Logo

टेलिफोन प्रयोगकर्ता जनसंख्या भन्दा ४० प्रतिशत बढी, ब्रोडब्याण्ड ईन्टरनेट ६२ प्रतिशत नेपालीसम्म पुग्यो

टेलिफोन प्रयोगकर्ता जनसंख्या भन्दा ४० प्रतिशत बढी, ब्रोडब्याण्ड ईन्टरनेट ६२ प्रतिशत नेपालीसम्म पुग्यो



काठमाडौं । पछिल्लो समय नेपालको जनसंख्या भन्दा ४० प्रतिशत बढी जनतासम्म टेलिफोन सुविधा पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा टेलिफोन सेवाको पहुँच १ सय ३९ प्रतिशतभन्दा बढी सम्म पुगेको देखिएको हो ।

laxmi

नेपालमा दूरसंचार सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले आफ्ना ‘एक्टिभ युजर’ सक्रिय प्रयोगकर्ताको वास्तविक तथ्याङ्क नराख्दा र एउटै प्रयोगकर्ताले १ भन्दा बढि सिम प्रयोग गर्दा यसको पहुँच जनसंख्या भन्दा बढी पुगेको प्राधिकरणले जानकारी दिएको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९५ लाख १४ हजार ७ सय ४५ भएपनि विभिन्न सेवाप्रदायकले हालसम्म ४ करोडको हाराहारीमा आफ्ना सिम वितरण गरिसकेका छन ।

नेपाल टेलिकमले मात्रै जीएसएम र सिडीएमए गरी २ करोड १४ लाख ९ हजार १ सय ५ सिमकार्ड वितरण गरेको छ भने एनसेलले १ करोड ६५ लाख ४९ हजार ५ सय ९२ सिम वितरण गरेको छ । स्मार्टसेलले पनि २० लाख ३० हजार ५५ सिमकार्ड वितरण गरेको छ । यस्तै उक्त सेवाप्रदायक हरुले दिने पिएसटीएन सेवा, भिस्याट सेवा लगायतले पनि टेलिफोनको पहुँच सोही अनुसार बढेको प्राधिकरणले जानकारी दिएको हो ।

तर मोबाईल सिमको वितरण भएसँगै सबै नेपाली भने टेलिफोन सेवाको पहुँचमा छन की छैनन भन्ने एकिन छैन । कतिपय सेवाग्राहीले २ ओटा सिम चलाउने, लिएको सिम फ्याक्ने तथा कतिपय सिमहरु हराउने भएकाले जनसंख्याको आधारमा टेलिफोन सेवाको पहँुच उच्च देखिएको हो । हाल दूरसंचार क्षेत्रमा विभिन्न सेवाप्रदायकहरुको आगमन भएसँगै सेवाग्राहीले विकल्पका रुपमा २ ३ ओटै सेवाप्रदायकको सिमकार्ड प्रयोग गर्ने गरेकाले जनसंख्या भन्दा प्रयोगकर्ताको संख्या बढी भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन ।

उनका अनुसार पछिल्लो समय एकै जनाले २ ओटा मोबाईल सेट बोक्ने र सोही अनुसार सिम पनि विभिन्न प्रयोजनका लागि छुट्टाछुट्टै प्रयोग गर्ने हुनाले सिम वितरणको संख्या बढपनि सबै नेपालसम्म सेवा पुगेको भन्ने एकिन छैन । यस्तै नेपाल टेलिकमले आफ्ना एक्टिभ युजरको तथ्याङ्क राख्नका लागि पनि विभिन्न कामहरु गरिरहेको उनको भनाई छ ।

नेपालमा गत बैशाखसम्म ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच भने ६२ प्रतिशत पुगेको छ । जसमध्ये मोबाईल ब्रोडब्याण्डको पहुँच मात्रै ४९ प्रतिशत पुगिसकेको छ । गत बैशाखसम्म नेपालमा ईन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ८५ लाख ७१ हजार पुगेको छ । जसमा नेपाल टेलिकमका मात्रै ८८ लाख ७८ हजार १ सय ९४ जना ईन्टरनेट प्रयोगकर्ता रहेका छन भने दोस्रो ठुलो सेवाप्रदायक एनसेलका ६७ लाख ४१ हजार जना प्रयोगकर्ता पुगेका छन ।

नेपाल टेलिकम अन्य सेवाप्रदायक भन्दा विभिन्न सेवामा अघि भएपनि फोरजी सेवामा भने पछि परेको छ । नेपाल टेलिकम भन्दा अन्य सेवामा पछि परेको एनसेलले आफ्नो फोरजी प्रयोगकर्ताको संख्या २६ लाख ७५ हजार १ सय १४ पुर्याउँदा नेपाल टेलिकमले भने जम्मा ७ लाख ६२ हजार ९ सय ४५ पुर्याएको छ ।

यस्तै थ्रीजी सेवामा पनि एनसेल भन्दा नेपाल टेलिकम अघि नै छ । एनसेलभन्दा अघि फोरजी सेवा प्रदान गर्ने अनुमति पाएको नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं र पोखरामा सिमित हुँदा एनसेलले भने १ हजार स्थानमा आफ्नो फोरजी सेवा पुर्याएको जानकारी दिएको छ । नेपाल टेलिकमले पनि केही महिना अघि मात्रै नेपालभर फोरजी सेवा विस्तार गर्ने गरी २ कम्पनीसँग सम्झौता गरिसकेको छ । आगामी १ बर्षमा नेपाल टेलिकमले पनि सबै स्थानमा फोरजी सेवा संचालनमा ल्याईसक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL