Logo

नागढुङ्गा नौविसे सुरुङमार्ग : लिंक फ्लाईओभरका लागि ४७ ओटा घर भत्काईँदै, मुआब्जा मात्रै १ अर्ब लाग्ने अनुमान

नागढुङ्गा नौविसे सुरुङमार्ग : लिंक फ्लाईओभरका लागि ४७ ओटा घर भत्काईँदै, मुआब्जा मात्रै १ अर्ब लाग्ने अनुमान



काठमाडौं । नागढुङगा नौविसे सुरुङमार्गका लागि बन्ने फ्लाई ओभरका लागि ४७ ओटा घर भत्काईने भएको छ । काठमाडौंतर्फको मुख्य सडकलाई सुरुङमार्गको मुखसम्म जोड्न लिंक फ्लाईओभरका लागि १२ रोपनी जग्गामा पर्ने उक्त घरहरु भत्काउन लागिएको नागढुङ्गा नौविसे सुरुङमार्ग आयोजनाले जानकारी दिएको हो ।

अहिलेको मुख्य मार्गबाट सुरुङमार्गसम्म सडकलाई जोडन दुईवटा फ्लाइओभर बनाइने आयोजनाका प्रमुख श्याम खरेलले जानकारी दिए । जस अन्तर्गत एउटा फ्लाईओभर कंलकी मकालुदेखि सुरुङमार्ग जोडने सडकसम्म बनाइनेछ भने अर्को फ्लाईओभर गुर्जुधारदेखि सुरुङमार्गको मुखसम्मै निर्माण हुनेछ । मकालुदेखि बन्ने फ्लाई ओभर करीब १ सय २० मिटर लामो हुनेछ भने गुर्जुधारादेखि बन्ने फ्लाईओभर भने ६ सय ४० मिटर लामो हुने खरेलले बिजखबरलाई जानकारी दिए ।

फ्लाईओभरमा पर्ने घरको क्षतिपुर्ति र जग्गाको मुआब्जामा मात्रै करिव १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सुरुङमार्ग आयोजना प्रमुख खरेलले जानकारी दिए । फ्लाईओभरमा पर्ने घर र जग्गाको मुआब्जाका लागि मन्त्रिपरिषदमा त्यसको निर्णय पठाईसकिएको उनको भनाई छ ।

यस्तै सुरुङमार्ग निर्माणका लागि काठमाडौंतर्फको जग्गा मुआव्जाको काम ९० प्रतिशत टुङ्गिएको छ । यस्तै धादिङतर्फको गुठी र लालपुर्जा नभएको हकमा केही मागहरु भएकाले तिनिहरुको माग पनि पुरा गर्ने काम भईरहेको आयोजना प्रमुख खरेलले बताए । काठमाडौं छिर्ने मुख्य नाकामा बन्न लागेको उक्त सुरुङमार्ग जापानी कम्पनी हाज्मा आन्दो जेभीले निर्माणका जिम्मा पाएको छ ।

कम्पनीको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने टाईमलाईन सुरु भईसकेकाले कामको तीव्रता बढाएको छ । कम्पनीले काठमाडौंतर्फ विभिन्न भवन बनाउने कामदारका लागि टहरा बनाउने लगायतका कामहरु अन्तिम चरणमा पुर्याएको हो । सुरुङमार्गको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन । गत असोज ६ गते जापानी कम्पनी र नेपाल सरकारबीच ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी उक्त आयोजनाको सम्झौता भएको थियो ।

जापानी सहयोग र नेपाल सरकारको लगानीमा बन्ने उक्त आयोजनाले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको घण्टौं हुने जामलाई न्यूनीकरण गर्ने बताईएको छ । अहिले काठमाडौं भित्रिने प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा नौबिसेदेखि नै उकालो सडक र सवारीको चापका कारण दिनहुँ घण्टौं जाम हुने गरेको छ । सुरुङमार्ग बनेसँगै नेपालका मुख्य भागसम्म पुग्ने यो सडक सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL