Logo

११ महिनामा इम्बोस्ड नम्बर प्लेटबाट १० अर्ब रुपैयाँ उठाउने सरकारी लक्ष्य, यसकारण असम्भव बन्दै

११ महिनामा इम्बोस्ड नम्बर प्लेटबाट १० अर्ब रुपैयाँ उठाउने सरकारी लक्ष्य, यसकारण असम्भव बन्दै



काठमाडौं । सरकारले ईम्बोस्ड नम्बर प्लेट जडानबाट १० अर्ब बढी रकम उठाउने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि निर्धारित समयावधि ११ महिना बाँकी रहँदा सरकारले पुनः सो सम्बन्धमा काम अघि बढाएको हो ।

सरकारले २०७३ जेठ १७ गते बंगलादेश र अमेरिकाको ज्वाईन्ट भेन्चर कम्पनी डेकाटुर टाईगरसँग सम्झौता गरेको थियो । ५ बर्षका २५ लाख सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरी बुट मोडलमा सम्झौता भएको थियो । सो सम्झौता अनुसार ठेक्का सकिन ११ महिना बाँकी रहेको छ ।

तर, सम्झौता भएको ४ बर्ष बढीसम्म समेत जम्मा ३ हजार ९ सय ४८ सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जोडिएको छ । सम्झौता भएकै समयमा सरकारले डेकाटुर टाईगर कम्पनीलाई ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । यस्तै सम्झौतामा काम नभएपनि उक्त कम्पनीले कुल रकमको ९५ प्रतिशत अर्थात ४ अर्ब ५४ करोड २ लाख रुपैयाँ लिन पाउनेछ ।

कम्पनीले २०७४ साल भदौदेखि सम्झौता अनूरुप सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । लगभग ६ महिनासम्म कम्पनीले प्रिन्ट मेशिन राखेर निजी तथा सरकारी गरी ३ हजार ९ सय ४६ सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गरेको थियो । तर, ईम्बोस्ड नम्बर प्लेट नेपालीमा हुनुपर्ने भन्दै सर्वाेच्चमा रिट परेपछि जडान गर्ने काम स्थगित भएको थियो ।

करिव २ बर्षसम्म विचाराधीन रहेको मुद्दा सर्वाेच्चले सल्टाएपछि केही दिनअघि मात्रै विभागले साउन १ गतेदेखि ईम्बोस्ड नम्बर प्लेट वितरण गर्नेगरी सूचना निकाल्यो । कम्पनीको सम्झौता टुंगिन १० महिना बाँकी रहँदा कम्पनीलाई दिईएको टार्गेट अर्थात २५ लाख सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य अन्यौलमा परेको बताईएको छ ।

सरकारले दिएको टार्गेट र कम्पनीले २०७४ सालको ६ महिनामा वितरण गरेको अनुपात हेर्ने हो भने कम्पनीले १० महिनामा २५ लाख सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्न नसक्ने प्रष्ट छ । यसका बिषमा यातायात व्यवस्था विभागले बाँकी कार्यका लागि कम्पनीको म्याद थप्ने वा के गर्ने अझै टुंगो लागेको समेत छैन ।

यातायात व्यवस्था विभागमा २०७५ को फागुनसम्म नेपालमा ३५ लाख ३९ हजार ५ सय १८ सवारीसाधनहरु दर्ता भएका छन् । त्यसमा पछिल्लो डेढ बर्षमा पनि सोही अनुसार थपिएका छन । जसमध्ये नेपालभर २६ लाख ३० हजार ओटा मोटरसाईकल, ४५ हजार बढी टेम्पो तथा अन्य सबै चारपाँग्रे तथा विद्युतिय सवारीसाधन छन् ।

यदि सरकारले सबै सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गरेमा झण्डै १० अर्ब बढी राजस्व उठाउन सक्नेछ । हाल यातायात व्यवस्था विभागले ईम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि २ पाँग्रे सवारीसाधनको २ हजार ५ सय, ३ पाँग्रेको २ हजार ९ सय, ४ पाँग्रे सानोको ३ हजार २ सय र ठूलोको ३ हजार ६ सय रुपैयाँ तोकेको छ ।

साउन १ गतेदेखि वितरण सुरु हुँदैं

पछिल्लो ३ बर्षदेखि रोकिएको ईम्बोस्ड नम्बर प्लेट वितरण सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि यसको वितरण सुरु गर्ने बताएको छ । २०७३ सालमै यसको वितरण सुरु गर्ने तयारी भएपनि सर्वाेच्च अदालतका कारण यसको प्रक्रिया रोकिएको थियो । तर, हाल अदालतको समस्या समाधान भएपछि यसको प्रक्रिया पुनः अघि बढाईएको हो ।

नेपालभरका सवारीसाधनको बर्गीकरणलाई डिजीटलाईज गर्ने उद्देष्यले सुरु गरिएको ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको लक्षय रहेको छ । सो अनुसार पहिलो चरणमा बागमति प्रदेशका सबै सवारीसाधनमा यो जडान गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार साउन १ गतेदेखि सबैले आफ्नो सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछन् ।

ईम्बोस्ड नम्बर प्लेट लिने प्रक्रिया

यातायात व्यवस्था विभागका अनुसार ईम्बोस्ड नम्बर प्लेट लिनका सवारीधनिले अनलाईन आवेदन दिनुपर्नेछ । सवारीधनीले विभागको वेबसाईटमा रहेको अनलाईन फारम भरी सोही अनुसार नम्बर प्लेट जडान गर्न सकिने विभागले जानकारी दिएको छ । विभागले उक्त अनलाईन फारम आईतबारदेखि वेबसाईटमा राखिसकेको छ । यस्तै सवारीधनीले ईम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिएपछि त्यसको प्रीन्ट निकालेर विभिन्न कार्यालयमा बुझाउनुपर्नेछ ।

कति पर्छ मूल्य ?

यातायात व्यवस्था विभागले ईम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि सवारीसाधनलाई वर्गिकरण गरी मूल्य तोेकेको छ । विभागले २ पाँग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ तोकेको छ भने ३ पाँग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै ४ पाँग्रे साना सवारीसाधनका धनीहरुले भने ईम्बोस्ड नम्बर प्लेट जडान गरेवापत ३ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ । यस्तै ठुला सवारीसाधनका धनीहरुका लागि भने ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

विभागले उल्लेखित राजस्व बुझाउने स्थानहरुको पनि टुँगो लगाएको छ । विभागका अनुसार २ पाँग्रे सवारीसाधनको धनीहरुले तोकिएको राजस्व यातायात व्यवस्था कार्यालय गुर्जुधारामा रहेको ग्लोबल आईएमई बैंकको शाखामा विभिन्न कागजात सहित बुझाउनुपर्नेछ । यस्तै अन्य सवारीसाधनको हकमा भने ललितपुरको एकान्तकुना र यातायात व्यवस्था कार्यालयमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा जम्मा गर्न सक्नेछन् ।

कहाँबाट जडान गर्न सकिन्छ ?

सवारीधनीहरुले राजस्व बुझाएपछि आफ्ना सवारीमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरिन्छ । त्यसका लागि विभागले छुट्टाछुट्टै स्थानहरु तोकेको छ । विभागका अनुसार २ पाँग्रे सवारीसाधनका धनीहरुले आफ्ना सवारीमा ईम्बोस्ड नम्बर प्लेट राख्न यातायात व्यवस्था कार्यालय गुर्जुधारा जानुपर्नेहुन्छ ।

यस्तै ३ पाँग्रे र साना तथा ठुला, मझौला सवारीसाधन धनीहरुले भने सवारी परिक्षण कार्यालय टेकुमा गएर ईम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्नेछन् साथै ठुला ४ पाँग्रे सवारीसाधका लागि ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने सुविधा यातायात व्यवस्था कार्यालय टेकुमा गरिएको छ । यस्तै सरकारी सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम विभागको कार्यालय मिनभवनमै गरिने विभागले जानकारी दिएको छ ।

बुझाउनुपर्ने कागजात

सवारीधनीले आफ्नो सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न कर चुक्ता गरेको अनिवार्य गरिएको छ । साथै कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेट जडानका लागि राजस्व तिरेको भौचर, अनलाईन आवेदन दिनेबेला भरेका कागजातका साथै अनलाईन आवेदनको प्रिन्ट पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने स्थानमा बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL