Logo

कहिले पुग्छ देशैभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट ? यसरी हुँदैछ काम

कहिले पुग्छ देशैभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट ? यसरी हुँदैछ काम



काठमाडौं । नेपालका सबै स्थानीय तहका सरकारी निकायसम्म अझै पनि ईन्टरनेट सुविधा पुगेको छैन । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको कार्तिकसम्मको तथ्याङ्क अनुसार हालसम्म नेपालमा ७१ प्रतिशत ईन्टरनेट पेनिट्रेसन छ । ‘ब्रोडव्याण्ड नीति २०७१’ मा सन २०२० सम्ममा तारमा आधारित वा विना तारको ब्रोडव्याण्डको पहुँच सबै स्थानीय तहसम्म पुर्याउने लक्ष्य रहेको उल्लेख छ ।

नेपालका हरेक सरकारी कार्यालयहरुलाई कागजरहित बनाउने उद्देष्यसहित ल्याईएको उक्त नीतिअनुसार नेपाल दूरसंचार प्राधिकरणले काम अघि बढाईरहेको छ । उक्त नीति अनुसार नेपालका हरेक स्थानीय तहका वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य चौकीहरुमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउनु पर्नेछ ।

प्राधिकरणले विभिन्न कम्पनीहरुलाई नेपालका प्रत्येक स्थानीय तहका सरकारी निकायसम्म ईन्टरनेटको पहुँच पुर्याउन २०७३ र २०७४ सालमा १८ ओटा छुट्टाछुट्टै प्रोजेक्ट बनाई विभिन्न कम्पनीहरुसँग समझदारी गरिसकेको छ । चालु आवको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याई ईन्टरनेट पेनिट्रेसन शतप्रतिशत पुर्याउने उद्देष्यसहित प्राधिकरणले काम गरिरहेको जानकारी दिएको छ ।

५५ दशमलव ५६ प्रतिशत काम सम्पन्न

नेपाल दूरसंचार प्राधिकरणका अनुसार विभिन्न १८ प्रोजेक्टमध्ये १० ओटा प्रोजेक्टको काम भने सम्पन्न भईसकेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपाल टेलिकमले एउटा, सुविसुले ३ ओटा, मर्कन्टाईल कम्युनिकेसनले २ ओटा, वल्र्डलिंक कम्युनिकेशनले २ ओटा, भायानेटले एउटा र टेकमाईन्ड्स नेटवर्क प्रालिले एउटा प्रोजेक्टको सम्पुर्ण काम सम्पन्न गरेका छन ।

हालसम्म विभिन्न १० प्रोजेक्ट अन्तरगतका विभिन्न जिल्लाका ८ हजार ८ सय ९६ साईटमा भने ईन्टरनेट जोड्ने काम सम्पन्न भईसकेको छ । कूल १६ हजार ६ सय १ साईटमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा पुयाउनुपर्नेमा हाल ५३ दशमलव ५९ साईटमा ईन्टरनेट जडान गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

५ प्रोजेक्टको काम सुस्त

विभिन्न १० ओटा प्रोजेक्टको काम तीव्ररुपमा विस्तार भएर सम्पन्न भएपनि विभिन्न ५ परियोजनाको काम भने सुस्त भईरहेको पाईएको छ । प्राधिकरणबाट सन २०१७ नोभेम्बरमा अछाम, बाजुरा र बझाङमा ईन्टरनेट पुर्याउने जिम्मा पाएको मर्कन्टाईल कम्युनीकेशनले उक्त प्रोजेक्टको काम भने ६३ प्रतिशत मात्रै सम्पन्न गरेको जानकारी दिएको छ ।

यस्तै प्रदेश १ का विभिन्न ५ जिल्लाका स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट जडान गर्ने जिम्मा पाएको टेकमाईन्ड्स प्रालिले समेत जम्मा कामको ३१ प्रतिशत सम्पन्न गरेको जानकारी दिएको छ ।

यस्तै प्रदेश ४ का विभिन्न ५ जिल्लाका स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्ने जिम्मा पाएको वल्र्डलिंक कम्युनीकेसनले समेत काम सुस्त गतिमा अघि बढाएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै प्रदेश ४ का ४ जिल्ला र प्रदेश १ का ५ जिल्लामा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्ने जिम्मा पाएको टेकमाईन्ड्स प्रालिले समेत काममा सुस्तता देखाएको प्राधिकरणले जानकारी दिएको छ ।

३ प्रोजेक्ट अन्यौलमा

विभिन्न १८ प्रोजेक्टमध्ये १० ओटाको काम सम्पन्न हुँदा ५ ओटा प्रोजेक्टको काम भने अघि विस्तारै हुँदैछ । तर नेपाल दूरसंचार प्राधिकरणले अझै ३ ओटा प्रोजेक्टको काम अघि समेत बढाएको छैन । प्रदेश ३ र ५ का ४ जिल्ला, प्रदेश ५ का ४ जिल्ला र अन्य ५ जिल्लाका मा ब्रोडब्याण्ड ईन्टरनेट विस्तार गर्न अझै प्रक्रियासम्म थालिसकिएको छैन ।

चालु आर्थिक बर्षको अन्त्यसम्म सम्पन्न गरिसक्नुपर्ने परियोजनाको आर्थिक बर्ष सकिन ५ महिना मात्रै बाँकी रहँदा सेवा विस्तार गर्ने अपरेटरसमेत चयन गरिएको छैन । उक्त ३ प्रोजेक्टको समयमै काम सम्पन्न गर्ने गरी चाँडै अपरेटर चयन गर्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार अन्य प्रोजेक्टको काम हुँदै गर्दा बाँकी रहेका ३ प्रोजेक्ट पनि सँगै लैजाने प्राधिकरणको लक्ष्य छ । ग्रामीण दूरसंचार विकास कोषको रकम अन्तरगत परेका उक्त परियोजनाका लागि प्राधिकरणले रकम उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL