Logo

मेलम्चीको पानी असारमा सुन्दरीजलमा, काठमाडौंबासीका धारामा कहिले ?

मेलम्चीको पानी असारमा सुन्दरीजलमा, काठमाडौंबासीका धारामा कहिले ?



काठमाडौं । सरकारले आगामी असारभित्रै मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने प्रक्रिया थालेको छ । यसअघि विभिन्न बर्षका दशैंसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइपुर्याउने घोषणा हरेक सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले गर्दै आएका छन् ।

laxmi

विस २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले घोषणा गरेको उक्त आयोजना सधैं सबै पार्टीको साझा चुनावी एजेण्डा बन्ने गरेको छ । इटालियन कम्पनी सिएमसी रेभेन्नाले निर्माण ठेक्का पाएको उक्त आयोजनाबाट हात झिकेपछि आयोजनाको काम चिनियाँ कम्पनी सिनो हाईड्रोले सम्हालेको छ ।

एशियाली विकास बैंकको सहयोगमा बन्ने उक्त आयोजना गत बर्ष पुस १ गते ईटालियन कम्पनी सिएमसीले समस्यामा परेपछि काम अलपत्र छोडेर भागेको थियो । सिएमसीले काम अलपत्र पारेर भागेको ८ महिनापछि सरकारले गत भदौमा चिनियाँ कम्पनीलाई उक्त आयोजनाको बाँकी काम सुम्पेको थियो ।

चिनियाँ कम्पनी सिनो हाईड्रोले नेपालका ठूला–ठूला जलविद्युत आयोजनाहरु निर्माण गरेको अनुभव छ । चीनमासमेत समयमै काम सम्पन्न गर्ने उपमा पाएको सिनो हाईड्रोले दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र अफ्रिकालगायतका देशका ठूला आयोजना निर्धारित समयमै निर्माण गरेको रेकर्ड छ । सोही अनुसार पनि कम्पनीले आगामी असारसम्म मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्याउन सक्ने सम्बन्धितहरुको भनाई छ ।

मेलम्चीमा प्रगति

सिक्टा आयोजना, कुलेखानी तेस्रो लगायतका आयोजना अघि बढाएको कम्पनीले मेलम्ची आयोजनामासमेत केही आशातित काम गरिरहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । उनका अनुसार गत भदौमा हेडवक्र्स र सुरुङमार्ग फिनिसिङको बाँकी कामको जिम्मा पाएको कम्पनीले काम अन्तिम चरणमा पुर्याएको छ ।

खानेपानी मन्त्री बीना मगरले आयोजनाको पानी काठमाडौंबासीलाई आगामी असारभित्रै पुर्याउने घोषणा गरेकी थिईन । सोही अनुसार आयोजनाको काम तीब्र रुपमा अघि बढाउन मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका उप-सचिव तथा सुचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार आगामी असारभित्रै पानी सुन्दरीजलमा खसाल्न धमाधम काम भईरहेको छ । हाल सिनो हाईड्रोले हेडवक्र्स अन्तरगतको पानी सुरुङमार्गमा ल्याउन बाँध बाँध्ने काम गरिरहेको छ । आयोजनाका प्रवक्ता पन्तका अनुसार कम्पनीले बाँध बाँध्नका लागि जग हाल्ने काम गरिरहेको छ भने सुरुङमार्गको फिनिसिङ समेत अन्तिम चरणमा पुर्याएको छ ।

अब कम्पनीले केही दिनमा वासआउट र आउटलेट पाईपको परिक्षण गर्ने बताएको छ । आयोजनाले हेडवक्र्सका लागि बताएको डाईभर्सन टनेलमा पुस २८ गते पानी हालेर परिक्षण समेत गरेको जानकारी दिएको छ । सोही अनुरुप काम हुँदा आगामी असारसम्म टनेलमा पानी हालेर सुन्दरीजलसम्म ल्याउने परीक्षण गर्ने योजना रहेको आयोजनाका प्रवक्ता पन्तले बिजखबरलाई जानकारी दिए ।

काठमाडौंमा पानी वितरण अन्यौलमा

सर्वप्रथमतः मेलम्चीको पानी असारसम्म सुन्दरीजलसम्म आउने नआउने समेत अनिश्चित छ । यदि आएपनि काठमाडौंको विभिन्न घरघरमा पुर्याउन भने सकस रहेको मन्त्रालयले स्वीकारेको छ । खानेपानी मन्त्रालयका एक अधिकारीका अनुसार काठमाडौंका कतिपय क्षेत्रमा मेलम्ची खानेपानीले धान्ने गरी पाईपसमेत विछ्याईएको छैन । पाईप नविछ्याईएका कारण मेलम्चीबाट आउने ठूलो भोल्युमको पानी काठमाडौंका केही खोलामा समेत मिसाउनुपर्ने अवस्था आउनेछ ।


यस्तै हालसम्म पनि विभिन्न मन्त्रालयको समन्वय हुन नसक्दा काठमाडौंमा मात्रै ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भईरहेको मन्त्रालयले जानकारी दिएको छ । उक्त चुहावटलाई समेत नियन्त्रण गर्न नसकिरहेको अवस्थामा मेलम्चीको पानी आउँदा त्यसमाथी झन समस्या थपिने विज्ञहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL