Logo

प्रभु पेका हरेक प्रयोगकर्तालाई १० लाख रुपैयाँको दूर्घटना बीमाको व्यवस्था गरेका छौं

प्रभु पेका हरेक प्रयोगकर्तालाई १० लाख रुपैयाँको दूर्घटना बीमाको व्यवस्था गरेका छौं



पछिल्लो समय अनलाइन पेमेन्ट भुक्तानी सेवा प्रदायकको सङ्ख्या नेपालमा बढ्दो छ । स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ता बढेसँगै भुक्तानी प्रणालीलाई डिजिटल प्रणालीमा कनेक्ट गर्ने प्रवृत्ति बढेको हो । युटिलिटी पेमेन्टबाहेक आफ्ना ग्राहकलाई विभिन्न सुविधा थप गरेर आकर्षित गर्ने प्रतिष्पर्धा पनि देखिन्छ । प्रभु समुहले एक हप्ताअघि मात्रै प्रभु पे नामको अनलाइन भुक्तानी सेवा सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा आउने फोटो डाउनलोड गर्न सकिने, विभिन्न संस्थाको ठेगानासमेत पाइनेजस्ता सुविधा थप गरेको प्रभु पे अन्य पेमेन्ट सेवा प्रदायकभन्दा कसरी फरक छ ? यसकै सेरोफेरोमा बिजखबरले प्रभु पेका निर्देशक कुसुम लामासँग कुराकानी गरेको छ ।

हालै मात्र प्रभु पे सार्वजनिक गर्नुभएको छ । यो कस्तो सेवा हो ?

प्रभुको पहिलो प्राथमिकता डिजिटलाईजेसन हो, चाहे त्यो मर्चेन्ट होस वा कर्पोरेट क्षेत्र । जबसम्म कर्पोरेट तथा मर्चेन्ट क्षेत्र डिजिटलाईजेसन हुँदै तबसम्म पेमेन्ट सेक्टरको काम हुँदैन । यदी कर्पोरेट र मर्चेन्ट सेक्टर डिजिटलाईजेसन भएन भने एटीएमबाट पैसा लिकालेर सामान खरिद गर्न गएको जस्तो मात्रै हुनेछ ।

प्रभुले इ–प्रभु भनेर धेरै अघिदेखि डिजिटलाईजेसनको प्लेटफर्म प्रयोगमा ल्याएको थियो । त्यो एउटा ओपन पेमेन्ट गेटवे थियो । त्यसमा इन्टरनेट बैंकिङ्मार्फत उपभोक्ताले भुक्तानी गर्न सक्थे । हामीले फ्री ओपन पेमेन्ट गेटवे सुरु गरेको डेढ बर्ष जति भयो । तर, सबैले इ–प्रभु खोलेपनि त्यस्तो खालको इन्टरनेट बैंकिङ् सफल हुन सकेन ।

त्यसैलाई उपभोक्तामाझ सहज सुविधा उपलब्ध गराउन वालेटमा परिणत गरेका हौं । यसलाई इन्टरेनट बैंकिङ, कार्ड तथा प्रभुको कुनै पनि लोकेशनमार्फत टपअप गर्न सकिनेछ । वालेटको सुरुवातसँगै इन्टरनेट तथा कार्डमा निर्भर भइरहनु पर्दैन । बजारको माग अनुसारनै हामीले प्रभु पे सञ्चालनमा ल्याएका हौं ।

प्रभु पे अगष्ट ९ तारिखदेखि उपभोक्तामाझ ल्याएका हौं । अहिलेसम्म एक लाखभन्दा बढि रजिष्ट्रेशन भइसकेको छ । प्रभुको ब्राण्ड तथा विश्वासनीयताका कारण यसप्रतिको आकर्षण बढेको छ । प्रभुको आफ्नै ब्राण्ड र प्रभु पे नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त कम्पनी भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दो छ ।

अझै पनि धेरै जनसंख्या बैंकिङ क्षेत्रको पहुँच बाहिर छन् । चेक पनि साट्न नजान्नेको संख्या उत्तिकै छ । यस्तो परिस्थितिमा डिजिटलाईजेसनको तपाईहरुको उद्देश्य कसरी पुरा होला ?

हाम्रो फोकस पेमेन्ट सिस्टममा मात्र हुँदै होइन । हामी डिजिटलाईजेसनमा बढी केन्द्रित छौं । सायद हामी नेपालमा पहिलो कम्पनी होला जसले देशभरका सहकारीलाई क्लाउड बेसमा निःशुूक सफ्टवेयर दिएर डिजिटलाईजेसन गर्दै आएका छौं । सामान्य पसलका लागि पनि सफ्टवेयर बनाएर डिजिटलाईजेशन गरिरहेका छौं । हामीले नयाँ प्रडक्ट ल्याउनुभन्दा पहिला जनचेतनाको कार्यक्रम गर्दै आएका छौं । यसका लागि राष्ट्र बैंकले के गर्छ, सरकारले के गर्छ भने पर्खेर बसेका छैनौं ।

प्रभु पे लञ्च गर्ने बित्तिकै यसको डाउनलोड उच्च रुपमा बढ्नुको मुख्य कारण पनि हामीले यस अघि गरेका चेतना अभिवृद्धिको प्रतिफल हो । प्रभु पेको रजिष्ट्रेशनलाई व्यवस्थित गर्न नो योर कस्टुमर (केवाईसी) मात्र ३ सिफ्टमा अपडेट गर्दै आएका छौं । प्रभु पेको एक दिनको डाउनलोडलाई तीन सिफ्टमा काम गर्न पनि केवाईसी अपडेट गर्न भ्याइरहेका छैनौं । यो भनेको उपभोक्ताको हामी प्रतिको सकारात्मक धारणा हो ।

 

 

 

 

नेपालमा प्रभु पेजस्ता डिजिटल पेमेन्ट गेटवे धेरै छन् । अन्य पेमेन्ट गेटवेभन्दा प्रभु पेमार्फत ग्राहकले केकस्ता सुविधा बढी पाउन सक्छन् ?

बजारमा अरु पेमेण्ट गेटवे सञ्चालनमा आईरहँदा हामी नआउँदा पनि हुन्थ्यो । तर, बजारमा माग अनुरुप आउनुपर्ने बाध्यता सीर्जना भयो । इ–प्रभु पेमेन्ट गेटवे हामीले नेपालमा पहिलो पटक उपलब्ध गराएका थियौं । तर, त्यसमा इन्टरनेट तथा कार्डको स्वीचसँगको समस्याका कारण उपभोक्ताले सहज रुपमा प्रयोग गर्न सकेनन् । ग्राहकहरु त्यसमा आबद्ध त हुनुभयो तर विभिन्न खालका समस्याले प्रयोग गर्न सक्नुभएन । त्यसैलाईू सहज रुपमा कार्यान्वयनमा ल्याउनका लागि प्रभु पे लञ्च गरेका हौं ।

हाम्रो वालेटमा नगद राख्न सकिन्छ, जसलाई सहजै रुपमा चलाउन इन्टरनेट बैंकिङको आवश्यकता पर्दैन । यसैगरी कार्डबाट भुक्तानी गर्नुपरेमा प्रभु पेको प्लेटफर्ममार्फत सहजै नगद ट्रान्सफर गर्न सकिन्छ । इन्टरनेट बैंकिङमार्फत कुनै पनि व्यक्ति वा संस्थालाई जतिपनि रकम भुक्तानी गर्न सकिनेछ । यसबाहेक टेलिफोन नम्बर, कुनै पनि संघसंस्थाको ठेगाना प्रभु पेबाटै पत्ता लगाउन सकिनेछ । त्यसभित्र एटीएम, ट्याक्सी तथा रेष्टुराँको ठेगाना तथा त्यसको विस्तृति विवरण पत्ता लगाउन सकिनेछ । यस्तै भाईबर, वीच्याटजस्ता सामाजिक सञ्जालबाट पाईने च्याट तथा फोटो अपलोडको सुविधा पनि यसमा उपलब्ध छन् । यसमा छुट्टै प्लेटफर्म प्रयोग गर्न पर्दैन । यसैगरी प्रभु पेमार्फत क्युआर कोड मार्फत पनि रकम ट्रान्सफर गर्न सकिनेछ ।

तपाईले क्युआर कोडको कुरा गर्नुभयो । तर, क्युआर कोडकै माध्यमबाट हुण्डी लगायतका कारोबार भएको भन्दै नेपाल प्रहरी, राष्ट्र बैंक तथा राजस्व अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । त्यस्ता घटनामा पक्राउ पनि परेका छन् । प्रभु पे मार्फत त्यस्तो क्रियाकलाप हुन नदिन सुरक्षाको हिसावले कतिको मजबुद बनाउनु भएको छ ?

क्युआर कोड मार्फत हुण्डी हुन्छ भन्नु गलत हो । राष्ट्र बैंक तथा लाईसेन्स होल्डरले विना कारण विदेश पैसा पठाउँदैनन् भने त्यसकै गेटवे प्रयोग गर्ने प्रभु पेमार्फत कसरी पैसा विदेशिन्छ ? कि नगद बोकेर जानु पर्यो । नगद बोक्न पनि कसैलाई स्वीकृति छैन । हामीले बैंकको गेटवे प्रयोग गरेर रकम ट्रान्सफर गछौं भने कसरी क्युआर कोडमार्फत हुण्डीको कारोबार हुन्छ ।

हाम्रो क्युआरकोड भनेको देशभित्र रकम ट्रान्सफर गर्नका लागि मात्र हो । भविष्यमा हामीले एक्वाइरिङको काम गर्ने हो । हाम्रो कार्डमार्फत विदेशमा गएर पैसा निकाल्न मिल्दैन । अहिले हामीले एक्वाइरिङको काम भने सुरु गरिसकेका छौं । उदाहरणका लागि हामीले चाइनाको युनियन पेमार्फत सो काम सुरु गरिसकेका छौं । यसका लागि पनि बैंक आवश्यक पर्छ । बैंकको प्लेटफर्ममार्फत कारोबार गरिने हुँदा क्युआर कोडमार्फत गैरकानुनी रुपमा पैसा बाहिर लैजान मिल्दैन ।

प्रभु पेमार्फत भुक्तानीको लागि अहिले कुन कुन बैंक वित्तीय संस्थासँग सहकार्य गर्नु भएको छ ?

हामीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गरेका छौं । एनसीएचएलमा आबद्ध सबै बैंक वित्तीय संस्था प्रभु पेको प्लेटफर्म हुने भयो । यसबाहेक प्रभु पेले विभिन्न बैंक वित्तीय संस्थासँग सम्झौता गर्दै आएको छ ।

प्रभु पेका प्रयोगकर्तालाई अन्य विशेष सुविधा के छन् ?

कुनै पनि उपभोक्ता प्रभु पेमा जोडिनु भयो भने उहाँहरु सबैभन्दा पहिला १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पाउनुहुन्छ । यसले सबै नेपालीलाई इन्स्योरेन्स गरिदिने वातावरण निर्माण गरेको छ । उपभोक्तालाई यति ठूलो बीमा गराईदिने प्रभु पे नै पहिलो हो । यसबाट उपभोक्ताको इन्स्योरेन्स बापतको ठूलो रकम प्रिमियम बचत हुनेछ ।

यसैगरी आकर्षक क्यासब्याक अफर पनि ल्याएका छौं । मोबाइल रिचार्जमै अन्य कम्पनीले भन्दा बढि क्यास ब्याक दिएका छौं । प्रभु पेले लिमिटेड विजनेश होइन अनलिमिटेड विजनेशलाई टार्गेट गरेको छ । त्यसैले नयाँ स्किमदेखि क्यासब्याक अफसरमा अन्य सेवाप्रदाकले भन्दा बढि सुविधा दिँदै आएका छौं । जसले गर्दा प्रभु पे किन भनेर उपभोक्ता आफैले महशुस गर्न सक्नेछन् । प्रभु पे डाउनलोड गर्दा वा रिफर गर्दा मात्र पनि उपभोक्ताले ३० रुपैयाँ ब्यालेन्स पाउनेछन् । हाम्रो प्रतिस्पर्धा उपभोक्ता आकर्षित गर्नका लागि मात्र होइन । स्वस्थ र प्रतिस्पर्धी भएर व्यवसाय गर्न सक्नुपर्छ । जसले गर्दा प्रभु पे प्रति उपभोक्ताको आकर्षण बढेको छ र आगामी दिनमा अझै बढि बढ्नेछन् ।

राष्ट्र बैंकले भर्खरै ल्याएको डिजिटल पेमेन्ट सम्बन्धी मापदण्ड अनुसार २५ हजार रुपैयाँभन्दा बढी नगद झिक्क पाईदैन । तपाईहरु डिजिटल पेमेन्टमा गईरहँदा त्यस्ता सीमाले कत्तिको असर पार्नेछ ?

प्रभु पेमा राष्ट्र बैंकको डिजिटल पेमेन्ट सम्बन्धी मापदण्डले कुनै असर नै गर्दैन । प्रभु पेको वालेटमा नगद मात्र राख्न मिल्ने भए त्यसले असर गर्थ्यो । तर, यो वालेटमा नगद बाहेक कार्ड र इन्टरनेट बैंकिङ्को पनि सुविधा छ । नगद भुक्तानी २५ हजार रुपैयाँ त कार्ड र इन्टरनेट बैंकिङमार्फत जति पनि भुक्तानी गर्न सकिन्छ । प्रभु पेमार्फत आफ्नो बैंक खातामा भएको जतिपनि रकम चलाउन सकिनेछ ।

राष्ट्र बैंकले ल्याएको डिजिटल पेमेन्ट सम्बन्धी मापदण्डबाट ग्राहकलाई सुविधा दिनकै लागि कार्ड र इन्टरनेट बैंकिङ पनि राखेका छौं । नत्र वालेट मात्र राखे भैहाल्थ्यो नि । तसर्थ प्रभु पे चलाउँदा राष्ट्र बैंकको २५ हजार रुपैयाँ भुक्तानीको सीमाले रोक्नेछैन ।

प्रभु पे सामान्य रुपमा मात्र सार्वजनिक गर्नुभएको छ । अब यसमा थप के सुधार गर्दै हुनुहुन्छ ?

पहिलो कुरा त क्युआर कोड नै हो । जसमार्फत पेमेन्टका लागि सबैभन्दा सजिलो हुनेछ । उदाहरणका लागि कुनै पनि पसलमा गएर सामान किन्दा त्यसको मूल्य ७० रुपैयाँ ३० पैसा छ भने पसलेले ७१ रुपैयाँ कटाउँछ । तर, क्युआरकोडमार्फत भुक्तानी गर्दा सामानको वास्तविक मूल्य जति हो त्यतिमात्र तिर्दा हुन्छ । अहिले कुनै पनि बिल काउण्टरमा पनि उपभोक्ताले खुद्रा पैसा नभएको भन्दै लागतभन्दा ४÷५ रुपैयाँ बढि तिरिरहेका छन् । यदि क्युआरकोड भयो भने जति लागत हो त्यतिमात्र तिरे पुग्छ ।

क्युआरकोडलाई देशभर पुर्याउनका लागि हामीले धेरैभन्दा धेरै स्थानमा एजेण्ट वा अन्य माध्यबाट सहजता गर्न लागेका छौं । यस्तै रिसिभरले पनि नगद मै भुक्तानी लिएर झण्झट व्यहोर्नु परेन । साना खुद्रा पसलदेखि सरकारी महशुल भुक्तानी गर्न प्रभु पेले सहजकर्ताको भुमिका निर्वाह गर्नेछ । हाम्रो मुख्य लक्ष्य भनेको कुनै पनि पेमेन्टका लागि प्रभु पे गरेपछि अन्य कुनै पेमेन्ट गेटवे प्रयोग गर्न नपरोस भन्ने नै हो । त्यसका लागि गहन रुपमा अध्ययन तथा छलफल गरिरहेका छौं ।

अफलाइन पेमेन्टमा केहि योजना छ ?

हाम्रो दोस्रो चरण भनेको अफलाईन पेमेन्ट हो । त्यसका लागि युएसएसडी गेटवे प्रयोग गरेर प्लेटफर्म बनाउँदै छौं । अफलाईन पेमेन्ट सिस्टममा गएपछि स्मार्ट फोन नभएका ग्राहकले पनि बारफोनबाटै रकम भुक्तानी गर्न सक्नेछन् । यसमा द्रुत काम भइरहेको छ । केही समयभित्रै लञ्च गर्नेछौं । हाम्रो मुख्य लक्ष्य न्युनवर्ग र मध्यम वर्गका जनतालाई समेट्नु नै हो ।

प्रतिक्रिया दिनुहोस्
MBL