Logo

उद्योगी व्यवसायीका मुद्दामा प्रतिबद्धताको बाचासहित महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

उद्योगी व्यवसायीका मुद्दामा प्रतिबद्धताको बाचासहित महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले बुधबार आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरेका उनले बुधबार भने काठमाडौंबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । बुधबार ठूलो संख्यामा उपस्थित उद्योग व्यवसायीकाबीच दरबारमार्गस्थित याक एन्ड यति होटलबाट ढकालले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो उम्मेदवारी उद्योग तथा व्यवसायको क्षेत्रमा उन्नयनका लागि भएको बताए । ‘मेरो दुई दशक अघिदेखि आइएमईबाट शुरु भएको व्यवसायिक यात्रा यहाँसम्म आइपुगेको छ । महासंघमा रहेर उद्योग क्षेत्रलाई दबाबरहित बनाउँदै सहज रुपमा अघि बढाउन सहयोगीको रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँछु । लगानीका क्षेत्रमा सरकारको भरपुर सहयोग नरहेको अवस्था छ । सरकारसँग सहजीकरण गरेर उद्योग वाणिज्य महासंघलाई सबै उद्योगी व्यवसायीको साझासंस्थाका रुपमा अघि बढाउँछौं’, उम्मेदवारी घोषणा गर्दै ढकालले भने । ढकालले ‘सम्मृद्धिको आधार, राज्य निजी क्षेत्र साझेदार’ भन्ने नारा अघि सारेका छन् ।

ढकालले उद्योगी व्यवसायीको सधै साथमा रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षित अभिभावकत्व नपाएको उल्लेख गरे । ढकालले लगानीको वातावरण बन्दै गएको र तीनै तहका सरकारले लगानी भित्र्याउन प्रतिस्पर्धा गरिरहेको बताए । सरकारले नीजि क्षेत्रलाई सहजीकरण गर्दै लगानीका लागि अवसर दिनुपर्ने बताउँदै ढकालले सरकारले वैज्ञानिक रुपमा कर उठाउनुपर्ने बताए ।

ढकालले महासंघले साना उद्योगीका गुनासा सुनुवाई गर्न जरुरी भएको बताउँदै महासंघलाइ गतिशिल बनाउँदै बिदेशसम्म एक्स्पोजर बढाउनुपर्ने बताएका छन् । ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा औपचारिक उम्मेदवारीका घोाषणाका लागि साथीहरुले दबाब दिएको बताउँदै सबै शुभचिन्तकहरुलाई धन्यबाद दिए ।

ढकालको घोषणा सभामा पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाल, उद्योगी शशिकान्त अग्रवाल, महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायत बाक्लो संख्यामा उद्योगी तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । आइएमई ग्रुपका अध्यक्ष ढकालको व्यवसाय जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल, पर्यटन, केबुलकारलगायतका क्षेत्रमा समेत छ ।

महासंघको ५४औं साधरणसभा चैत २८ र २९ गते हुने निश्चित भएसँगै अहिले चुनावी गतिविधि बढेका छन् । उक्त साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले पनि उद्योगीहरु चुनावी गतिविधीमा केन्द्रित हुन थालेका हुन् ।

महासंघको विधान अनुसार साधारणसभापछि अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्ष, जिल्ला र नगर उपाध्यक्ष, एसोसिएट्स उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति अर्काे कार्यकाल स्वतः अध्यक्ष हुने भएकोले उक्त पदमा मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । सो पदका लागि किशोर प्रधानले यसअघि नै गृहजिल्ला विराटनगर पुगेर उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL