Logo

महासंघको निर्वाचन मिति तोक्ने जिम्मा ६ सदस्यीय कमिटिलाई, १५ दिनभित्र मिति र मोडालिटी सहित प्रतिवेदन बुझाउने

महासंघको निर्वाचन मिति तोक्ने जिम्मा ६ सदस्यीय कमिटिलाई, १५ दिनभित्र मिति र मोडालिटी सहित प्रतिवेदन बुझाउने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ वार्षिक साधारणसभा तथा निर्वाचन मिति र मोडालिटी तय गर्न कमिटि गठन गरेको छ । यस हुने भनिएको महासंघ निर्वाचन स्थगित भएसँगै महासंघको आज बसेको केन्द्रिय कार्यसमिति बैंठकले महासंघको निर्वाचन मिति र मोडालिटी तय गर्न कमिटि गठन गरेको हो ।

महासंघको यहि साउन २६ र २७ गते हुने भनिएको निर्वाचन अध्यक्ष भवानी राणाले कोरोनाको कारण देखाउँदै स्थगित गरेसँगै उक्त निर्वाचन कहिले हुने भन्ने विषयमा थप अन्यौलता बढेको थियो ।

तर आज बसेको कार्य समिति बैंठकले तत्काल महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तथा मोडालिटी तयार गर्न समिति गठन गरेको छ । निर्वाचनको मिति र सञ्चालन मोडालिटी सम्बन्धमा १५ दिनभित्र सुझाव पेशगर्ने गरी ६ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एशोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

‘कोभिड १९ को महामारीले गर्दा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्पन्न गर्न महासंघले विशेष व्यवस्था गर्नुपर्ने भएको हुँदा प्रचलित कानून, महासंघको विधान र नेपाल सरकारले बनाएको कोभिड १९ सम्बन्धि नीति नियमहरुको पालना हुने गरी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन र साधारणसभा सम्पन्न गर्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ र एशोसिएटको तर्फबाट दुईदुईजना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको छ,’ उनले भने ।

समितिले १५ दिनभित्र साधारणसभा तथा निर्वाचनको मिति र सञ्चालन मोडालिटि तयार गरी पदाधिकारी समितिमा पेश गर्ने, र पदाधिकारी समितिले उक्त मोडालिटिलाई कार्यकारिणी समितिमा पेश गर्ने र त्यही मोडालिटी अनुसार नेपाल सरकारसँग अनुमतीका लागि पत्राचार गर्ने उनले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुने बताउँदै कोभिडको महामारी लामो समयसम्म रहिरहने संकेतहरु देखिएकाले अर्थतन्त्रलाई पनि चलायमान गराउनुपर्ने उनको राय थियो ।

२०७६ साल चैत्र मसान्त भित्र सम्पन्न हुनुपर्ने महासंघको ५४औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचन कोभिड १९ को महामारीका कारण अहिलेसम्म हुन सकेको छैन ।

सामान्यतः महासंघको साधारणसभा हरेक वर्षको चैत्र २८ र २९ गते हुने गर्दछ । कोभिडका कारण स्थगित साधारणसभा दोस्रोपठक २०७७ साल जेष्ठ ७ र ८ गतेलाई तोकिएको थियो । त्यससमयमा पनि लकडाउन निरन्तर रहेपछि महासंघले श्रावण २६ र २७ गतेलाई तेस्रोपटक साधारणसभाको मिति तोकेको थियो । तर, कोभिड १९ का संक्रमितको संख्या बढ्दै गएपछि गत श्रावण ८ गते बसेको पदाधिकारीको बैंठकले पुनः साधारणसभा तथा निर्वाचनलाई स्थगित गरेको छ ।

पदाधिकारी समितिले निर्वाचन र साधारणसभा सार्ने सम्बन्धमा गरेको निर्णयलाई लिएर महासंघभित्र विवाद उत्पन्न भएको थियो । विवादपछि उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित २२ जना कार्यकारिणी समिति सदस्यले कार्यकारिणी समितिको बैठक बोलाउन आह्वान गरेका थिए ।

महासंघको आगामी निर्वाचनका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दुबै वरिष्ठ उपाध्यक्षले पदाधिकारीमा आआफ्नो प्यानल समेत घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL