमा देखिएको लविङ र दबाबले पनि पुष्टि गरिरहेको छ । उनी आफै पनि प्राधिकरणमा थप एक कार्यकाल रहेर आफुले शुरु गरेका र गर्नुपर्ने कामलाई टुंगोमा पुर्याउन चाहन्थे । जसले प्राधिकरणलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको थियो ।

यसरी सबै हिसाबले हेर्दा प्राधिकरणमा निर्विकल्प रहेका कुलमानको पुनर्नियुक्तिमा किन र कसले बखेडा झिक्यो भन्ने अहिले आम जिज्ञासा बनेको छ । प्राधिकरणको तालुकदार मन्त्रालय रहेका उर्जा मन्त्रालय स्रोतका अनुसार उर्जामन्त्री वर्षामान पुनपनि कुलमानकै पक्षमा रहेका थिए । जसका कारण कुलमानको पदावधि सकिनु दुई दिन अघि नै शुक्रबार मन्त्रालयले कुलमानको पुनर्नियुक्तिको फाइल तयार पारेको थियो । यस्तै सोमबार मन्त्रिपरिषद बैठक बस्ने निश्चित रहेकाले कुलमानको पुनर्नियुक्तिको फाइल आइतबारै मन्त्रिपरिषदमा पुगिसकेको थियो । तर, सोमबार मन्त्रिपरिषदमा कुलमान पुनर्नियुक्तिको प्रस्ताव नै नआएको बताइयो ।

उर्जामन्त्रीका प्रेस संयोजक दयानिधी भट्ट कुलमानको थप कार्यकाल पुनर्नियुक्तिको फाइल आइतबारै मन्त्रालयले पठाएको बताउँछन् । सोमबार मन्त्रिपरिषद बैठकमा सो प्रस्तावमा किन छलफल भएन भन्नेबारे आफुलाई जानकारी नभएको उनले बताए । ‘सोमबार मन्त्रिपरिषदको बैंठक बस्ने भएपछि ऊर्जा मन्त्रालयबाट कुलमानलाई पुनर्नियुक्तिका लागि एकल प्रस्ताव पठाइएको थियो,’ उनले भने, ‘तर सोमबार कुलमान नियुक्तिको विषय सोमबारको मन्त्रिपरिषदको विषय सूचीमै आएन ।’

यसले कुलमानको पुनर्नियुक्ति उर्जा मन्त्रालयले चाहेर पनि रोकिएको देखिन्छ । आखिर सबैले चाहेका कुलमानलाई किन प्राधिकरणमा पुनर्नियुक्ति दिइएन भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेपनि मुख्य कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहाकार टीम रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार रहेका विष्णु रिमाल र प्रेस संयोजक रहेका सूर्य थापाले जसरी पनि कुलमानलाई प्राधिकरणमा पुनर्नियुक्ति नदिने रणनीति बनाएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक थापाले त कुलमानले फेरि कार्यकारी निर्देशक बन्न चाहने हो भने प्रतिस्पर्धा गरेर आउनुपर्ने बताउँदै कुलमानको पुनर्नियुक्तिमा लविङ गरेका नेकपा प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत कडा जवाफ नै फर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL