Logo

होटलमा १४ अर्ब वैदेशिक लगानी भित्र्याउन बोर्डको स्वीकृति, पश्चिम सेतीको ढाँचा तयार गर्न उच्च स्तरीय समिति

होटलमा १४ अर्ब वैदेशिक लगानी भित्र्याउन बोर्डको स्वीकृति, पश्चिम सेतीको ढाँचा तयार गर्न उच्च स्तरीय समिति



काठमाडौं । लगानी बोर्डले स्तयरीय होटल निर्माणका लागि १४ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्र्याउन स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैंठकले होटल तथा पर्यटन क्षेत्रमा १३ करोड ९८ अमेरिकी डलर (१४ अर्ब रुपैयाँ) भित्र्याउन जापान क्लव इन्टरनेशनलाई स्वीकृति प्रदान गरेको हो ।

बोर्डको स्वीकृति अनुसार जापान क्लवले काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तरराष्ट्रिय स्तरको होटल निर्माणका लागि सो लगानी भित्र्याउने छ । बैंठकमा प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरु यथासक्दो छिटो निर्माण गर्नुपर्ने बताउँदै स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गर्ने खालका कानुनहरुको निर्माण तथा संसोधन तत्काल गर्न निर्देशन दिएका छन् ।

यसैगरी बैंठकले पश्चिम सेती जलविद्युत आयोजनाको उयुक्त ढाँचा तयार गर्नका लागि पनि उच्च स्तरीय समिति गठन गरेको छ । चाइनाको थ्री गर्जेज इन्टरनेशनले पश्चिम सेती निर्माणबाट हात झिक्ने भएसँगै सो परियोजना निर्माणका लागि उपयुक्त ढाँचा तयार गर्न ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री, अर्थ मन्त्री तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सम्मिलित उच्च स्तरीय समिति गठन गरेको हो ।

यसैगरी बोर्ड बैंठकले आगामी २ बर्षका लागि विज्ञ टोलीमा निजी क्षेत्रका ४ जनालाई नियुक्त गरेको छ । जसमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र उद्योगी बालकृष्ण शिवाकोटीलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL