Logo

भ्रमणबर्ष सफल बनाउन पर्यटन मन्त्रीको अग्रसरता, गरे ३१ देशका राजदूतसँग छलफल

भ्रमणबर्ष सफल बनाउन पर्यटन मन्त्रीको अग्रसरता, गरे ३१ देशका राजदूतसँग छलफल



काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल पार्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बिभिन्न देशका राजदुत र वैदेशिक साझेदार संस्थाका प्रमुखहरुलाई आग्रह गरेका छन ।

उनले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल स्थित ३१ देशका राजदुत र ५ ओटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग भ्रमण बर्ष सफल पार्न सहयोग गरिदिन आग्रह गरेका हुन । मन्त्री भट्टराईले भने, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।’

भ्रमण वर्ष सफल पार्न राजदुतहरुको मुख्य भुमिका हुने भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सुचना तथा सन्देश प्रवाहका लागि आग्रह गरेका हुन । उनले राजदुतहरुसँगको छलफलमा भ्रमण वर्ष २०२० को बिषयमा आफ्नो देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी आफ्नो नागरिकहरुलाई नेपाल पठाउन समेत अनुरोध गरेका छन ।

उनले भने, ‘मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष २०२० र क्रिसमस नेपालमै मनाउनुहोस, यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस् ।’ मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै पर्यटनमन्त्रीहरुलाई नेपाल ल्याउने पहल गरिदिन समेत आग्रह गरेका छन ।

नेपालमा २०७२ को भूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको बताउँदै उनले भने, ‘जसरी भुकम्पबाट उठनको लागि सहयोग गर्नु भएको छ त्यसरी नै भ्रमण बर्ष सफल पार्न पनि सहयोग गरिदिनुहोस ।’ सोही अवसरमा मन्त्री भट्टराईले भुकम्पबाट भत्किएका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेको समेत जानकारी दिएका छन ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताएका छन । ‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माण गर्नेछौं’ उनले भने, ‘यहीबाटोबाट हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली ः समृद्ध नेपाल’को सपना पुरा गर्नेछौं ।’

त्यस्तै अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए । मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरीरहेको र अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य रहेको समेत जानकारी दिएका छन ।

उनले आगमी २०२० मा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन । त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक्ता मोडलको बिषयमा लगानी बोर्डले काम गरिरहेको बताए ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिँदै उनले भने, ‘तपाईहरुमार्फत म यो जानकारी तपाईहरुको देशका वायुसेवा कम्पनीलाई गराउन चहान्छु ।’

त्यस्तै उनले नेपालको हवाई सुरक्षाको बिषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भिर रहेको भन्दै अन्तराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पुरा गर्न सरकार सक्रिय रहेका बताएका छन ।

उनले नेपालका नीजि तथा सरकारी वायुसेवा कम्पनीहरुले चाडै विश्वभरीका आकाशमा निर्बाध उडान भर्ने विश्वास व्यक्त गरेका छन । मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको र आगमी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताएका छन ।

सहयोगका लागि तयार छौं : राजदुतहरु

कार्यक्रममा सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाएकी छिन ।

उनले नेपालका अन्तरराष्ट्रिय विमानस्थलहरु चिनियाँ कम्पनीहरुले निर्माण गरीरहेको भन्दै चिनियाँ कम्पनीहरुले गुणस्तरीय काम सहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी दिएकी छिन । नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने बताए ।

त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL