Logo

उखु किसानको पैसा भुक्तानीमा अझैं आनाकानी, लुम्बिनी सुगरलाई सम्पर्कमा ल्याउन गृहलाई पत्र

उखु किसानको पैसा भुक्तानीमा अझैं आनाकानी, लुम्बिनी सुगरलाई सम्पर्कमा ल्याउन गृहलाई पत्र



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई पैसा दिलाउन विभिन्न २ ओटा उद्योगलाई चिठी लेखेको छ । शुक्रबार मात्रै अन्नपूर्ण सुगर मिल र ईन्दिरा सुगर मिललाई किसानको सबै पैसा भुक्तानी गर्न चिठी लेखेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल मन्त्रालयमा केही उद्योगहरुले किसानको सबै पैसा दिएको र केहीले किसानसँग सहमति गरेको पत्र पठाएका छन । तर किसानको पैसा नतिर्ने र सम्पर्कमा नआउने उद्योगलाई मन्त्रालयले चिठि पठाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

उखु किसानले काठमाडौंमै आएर पैसा भुक्तानीका लागि धर्ना बसेपछि उद्योगीले माघ ७ गतेसम्म पैसा बुझाउने प्रतिवद्धता जनाएका थिए । तर उक्त म्याद सकिन लाग्दा केही उद्योगीहरु सम्पर्कमा आएका थिएनन ।

मन्त्रालयका अनुसार हालसम्म ईन्दुृशंकर, एभरेष्ट, बागेश्वरी, बागमती, हिमालय, महाकाली, रिलायन्स सुगर मिलले भने सबै पैसा तिरेको भनेर मन्त्रालयमा पत्र पठाईसकेका छन । यस्तै मन्त्रालयले लुम्बिनी सुगर मिल पनि सम्पर्कमा नआएपछि सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्र काटेको छ ।

लुम्बिनी सुगर मिललाई सम्पर्कमा ल्याउने जिम्मा भने गृहमन्त्रालयलाई दिईएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए । यस्तै श्रीराम सुगर मिलले भने किसानसँग केही दिनमै पैसा बुझाउने गरी सहमति भएको मन्त्रालयमा जानकारी दिएको छ ।

हाल अन्नपुर्ण सुगर मिलले किसानलाई ४० करोड रुपैयाँ बुझाउनु छ । तर हालसम्म ३ करोड ९० लाख रुपैयाँ मात्रै बुझाएकाले सबै रकम बुझाउन मन्त्रालयले ताकेता गरेको हो । ईन्दीरा सुगर मिलले भने किसानलाई ७४ लाख रुपैयाँ मात्रै दिएको मन्त्रालयले जानकारी दिएको छ ।

अन्नपूर्ण र ईन्दिरा सुगर मिलले किसानको धेरै पैसा दिन बाँकी छ । तर केही पैसा मात्रै किसानलाई बुझाएपछि मन्त्रालयले सबै पैसा बुझाउनका लागि ताकेता गरेको हो । कतिपय किसानले विगत ६ बर्षदेखि उखुको पैसा पाएका छैनन ।

प्रतिक्रिया दिनुहोस्
MBL