Logo

महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् प्रतिस्पर्धी

महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् प्रतिस्पर्धी



काठमाडौं । निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचन नजिकिएसँगै चुनावी सरागर्मी बढेको छ । सरकारपछिको सबैभन्दा ठूलो र शक्तिशाली नेटवर्क भएको संस्थाको रुपमा महासंघको प्रभाव र प्रतिष्ठा रहेकोले पनि यस चुनावले प्रत्यक्ष वा परोक्ष रुपमा राजनीतिक दल, नागरिक समाज, महासंघका प्रतिस्पर्धी संस्थाहरु लगायत धेरैको ध्यान खिच्ने गरेको छ ।

महासंघको विधान अनुसार आगामी अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने भएका छन । विधान संशोधन गरी अध्यक्षको चुनाव गर्ने केही समयअघिको कसरत निस्तेज भएपछि गोल्छा स्वतः अध्यक्ष बन्ने निश्चित भैसकेको छ । अव मुलुकभरका उद्यमी व्यवसायीहरुको ध्यान स्वतः अध्यक्ष हुन पाइने यो शक्तिशाली एवं आकर्षक पद वरिष्ठ उपाध्यक्षको चुनावतर्फ केन्द्रित भएको छ ।

अन्यथा परिवर्तन नभए चैतको अन्त्यमा हुने ५४ औं वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । चैत २८ मा साधारण सभा शुरु हुने र २९ मा चुनाव हुने कार्यक्रम रहेको छ । महासंघको नेतृत्वमा पक्कड बनाउने अन्य पदाधिकारीको चुनावका बारे पनि उद्यमी व्यवसायीहरुबीच त्यत्तिकै चर्चा र चासो बढेको छ । ती पदाधिकारी अन्तर्गत वरिष्ठ उपाध्यक्षका अतिरिक्त तीन उपाध्यक्ष र एक कोषाध्यक्ष रहेका छन । आकांक्षीहरुका लागि नेतृत्व विकासको प्रतिस्पर्धा र महासंघको शक्ति सन्तुलनका हिसावले केन्द्रीय सदस्यहरुको चुनाव पनि निकै महत्वपूर्ण मानिन्छ ।

पदाधिकारीहरुकै स्तरको हैसियत राख्ने केही प्रदेश अध्यक्षहरुमा आकांक्षीहरु व्यवस्थापन गरिदा टीम व्यवस्थापनको चुनावी सन्तुलनमा फरक पार्न सक्ने देखिन्छ । चुनावलाई आफ्नो पक्षमा पार्न अहिले मुलुकभरका उद्यमी व्यवसायीहरुका साथै महासंघका मुख्य शक्तिकेन्द्रहरु विभिन्न अन्तरंग छलफल र जोडघटाउहरुमा व्यस्त हुन थालेको देखिन्छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरिसकेका छन् भने सो पदका लागि अन्य व्यक्तिले भने उम्मेदवारी घोषणा गरेका छैनन् ।

ढकाल यसअघि महासंघको एशोसिएट्सतर्फको उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका थिए । सोभन्दा अघि पनि सबैभन्दा बढी मत ल्याएर सदस्यमा चयन भएका थिए । अत्यन्तै सरल, मिजाजिला र शालिन स्वाभावका ढकाल उद्यमी व्यवसायी, राजनीतिक दल, कर्मचारी वर्ग, कुटनीतिक क्षेत्रलगायत समाजका हरेक तह र तप्कामा सहज पहुँच र परिचय भएका व्यवसायी हुन । अति छोटो समयमा उद्योग व्यापार विस्तारका कारण उनले नेपालको निजीक्षेत्रमा स्थापित व्यवसायीको प्रतिष्ठा बनाएका छन । जहाँ हात हाल्यो त्यहीँ सफलता आर्जन गरेका ढकालका थुप्रै व्यवसायिक प्रतिष्ठानहरुको देशव्यापी सञ्जाल रहेको छ र यस सञ्जालमार्फत थुप्रै उद्यमी व्यवसायीलाई उनले समेटेका छन ।

महासंघको राजनीतिमा प्रभाव पार्ने यस्तो सञ्जाल पहिला व्यवसायिक घरानाहरु ज्योति समूह, गोल्छा, समूह, पञ्चकन्या, चौधरी, एमसी, गोल्यान, शारडा, शाख, केडियाहरुको मात्र हुने गर्दथ्यो । ढकालका आफ्नै व्यवसायिक प्रतिष्ठानहरु नै थुप्रै सदस्य रहेको र सञ्जालको फाइदा पनि भएकोले नै महासंघमा चुनाव हुँदा उनले सबैभन्दा बढी मत ल्याएका थिए र अन्य पदमा सर्वसम्मत हुँदै आएका हुन । रेमिटान्स, बैंक, अटोमोवाईल, जलविद्युत, एयरलाईन्सलागयतका व्यवसायमा आवद्ध ढकाललको एशोसिएट्देखि जिल्लानगरमा राम्रो पहुँच रहेको छ ।

आईएमई रेटिमबाट व्यवसायमा प्रवेश गरेको ढकालले हरेक जिल्लामा आफ्नो व्यवसाय विस्तार गरेका छन् । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकका अध्यक्ष रहेका ढकालले बैंक, रेमिटान्स तथा अटोमार्फत हरेक जिल्लामा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन् । जसका कारण उनको जिल्ला नगर तथा एशोसिएट्मा राम्रो पकड रहेको छ ।

ढकालको यही प्रभावका कारण अघिल्लो पटकको चुनावमा उनका दुईजनै प्रत्यासीले उम्मेद्वारी फिर्ता लिएका थिए । स्वतः नेतृत्वमा पुगिने यो शक्तिशाली पदमा अहिलेसम्म कसैले उम्मेद्वारी नदिनुको कारण पनि यही हुनसक्छ । तर महासंघको पछिल्लो चुनावमा निर्विरोध नेतृत्व चयन हुने प्रवृत्ति नरहेकोले प्रतिस्पर्धीहरु आउनसक्ने संभावनालाई ठाडै अस्वीकार गरिहाल्ने स्थिति नरहेको चुनावी विश्लेषक र महासंघका चुनावी शक्तिकेन्द्रहरु बताउने गर्छन् ।

हाल महासंघको वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरतर्फको बर्तमान उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, उनले यसअघिको निर्वाचनमा सोही पदमा शेखर गोल्छासँग समेत लजास्पद हार बेहोरेका थिए । अझ लोकप्रिय छबि बनाएका ढकालसँग उनले चुनावी प्रतिस्पर्धा गर्न त्यति सहज देखिदैन । यस समूहले अर्को नाम तयार गरिरहेको चर्चा पनि छ । प्रतिस्पर्धीहरुले यसरी ढिलाई गर्दा ढकाललाई सहयोग पुगिरहेको देखिन्छ र अन्तिम समयमा उनी निर्विरोध निर्वाचित हुने प्रवल संभावना पनि उत्तिकै देखिन्छ ।

यस अघिको निर्वाचनमा एशोसिएट्स उपाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान र शौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका थिए । ढकालको तुलनामा आफुहरु कमजोर भएपछि प्रधानले उम्मेदवारी नै घोषणा गरेनन् भने ज्योतिले अन्तिम समयमा ढकाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । यसपटक ढकालको अर्को सकारात्मक पक्ष के रहेको छ भने महासंघका बस्तुगततर्फका अर्का उपाध्यक्ष उमेश श्रेष्ठले उनलाई समर्थन गर्दै आफूचाहि पुनः सोही क्षेत्रको तर्फबाट उपाध्यक्षमा उम्मेद्वारी दिने बताइसकेका छन् ।

यसैगरी महासंघको अन्य उपाध्यक्ष पदहरुमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, गुणनिधी तिवारी, डिवी बस्नेत, दिलसुन्दर श्रेष्ठ, अरुण सुमार्गी र शौरभ ज्योति आउने सम्भावना रहेको छ । जसमध्ये शौरभ ज्योतिले एशोसिएट्सतर्फबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गसिसकेका छन् भने अञ्जन श्रेष्ठले बस्तुगततर्फबाट उपाध्यक्षमा उठ्ने बताउँदै आएका छन् ।

हाल बस्तुगततर्फको उपाध्यक्ष रहेका उमेशलाल श्रेष्ठ पुनः सोही पदमा दोहोर्याउने सम्भावना रहेको छ । तर उनी एशोसिएट्सतर्फबाट उपाध्यक्षमा उठ्ने सम्भावना पनि रहेको स्रोतको भनाई रहेको छ । यसअघि जिल्ला नगर उपाध्यक्षमा पराजित भएका दिनेश श्रेष्ठ यसपटक वस्तुगत वा एशोसियट्तर्फबाट उपाध्यक्षमा उम्मेवारी दिने तयारीमा रहेको बुझिएको छ । त्यसैगरी गुणनिधि तिवारी, डिवी बस्नेत, दिलसुन्दर श्रेष्ठ र अरुण सुमार्गी जिल्ला नगरको उपाध्यक्षमा उठ्ने बताउँदै आएका छन् । टीम अनुकूलताका आधारमा दुवैतर्फको समीकरण व्यवस्थापन र शक्ति सन्तुलनका हिसावले उम्मेद्वारीमा फरक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL