Logo

नेपाल र मलेसियाबीच श्रम सम्झौता, शुन्य लागतमा नेपाली कामदार रोजगारीमा, म्यानपावरलाई १ महिनाको तलव

नेपाल र मलेसियाबीच श्रम सम्झौता, शुन्य लागतमा नेपाली कामदार रोजगारीमा, म्यानपावरलाई १ महिनाको तलव



काठमाडौं । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको छ । नेपाली कामदारको रोजगारीकोे प्रमुख गन्तव्य मलेसिया र नेपालबीच आज हायत होटलमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा मलेसियाली मानव संशाधन मन्त्री एम कुलाशेगरण र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टले सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले अबका दिनमा मलेसियाको रोजगारीमा जाने कामदारले कुनै पनि शुल्क तिनु नपर्ने बताएका हुन् ।

भिएलएन, जिएसजी, वान स्टप सेन्टर, बायोमेट्रिक, माइग्रामलगायतका संस्थाले मलेसियाको रोजगारीमा जाने कामदारसँग चर्को शुल्क असुलेसँगै श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारलाई सो देशको रोजगारीमा जानकै लागि प्रतिबन्ध लगाएको थियो ।

दुई देशबीचको नयाँ समझदारीसँगै अबका दिनमा कामदारको भिसा शुल्क, टिकट शुल्क तथा स्वास्थ्य परीक्षणलगायतका शुल्कहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने विष्टको भनाई थियो । यस अघि विभिन्न शुल्क गरी मलेसियाको रोजगारीमा जाने कामदारले १ लाख रुपैयाँभन्दा बढी बुझाउँदै आएका थिए । तर, नेपाल स्थित म्यानपावर कम्पनीले भने रोजगारीमा जाने कामदारको पहिलो १ महिनाको तलब बराबरको लिन पाउने छन् । उक्त रकम सम्बन्धित रोजगारदाताले नै नेपाल स्थित म्यानपावर कम्पनीलाई पठाउने छन् ।

अहिले भएको श्रम सम्झौतामा नेपालले माग गरेको २४ घण्टे बीमालाई भने प्रस्टसँग समेटिएको छैन । मलेसिया सरकारले बीमा सम्बन्धी नयाँ कानुन लागू गरेमा उक्त कुरालाई पनि सम्बोधन गरिने उक्त सम्झौतामा उल्लेख छ । तर, सम्झौता अनुसार कामदार विरामी भएको सम्पूर्ण औषधोपचार सम्बन्धित रोजगारदाताले नै गरिदिने भएको छ भने मृत्यु भएको कामदारको शव रोजगारदाताले नै नेपालसम्म ल्याइदिनेछ ।

यसैगरी मलेसियाको रोजगारीमा जाने कामदारले लेबी समेत तिर्न नपर्ने भएको छ भने रोजगारदाताले सम्बन्धित कामदारलाई प्रत्येक महिनाको ७ तारिखमा उसको खातामा तलब हालिदिनुपर्ने छ । साथै कामदारलाई सम्झौतामा उल्लेख भएको भन्दा बढी काम समेत लगाउन नपाईने उक्त सम्झौतामा उल्लेख छ ।

यसैगरी कामदारको परिवारको व्यक्ति मृत्यु भएको खण्डमा सम्बन्धित रोजगारदाताले उक्त कामदारलाई १५ दिन भित्र नेपाल आउने वातावरण मिलाईदिनुपर्ने छ ।

हाल दुई देशबीच श्रम सम्झौता भएको र अबका दिनमा मलेसियाको रोजगारीमा जाने कामदारको प्रक्रिया, तलब सुविधा लगातयका विषयमा दुबै देशको उच्च अधिकारी सम्मिलित प्राविधिक समिति बनाएर टुंगो लगाईने भएको छ । हाल दुई देशबीच श्रम सम्झौता भएको र अबको केही समयभित्रै नेपाली कामदारको मलेसियाको रोजगारीमा जान पाउने विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL