Logo

नेपाली अर्थतन्त्रमा कोरोना कहर : कसरी प्रभावित हुँदैछ उद्योग व्यवसाय, के भन्छन उद्योगी व्यवसायी ?

नेपाली अर्थतन्त्रमा कोरोना कहर : कसरी प्रभावित हुँदैछ उद्योग व्यवसाय, के भन्छन उद्योगी व्यवसायी ?



काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाईरस (कोभिड—१९) को महामारी विश्वभर फैलँदो छ । आईतबार दिउँसोसम्म विश्वका १ सय ३५ देशमा फैलिएको महामारीले ५ हजार ७ सय २० जनाको ज्यान लिईसकेको छ भने संक्रमितको संख्या १ लाख ४२ हजार ६ सय ४२ पुगेको छ ।

डिसेम्बरको अन्त्यमा चीनको हुवेई प्रान्तस्थित वुहान शहरमा देखापरेको उक्त भाईरसले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको छ । विश्वका केही ठूला देशहरुले कोरोना भाईरसका कारण आफ्ना सीमा नाकाहरु बन्द गरेका छन भने केहीले हवाई उडानहरुमासमेतमा प्रतिवन्ध लगाएका छन । छिमेकी देश भारतमा मात्रै आईतबारसम्म ८६ जना संक्रमित रहेको पुष्टि भएको छ भने यसबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

नेपालको प्रमुखे छिमेकी देश अर्थात नेपाली अन्तरराष्ट्रिय व्यापारका लागि ठूला दुई बजारमा कोरोनाका त्रास दिनानुदिन फैलँदा नेपाली अर्थतन्त्रमा ठुलो असर परेको जानकारहरु बताउँछन । हालै केहीदिन अघि मात्रै छिमेकी राष्ट्र भारतले नेपाललगायत अन्य देशहरुसँग जोडिएका सीमा नाका बन्द गरेको छ भने चीनले सबै नाकाहरु बन्द गरेको छ ।

नेपालले छिमेकी यी दुई मुलकबाट बर्षेनी करिव १० खर्बको आयात तथा ७० अर्ब सम्मको निर्यात व्यापार गर्ने गरेको छ । तर पछिल्लो समय यी दुशै मुलुकबाट आयात तथा निर्यातको व्यापारमा ठुलो असर परेको नेपालका उद्योगी व्यवसायीहरु बताउँछन ।

नेपाल सरकारले पनि विश्वभर फैलिरहेको कोरोना रोकथामका लागि अनअराईभल भिषामा रोक लगाउने, नेपाल आउनेले कम्तिमा ७ दिनसम्मको जाँज गरेको सर्टिफिकेट देखाउनुपर्ने, श्रम स्वीकृति रोक्ने लगायतका कदमहरु अगाडि बढाएको छ । जसको असर नेपालका होटल क्षेत्र, यातायात, हवाई यातायातलगायतमा परेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरले उद्योग तथा व्यवसायका क्षेत्रमा अहिले कोरोना भाइरसको प्रभावबारे परिसंघले अध्ययन गरिरहेको बताए । मोरले अहिले स्थिति गम्भीर नभइसकेपनि संसार नै प्रभावित भएको यो महामारीबाट नेपाल सरकारले उद्योग–व्यवसायमा संकट आउन नदिन तत्काल आवश्यक कदमहरु चाल्नुपर्ने बताए ।

पछिल्लो समय नेपालले आवागमन भिषामा रोक लगाउँदा र विश्वभर फैलिएको कोरोनाको त्रास नेपालमा फैलँदा होटल क्षेत्रमा ठूलो असर परेको होटल एशोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । उनका अनुसार नेपालमा पछिल्लो समय यसको त्रास फैलँदा बाह्य पर्यटक घटसँगैे आन्तरिक पर्यटक पनि डरका कारण घुम्ने रमाईलो गर्ने मुडमा नभएका कारण होटल क्षेत्र हाल धेरै नै सुस्ताएको छ ।

होटको अकुपेन्सी १५ प्रतिशतमा झरेको उनको भनाई छ । तर हाल केही होटलहरुले आफ्नो व्यवसायलाई असर नपरोस भनेर विभिन प्याकेजहरु सार्वजनिक गरेका छन । जसको पछिल्लो उदाहरण सोल्टी होटलको ९ हजारमा परिवारका सदस्यलाई एक रातको प्याकेज हो । नीजि क्षेत्रका व्यवसायीले कोरोनाको असर अर्थतन्त्रमा नपरोस भन्नका लागि केही प्रारम्भिक काम गरिसकेको र बाँकी सहजीकरणका काम भने सरकारले गरिदिनुपर्ने शाहले बताए ।

उनका अनुसार सरकारले सरकारी कर्मचारीलाई कोरोनाको कहर हुँदासम्मका लागि हप्तामा २ दिन बिदा दिने, घुम्न जान प्रोत्साहन गर्नेलगायतका कार्यले हाृटल क्षेत्रलाई केही राहत मिल्नेछ । यस्तै होटल व्यवसायीले लिएको बैंक ऋणलाई केही सहज गरिदिनेलगायतका कामहरु पनि सरकारले गरिदिनुपर्ने उनको बुझाई छ ।

यस्तै कोरोनाकै करण जुत्ताचप्पल उत्पादनमा समेत मन्दी आउन लागेको नेपाल फुटवेयर म्यानुफ्याक्चरर्सका पूर्व अध्यक्ष रामकृष्ण प्रसाईँ बताउँछन । ‘चीनतर्फको नाका बन्द भएपछि अब हामीसँग जुत्ता बनाउन आवश्यक कच्चा पदार्थ २ महिनालाई पुग्ने मात्रै छ,’ उनले भने, ‘यस्तै हो भने अबको २ महिनामा हामीले हाम्रा फ्याक्ट्री बन्द गर्ने अवस्थामा पुग्नेछौं ।’

उनले हाल नेपालमा उत्पादन हुने जुत्ताका लागि ३० देखि ४० प्रतिशत कच्चा पदार्थ चीन र भारतबाट आउने भएपनि हाल उक्त कच्चा पदार्थ आउन बन्द भएको उनको भनाई छ । चीनबाट आउने भन्दा भारतबाट आउने कच्चा पदार्थ महंगो हुने भएकाले उद्योगीहरुले प्रायजसो कच्चा पदार्थ चीनबाटै आयात गर्ने गरेका छन ।

पछिल्लो समय उत्पादन कम हुने भएपछि आफुले जुत्ताको अर्डर लिन समेत छोडिसकेको पूर्व अध्यक्ष प्रसाईँले बिजखबरलाई जानकारी दिए । उनका अनुसार चीनतर्फका व्यवसायीहरुले नाका खोल्न सकिने बताउँदै फोन गर्न लागेका छन । यता नेपालतर्फ अर्थमन्त्रालयले समेत नाका खोल्नका लागि काम गरिरहेको भन्ने सुनिएको उनको भनाई छ । यदि नाका खुलेन भने आगामी २ महिनामा नेपालका सबै जुत्ता उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।

साथै होटल र जुत्ता उद्योगमा मात्रै नभएर नेपालको यातायात क्षेत्रमा समेत ठुलो असर परेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन । नेपालमा कोरोनाका कारण भन्दा पनि सरकारले पछिल्लो समय चालेका कदमका कारण यातायात क्षेत्र सुनसान भएको उनको भनाई छ । ‘सरकारले श्रम स्वीकृति रोकेपछि गाउँका मान्छे शहर आउन छोडे, आवागमन भिषमा कडाई गर्दा विदेशका मान्छे नेपाल आउन छोडे,’ उनले भने, ‘यसरी मान्छे यताउता हिँडडुल गर्र्नै छोडेपछि यातायात क्षेत्र नै सुनसान भएको छ ।’

पछिल्लो समय भारतले नाकामा कडाई गर्दा समेत यसको असर नेपाली यातायात क्षेत्रमा परेको उनको भनाई छ । यस्तै कोरोना भाईरसकै कारण नेपालको एकमात्र अन्तररष्ट्रिय विमानस्थलमा मात्रै देनिक ५० प्रतिशत यात्रु घटेको विमानस्थल स्रोतले जानकारी दिएको छ भने आन्तरिक टर्मिनलमा मात्रै ३० प्रतिशतले हवाई यात्रु घटेका छन । यस्तै हेलिकप्टरका यात्रुहरु समेत ५० देखि ६० प्रतिशतले घटेका वायुसेवा संचालक संघले जानकारी दिएको छ । संघका अनुसार हेलिकप्टकोरको व्यापार ५० प्रतिशत बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL