Logo

नाडामा बैंकहरुको विद्युतीय सवारीसाधन अफर, कर्जाको व्याजदर देखि फाईनान्सिङसम्म सहुलियत

नाडामा बैंकहरुको विद्युतीय सवारीसाधन अफर, कर्जाको व्याजदर देखि फाईनान्सिङसम्म सहुलियत



काठमाडौं । नेपाल सरकारले नै नेपालका विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनेगरी विभिन्न कार्ययोजना बनाएको छ । अटो क्षेत्रको बृहत मेला मानिने नाडा अटो सो ले पनि यसपाली विद्युतीय सवारीसाधनको राम्रै प्रवर्द्धन गरेको देख्न सकिन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार नाडा अटो सो को उद्घाटनमा सरकारले नै विद्युतीय सवारीसाधनमा पनि खासगरी विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेको बताए ।
उनले व्यापारघाटाको प्रमुख सुचक पेट्रोलियम पदार्थको आयात घटाउँदै देशभित्रै उत्पादित विद्युतको खपत बढाउने गरी यस्ता सवारीसाधनको प्रचुर मात्रामा प्रयोग गरिनुपर्ने बताएका छन । सरकारी तथ्याङ्क अनुसार अघिल्ला बर्षहरुका तुलनामा गत बर्ष पेट्रोलियम पदार्थ आयातको वृद्धिदर केही मात्रामा घटेको छ ।

स्वदेशी तथा बैदेशिक लगानीमा निर्माण सम्पन्न र निर्माणाधिन आयोजनाहरुबाट उत्पादिन विद्युतको उपयोग सरकारको मुख्य चुनौती भएको छ । यसको खपतलाई ध्यानमा राखी हाईब्रीड र विद्युतीय सवारीसाधनको आयातलाई सरकारले प्राथमिकतामा राखेको छ ।

पछिल्ला बर्षहरुमा विद्युतीय सवारीसाधन पनि उत्तीकै मात्रामा आयात भईरहेको तथ्याङ्कमा देख्न सकिन्छ । यस्तै यसपालीको नाडा अटो सो मा विभिन्न कम्पनीहरुले विदुतीय मोटरसाईकल देखि चार पाँग्रे सवारीसाधनहरु प्रदर्शनमा राखेका छन । वातावरणमैत्री, ध्वनी प्रदुषणरहित तथा विभिन्न सेवामा सहुलियतले गर्दा मानीसहरुको यसप्रति आकर्षण पनि बढ्दै गएको पाईन्छ ।

नाडा अटो सो मा यसपाली हुन्डाई, बीवाईडी, सुजुकी लगायतका कम्पनीहरुले विद्युतीय सवारीसाधनहरु प्रदर्शनमा राखेका छन । जसमा विभिन्न बैंकहरुले पनि विद्युतीय सवारीसाधनलाई भन्दै डिजेल तथा पेट्रोलका सवारीसाधनको तुलनामा यसका लागि कर्जाको व्याजदर पनि सस्तो बनाएका छन ।

नाडामा नवील बैंकले ७ बर्ष सम्मको कर्जा अवधि राख्दै विद्युतीय सवारीसाधनलाई ८० प्रतिशतसम्म फाईनान्सिङ सुविधा दिने बताएको छ । साथै बैंकले विद्युतीय सवारीसाधनका लागि कर्जाको व्याजदर पनि जम्मा ९ दशमलव ५९ प्रतिशत मात्रै तोकेको छ ।

यस्तै लक्ष्मी बैंकले पनि विद्युतीय सवारीसाधनलाई भन्दै कर्जाको व्याजदर १० दशमलव ५ प्रतिशत तोकेको छ । लक्ष्मी बैंकले अन्य सवारीसाधनमा लोन दिँदा ११ दशमलव ५ प्रतिशत व्याजदर तोकेको छ । बैंकहरुले अटोलोनका लागि नाडा अटो सोमा ११ दशमलव ६५ प्रतिशतसम्म कर्जाको व्याजदर तोकेका छन ।

यस्तै सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनका लागि अन्य बैंकहरुले पनि सोही अनुसार अन्य सवारीको तुलनामा व्याजदरमा केही अन्तर राखेका छन । यस्तै केही बैंकहरुले सर्भिस चार्जमा पनि अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनमा केही सहुलियत प्रदान गरेका छन । बैंकहरुले विद्युतीय सवारीसाधनका लागि भन्दै सर्भिस चार्ज ० दशमलव ५ प्रतिशत देखि १ दशमलव ५० प्रतिशतसम्म तोकेका छन ।

नाडा अटो सो मा बैंकहरुले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनमा फाईनान्सिङको सुविधा पनि केही बढि नै दिएका छन । बैंकहरुले अन्य सवारीसाधनलाई ५० प्रतिशत फाईनान्सिङको सुविधा दिँदा विद्युतीय सवारीसाधनलाई भने ७ देखि ८० प्रतिशतको फाईनान्सिङ सुविधा दिएका छन । त्यस्तै केही बैंकहरुले कर्जाको अवधिमा पनि विद्युतीय सवारीसाधनलाई अन्यको तुलनामा केही बढी दिएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL