Logo

कोरोनाको क्षतिपूरणमा सघाउन अन्तरराष्ट्रिय वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह, भन्छन्–महामारीले दीर्घकालिन असर पार्छ

कोरोनाको क्षतिपूरणमा सघाउन अन्तरराष्ट्रिय वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह, भन्छन्–महामारीले दीर्घकालिन असर पार्छ


बिजखबर संवाददाता
837
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको असरबाट क्षति परिपूरणमा सघाउन अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । कोरोना महामारीको प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकहरुका लागि अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने भन्दै त्यसका लागि आग्रह गरेका हुन् ।

कोरोना भाईरसका कारण पर्यटन, निर्माण, रोजगारीजस्ता क्षेत्रमा तत्काल असर पारेको र अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने अतिवडाले बताए । महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेकाले भन्दै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको समेत उनले बताए ।

‘राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको छ’ उनले भने, ‘त्यसैले कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न अन्तरराष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्छ ।’

दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री, अन्य सरकारी अधिकारी, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत अन्य अन्तरराष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी मंगलवार भएको छलफलमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । भिडियो कन्फरेन्समाफर्त भएको छलफलमा उनले अन्तरराष्ट्रिय वित्तीय संस्थाको सहयोग तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताएका हुन् ।

यसैगरी क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र समेत उपयोगमा ल्याउनुपर्ने उनको भनाई थियो । अर्थमन्त्रीले खतिवाडले कोरोना भाईरसले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी समेत गराए ।

सहयोग, समन्यव र तादाम्यताका लागि छलफल

भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्थाका विषयमा छलफल गरेका छन् । त्यस्तै, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सार्कलाई पुनर्जीवन दिदै सहकार्य बढाऊ

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिदै महामारी नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहकार्य तथा सहयोग बढाउनुपर्ने बताए । ‘सार्कलाई पुनर्जीवन दिदै सार्कको विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने काम गर्न आवश्यक छ’ उनलेभने, ‘आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा समेत दिनुपर्छ ।’

को को थिए छपफलमा ?

उक्त छलफलमा अन्तरराष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टवग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाईरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तरराष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो । छलफलमा अर्थ सचिव शिशिर कुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटी, अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल तथा नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL