Logo

व्यवसायी भन्छन : ठूला चेन होटल र विमानस्थल थप्दैमा पर्यटक ल्याउन सकिँदैन, किन रुष्ट हुँदैछन् व्यवसायी ?

व्यवसायी भन्छन : ठूला चेन होटल र विमानस्थल थप्दैमा पर्यटक ल्याउन सकिँदैन, किन रुष्ट हुँदैछन् व्यवसायी ?



काठमाडौं । सरकारले सन २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटन लक्ष्य लिएपनि २० लाख पर्यटक ल्याउन नसकिने सम्बद्ध बिज्ञहरुले बताएका छन ।

पर्यटन क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुले २०२० मा २० लाख पर्यटक भित्र्याउँछु भनेर सरकारले खोक्रो नारामात्रै लगाएको आरोप समेत लगाएका छन । अध्यागमन विभागले जारी गरेको नेपालमा भित्रिएको पर्यटकको पछिल्लो तथ्याङ्क विश्लेषण गर्दा पनि २०२० मा २० लाख पर्यटक पुर्याउन नसकिने देखिन्छ ।

२०१९ को पहिलो ६ महिनामा करिब पौने ६ लाख पर्यटक मात्रै नेपाल भित्रिए पछि ब्यवसायीहरुले २० लाख पर्यटक ल्याउन नसकिने बताएका हुन । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत तेज महत पनि पर्यटन बोर्डले मात्रै प्रचार प्रसार गरेर केही नहुने बताउँछन् ।

नेपालका ७ सय ५३ ओटै स्थानीय तहले समेत प्रचारप्रसारलाई जोड दिनु पर्ने उनको धारणा छ । उनले भने, ‘सबैले हातेमालो गर्दे गयौं भने पनि हामी २०२५ तिर भने २० लाख पर्यटक ल्याउन सक्छौं तर अहिलेकै अवस्थामा भने २० लाख पर्यटक ल्याउन सकिँदैन ।’

‘नेपालको पूर्वधार विकास हुन अझै २० बर्ष लाग्छ यहाँ २÷४ ओटा चेन होटल आउँदैमा र ठूला विमानस्थल बन्दैमा केही हुनेवाला छैन,’ उनले भने, ‘हामीले पर्यटक भित्र्याउने हो भने नयाँ उत्पादनलाई बेच्न सक्नु पर्छ ।’ सगरमाथा र अन्नपूर्णमा किन पर्यटकको घुईचो लागेको छ अनि कन्चनजंघामा किन पर्यटकलाई लिन सकिरहेको छैन यस विषयमा अध्ययन गर्नुपर्ने उनको धारणा छ । जसरी सगरमाथामा पर्यटक जान्छन त्यसै गरी अन्य क्षेत्रमा पनि पर्यटक लैजान सक्नेगरी तयारी गर्नुपर्ने उनको सुझाव छ ।

त्यतिमात्रै नभई नेपालमा पर्यटक आउने त्यस्तो अनुकुल वातरण नै नभएको उनको भनाई छ । माल्दिभ्समा पर्यटक तान्नका लागि समुन्द्र मुनि कार्यक्रम गर्छन हामी किन सगरमाथामा हनिमुन सेलिब्रेशन गर्न सक्दैनौं, अन्तरराष्ट्रिय सम्मेलनहरु किन गर्न सक्दैनौं ? पर्यटकलाई हामीले तानेर ल्याउने होईन उनीहरु आफैं उपयुक्त स्थान खोजेर आउने वातवरण निर्माण गर्न सक्नु पर्छ । जबसम्म यी कुराहरुको विकास गर्न सकिदैन तव सम्म ठूला होटल र ठूला विमानस्थल संचालन गर्दैमा पर्यटक ल्याउन नसकिने उनको निश्कर्ष रहेको छ ।

नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पनि २०२० मा २० लाख पर्यटक भित्र्याउन नसकिने बताएका छन । दाहालका अनुसार सरकारले समयमै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिन नसक्नुले पनि काम गर्न समस्या भएको र जस्ले गर्दा सरकारको लक्ष्य सफल नहुने देखिन्छ ।

त्यस्तै उनले पर्यटन क्षेत्रसँग सम्बद्ध संस्थाहरुलाई एक ढिका बनाई प्रचार प्रसारमा लाग्नु पर्ने भए पनि सरकारले सो काम नगरेको समेत आरोप लगाएका छन । सबै ब्यवसायी तथा संस्थाहरुलाई एक ढिका गर्न सकेको खण्डमा प्रचारप्रसारलाई समेत तिब्र बनाउन सकिने उनको सुझाव छ ।

तर अहिले पर्यटन र्बोडले छुट्टै प्रचार प्रसार गर्ने, भ्रमण बर्ष सचिवालयले छुट्टै गर्ने पर्यटनसँग सम्बद्ध संस्थाहरुले आ–आफ्नै तरिकाबाट प्रचारप्रसार गर्र्दै आएका छन् । भिन्न भिन्न संस्थाले आफुखुशी प्रचारप्रसार गर्दा प्रभावकारी रुपमा नतिजा नदिने र जसका कारण भैमणबर्षमा २० लाख पर्यटक ल्याउन कठिन हुने देखिएको छ ।

यसैगरी भ्रमण बर्ष सचिवालयका संयोजक सुरज बैद्यले पनि केही समय अगाडी सरकारले कम बजेट विनियोजन गरेको भन्दै बोर्डमार्फत नै सबै काम गर्न र आफु उक्त पदमा नबस्ने आन्तरिक छलफलमा बताएको सचिवालय श्रोतले जानकारी दिएको छ । उक्त श्रोतले भन्यो, ‘बैद्यले मौखिक रुपमा सगरमाथा आरोहणलाई रोक्न प्रधानमन्त्रीसँग छलफल गरेकै हो साथै उनले आफू पदमा समेत नबस्ने भन्नु भएकै हो तर पर्यटन विभागले भने त्यस्लाई निराधार भएको विज्ञप्तीमार्फत जानकारी दिए ।’ यसरी सचिवालयको पछिल्लो घटनाक्रम र ब्यवहारले गर्दा पनि पर्यटक भित्र्याउने खेल नभई चलखेलमात्रै भएको महसुस सम्बद्ध ब्यवसायीहरुले गर्न थालेका छन ।

२० लाख पर्यटक ल्याउनकै लागि स्थापना भएको भ्रमणबर्ष सचिवालयले आफ्नै वेवसाईट समेत अझै निर्माण गर्न सकेका छैनन् । सचिवालयले केही समय अगाडीनै एक हप्ता भित्रै सवडोमेनमार्फत काम गर्ने भनिए पनि ४ महिना वितिसक्दा समेत सवडोमेन तयार नभएको श्रोतले जानकारी दिएको छ ।

ब्यवसायीहरुले भने २०२० मा २० लाख पर्यटक आउन नसक्ने भन्दै विगत देखी नै पूर्वधारमा लगानी गर्न सरकारलाई सुझाएका थिए । भुकम्प पछि नीजि आवास बनाउनकै लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भयो तर पर्यटन पूर्वधार प्राधिकरण किन गठन भएन सो विषयमा ब्यवसायीहरुको गुनासो रहेको छ ।

यदि २०२० मा २० लाख पर्यटक भित्र्याउने हो भने पर्यटन प्राधिकरणमार्फत काम गर्नुपर्ने व्यवसायीहरुको सुझाव छ । नेपालमा प्रसस्तै पर्यटन विज्ञहरु भएको र कहाँ के बनाउनु पर्ने हो कहाँ कसलाई के बेच्ने सो विषयमा समेत घनिभुतरुपमा छलफल गर्नुपर्छ । अन्यथा सधै सगरमाथा र लुम्बिनीलाई मात्र बेचेर २० लाख पर्यटक ल्याउन नसकिने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

त्यस्तै नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष शन्तबीर लामाले भने राजनीतिक खिचातानीका कारणले पनि प्रचारप्रसारमा कमि भएको र जसका कारण लक्ष्य अनुरुप पर्यटक भित्र्याउन नसकिने बताउँछन् । ‘जसले जिम्मेवारी लिएको छ उसले त्यो जिम्मेवारी पुरा गर्न सकेको छैन,’ उनले भने, ‘आफु भए सबै ठिक आफू नभए सबै बेठिक भन्ने मानशिक्ताबाट माथी उठन जरुरी छ ।’

प्रचार प्रसारका लागि जति अघि बढ्नु पर्ने थियो त्यो काम हुन सकेको छैन । साथै पर्यटन क्षेत्रका संघसंस्था तथा सरोकारवालाहरुसँग पनि पर्याप्त छलफल नगरिएको लामाको आरोप छ । अहिले जिम्मेवारी पाएका निकायहरु आफूखुसी काम गर्दै हिँडेका छन् भने सरोकारवालाई छलफलमा बोलाए पनि उनीहरुसँग सुझाव लिईदैन । माथिल्लो तहकाले जे निर्णय दिन्छ त्यही कुरामात्रै सुन्ने भए पछि कसरी टार्गेट पुरा गर्न सक्छ र ?

उनले भने, ‘हाल सम्म जे भईरहेको छ आन्तरिक मात्रै भईरहेको छ । अन्तरराष्ट्रिय प्रवर्द्धन गर्न सकेको छैन । बोर्डले अन्तरराष्ट्रिय प्रवर्द्धन गरेको भने पनि जे भने पनि नेपालमा हुने केही कार्यक्रमहरुमा भारतीय केही संचारमाध्यमलाई बोलाउँदैमा केही हुनेवाला छैन ।’ २० लाख पर्यटक ल्याउन जुन हिसावमा अघि बढ्नु पर्ने हो त्यो भएको छैन तसर्थ २०२० मा २० लाख पर्यटक ल्याउन पनि सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL