Logo

दुई तिहाई सरकारको १ बर्षमा साढे २ गुणाले बढ्यो वैदेशिक लगानी, कुन क्षेत्रमा कति भित्रियो ?

दुई तिहाई सरकारको १ बर्षमा साढे २ गुणाले बढ्यो वैदेशिक लगानी, कुन क्षेत्रमा कति भित्रियो ?



laxmi

काठमाडौं । नेकपा नेतृत्वको सरकार गठन भएको १ बर्षमा वैदेशिक लगानी भित्रिने क्रम साढे २ गुणाले बढेको छ । अघिल्लो बर्षको माघ मसान्तसम्मको तुलनामा यो बर्षको माघ मसान्तमा वैदेशिक लगानी प्रतिवद्धता आउने क्रम साढे २ गुणाले बढेको हो ।

उद्योग विभागको तथ्याङ्क अनुसार २०७४ फागुन देखि २०७५ माघ मसान्तसम्म आईपुग्दा ५२ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता सहित उद्योग दर्ता भएका छन् । जबकि २०७३ फागुनदेखि २०७४ फागुनसम्म वैदेशिक लगानीका २० अर्ब ९६ करोड रुपैयाँको प्रतिबद्धता सहितको मात्र उद्योग दर्ता भएको थियो । अघिल्लो आर्थिक बर्षको ६ महिनाको तुलनामा समग्र १ बर्षमा वैदेशिक लगानी बढेको हो ।

नेपालमा दुई तिहाईको स्थिर सरकार गठन भएदेखि नै वैदेशिक लगानीको प्रस्ताव बढ्दै गएको उद्योग विभाग वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका निर्देशक प्रशान्त बोहोराले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष २०७४/७५ को ६ महिनाको तुलनामा चालु आबको सोही अवधिमा वैदेशिक लगानी केहि मात्रामा घटेको देखिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेदेखिको १ बर्षको अबधिमा वैदेशिक लगानी साढे २ गुणाले बढ्दै ५२ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको छ ।

विभागको तथ्यांक अनुसार २०७३ सालको फागुन १ गतेदेखि २०७४ साल माघ २९ गतेसम्म २० अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी भित्रिएकोमा २०७४ फागुन १ गतेदेखि २०७५ माघ २९ गतेसम्म ५२ अर्ब ६३ करोड रुपैयाँले वैदेशिक लगानी भित्रिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ३ गते आफ्नो पद्भार ग्रहण गरेका थिए । त्यसयता वैदेशिक लगानी अघिल्लो बर्षको तुलनामा ३१ अबै ६६ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो बर्षको माघ मसान्तसम्म वैदेशिक लगानीकर्ताहरुको आकर्षण रहेको उत्पादनमुलक क्षेत्रमार्फत ८ अर्ब ४१ करोड रुपैयाँ लगानी भित्रिएको थियो । तर, पछिल्लो १ बर्षको अवधिमा उर्जा क्षेत्रमा ३४ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो १ बर्षको अवधिमा उत्पादनमुलक क्षेत्रमा ६ अर्ब ४९ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ६ अर्ब ३६ करोड रुपैयाँ तथा सेवा क्षेत्रमा २ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै यो बर्ष ४ सय ३१ उद्योगमार्फत ५२ अर्ब ६३ करोड रुपैयाँ लगानीका आयोजनामा १४ हजार ५ सय ६० जनाले रोजगारीको अवसर प्राप्त गरेका विभागले जानकारी दिएको छ । यस्तै अघिल्लो बर्षको सोही अवधिमा भने ३ सय ८० उद्योगमार्फत २० अर्ब ९६ करोड रुपैयाँ लगानीका आयोजनामा १३ हजार ९४ जनाले रोजगारीको अवसर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL